४ वैशाख २०८१ मंगलबार
राजनीति

राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’ को अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छिन्।

राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा चढेर शनिबार ललितपुरको पाटन ढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको पनि रुचि पूर्वक अवलोकन गरेकी हुन्।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गरेका थिए। पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीलाई २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान वितरण गरिएको थियो। कार्यक्रममा राष्ट्रपतिले स्वास्थानी व्रत कथा, गरुड पुराण लगायतका पुस्तकहरूको ब्रिफिङ रुचिपूर्वक सुनेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन्।

मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठुलो र ८५ हजार भन्दाबढि पुस्तकहरूको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो। यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघि देखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले जानकारी दिए। यसैबिच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गरेकी थिइन।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ।

प्रकाशित: २३ पुस २०७९ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App