२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

को हुन् बागमतीका नयाँ मुख्यमन्त्री जमरकट्टेल ?

बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शालिकराम जमरकट्टेल।

सत्तारुढ दल बिच प्रदेश भागबण्डाको कुरा मिलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।

सोमबार माओवादी केन्द्रसहित विभिन्न ५ दलको साथ लिएर उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। माओवादी संसदीय दलका नेता जमरकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय सीमा सकिने दिन दुई घण्टा अगावै ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

जमरकट्टेललाई माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपा, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। उनलाई माओवादीका २१, एमालेका २७, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले साथ दिएका छन्। ११० सदस्यीय प्रदेश सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ। 

सत्तारुढ दलको बिचमा आइतबार प्रदेश भागबन्डाको बिषयमा टुङ्गो लागेको थियो। मुख्यमन्त्री जमरकट्टेलको शपथग्रहण भने मंगलबार हुने भएको छ। उनलाई प्रदेश प्रमुख शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्। उनको शपथका लागि मंगलबार बिहान ९ः३० बजेको समय निर्धारण गरिएको छ। मुख्यमन्त्रीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक÷एक जनाको प्रतिनिधित्व हुने चर्चा चलेको छ।

को हुन् जमरकट्टेल ?

शालिकराम जमरकट्टेल वि.सं २०३० साल भदौमा धादिङको साबिक किराञ्चोक गाविस–९ नम्बर वडामा जन्मिएका हुन्। उनी डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।

२०४४ सालमा अखिल छैटौँमा आबद्ध भएर विद्यार्थीकालदेखि राजनीति सुरु गरेका उनी २०५२ सालमा ललितपुरको आइरन उद्योगमा कार्यरत रहँदा मजदुर आन्दोलनमा सहभागी भए। सोही बखत उनी माओवादी केन्द्रमा जोडिए। औद्योगिक मजदुर सङ्गठन ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षको पदमा रहेर काम गरेका थिए।

गजुरीको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी अध्ययन गरेका उनले बी.ए., बी.एल.सम्मको अध्ययन गरेका छन्। २०५२ सालमा माओवादी युद्धमा होमिएका उनी त्यसयता माओवादीमा निरन्तर क्रियाशील छन्।

२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भएर काम गरेका थिए। २०६३ मा पुनः स्थापित संसद्को अन्तरिम विधायक भए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट एमालेका नेता राजेन्द्र पाण्डेलाई हराएर चर्चामा आएका उनी २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने पराजित भए। 

२०७३ मा माओवादी केन्द्रको धादिङ जिल्ला अध्यक्ष भएर काम गरे २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङको क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उनी प्रदेश सांसद बनेका थिए। उनी २०७४ सालमा पहिलो पटक प्रदेशको मन्त्री बने। ३ वर्ष मन्त्री बनेका जमरकट्टेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि २०७७ पुस १० गते मन्त्री पदबाट राजीनामा दिए। 

एमालेबाट विभाजन भएपछि नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता भएका थिए। एमाले विभाजनपछि बनेको राजनीतिक समीकरणमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा प्रदेशको मुख्यमन्त्रीका दाबेदार रहेका थिए।

नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री हुँदा उनी १४ महिना प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। मंसिर ४ को आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज समेत रहेका छन्।

प्रकाशित: २५ पुस २०७९ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App