उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्न सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

उनले विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीकारसाथ कार्यसम्पादन गर्न समेत निर्देशन दिए।
उनले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाइँका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने 'मेरो कार्यकाल भरी मात्र होइन जीवन काल भरी तपाईँले गरेको सलामको इज्जत राख्ने छु। अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्युटी वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो।’
'मनमा जहिले पनि हामी थोरै छौँ तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसँग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौँ राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होइन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी छ।' उनले भने।

गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास र भरोसा राख्नु रहेको उल्लेख गर्दे भने 'सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत क्रियाकलाप गर्ने सधैँ डराओस् र कहिल्यै शिर नउठाओस् भन्ने हामी सबैको चाहना हो।'
सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरूको मन अमिलो भएको हुन सक्छ, भने केही घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिनेछ।' उनले भने।

प्रकाशित: २३ पुस २०७९ १०:१० शनिबार





