७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा र नागरिक उन्मुक्ति तत्काल सरकारमा नजाने

नयाँ सत्ता गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा नजाने भएका छन्।

आइतबार मात्र नयाँ सत्ता समीकरण बनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। उनले आफ्नो नेतृत्वमा सत्ता गठबन्धन दलहरूको प्रतिनिधित्व हुने गरी सरकार बनाउने पहल गरिरहेका छन्। यद्यपि उनले आज ४ बजे मात्र पद तथा गोपनीयताको शपथ लिँदै छन्।

नयाँ सत्ता गठबन्धनको सोमबार संसद भवनमा भएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलले आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन्। उनले उनी सरकार बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताएका छन्।

यसै गरी अर्को दल नागरिक उन्मुक्ति पार्टीले भने ‘पर्ख र हेर’को रणनीति अपनाउने भएको छ। आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास ‘बालकोट’मा भएको वार्तामा पार्टीले आफुहरु तत्काल सरकारमा नजाने बताएका हुन्।

पार्टी स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीले आफ्ना संस्थापक नेता रेशम चौधरीले कारागारमा सजाय भोगिरहेको र उनलाई बाहिर निकालेपछि मात्र सरकारमा जाने बिषयमा निर्णय गर्ने रणनीति लिएको छ।

अहिलेको सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी–केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।

प्रकाशित: ११ पुस २०७९ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App