१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

कोरिया जाने बाटो कहिले खुल्छ ?

कोरिया जान पाउन माग गर्दै युवाको दबाब

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राख्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफ्नो आन्दोलन तीव्र बनाएका छन् ।

बुधबार ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका उनीहरूले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष आफ्ना माग राखेका छन् ।

दुई वर्षअघि परीक्षा पास गरी रोस्टरमा सूचीकृत भए पनि हालसम्म कोरिया जान नपाएको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

करिब दुई सयभन्दा बढी युवाले ईपीएस कार्यालय घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरूले भाषा र सिप परीक्षा उत्तीर्ण गरेको लामो समय बितिसक्दा पनि रोजगारदातासँग करार सम्झौता नहुँदा भविष्य अन्योलमा परेको उनीहरूको गुनासो छ ।

दुई महिनाअघि पनि उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपिएस कार्यालयमा आन्दोलन गरेका थिए । त्यति बेला श्रम मन्त्रालयसँग सहमति भए पनि कार्यान्वयन नभएको आरोप आन्दोलनरत युवाको छ ।

सन् २०२५ का लागि सञ्चालन गरिएको ईपीएस भाषा परीक्षामा १ लाख ६३ हजार जना सहभागी भएकामध्ये १७ हजार ३० जना उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांश श्रमिक हालसम्म कोरियाली रोजगारदातासँग करार सम्झौता गर्न नसक्दा कोरिया जान पाएका छैनन् । परीक्षा पास गरे पनि लामो समयसम्म प्रतीक्षामा बस्नुपर्दा आर्थिक, मानसिक र पारिवारिक समस्या बढ्दै गएको उनीहरूको भनाइ छ ।

आन्दोलनरत युवाहरूले नयाँ विज्ञापन र थप परीक्षा लिनु अघि पहिल्यै परीक्षा पास गरेका श्रमिकलाई प्राथमिकताका साथ कोरिया पठाउनुपर्ने माग गरेका छन् । साथै, रोस्टरको म्याद थप, सेक्टर परिवर्तन (सेक्टर चेन्ज) को व्यवस्था र आफ्नो फाइल रोजगारदातासम्म पुर्‍याउनुपर्ने उनीहरूको मुख्य माग छ ।

ईपीएस कोरिया शाखाको निर्देशक बिन्दा आचार्यका अनुसार युवाहरूले उठाएका अधिकांश माग नेपाल सरकारले एक्लैले सम्बोधन गर्न नसक्ने प्रकृतिका छन् । ती माग औपचारिक रूपमा कोरियाली सरकारसमक्ष पेस गरिएको उनी बताउँछिन् ।

‘उहाँहरूले अघि सार्नुभएको माग कोरियाली सरकारसँग सम्बन्धित छन्,’ निर्देशक आचार्यले भनिन्, ‘नेपाल सरकारले ती माग कोरिया सरकारसमक्ष पठाइसकेको छ । साथै उताबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’

नेपाल, ईपीएसअन्तर्गत कोरियामा सबैभन्दा बढी श्रमिक पठाउने देश हो । कोरियाले चाहेको भन्दा अत्यधिक सङ्ख्यामा नेपालीले आवेदन दिने गरेका छन् । तर, भाषा परीक्षा उत्तीर्ण गर्नु कोरिया जानका लागि एक मात्र योग्यता भए पनि यो रोजगारीको ग्यारेन्टी भने नभएको उनले बताइन् ।

‘भाषा परीक्षा उत्तीर्ण भएपछि उहाँहरूलाई रोस्टरमा राखिन्छ,’ निर्देशक आचार्यले भनिन्, ‘रोजगारदाताले त्यही रोस्टरबाट आफूलाई चाहिने कामदार छनोट गर्ने हो । त्यसैले भाषा पास गरेका सबैले रोजगारी पाउँछन् भन्ने सुनिश्चित हुँदैन ।’ रोजगारदाताको प्राथमिकतामा नपर्दा कतिपय दक्ष युवाहरू पनि कोरिया जानबाट वञ्चित हुन सक्ने उनले बताइन् ।

नेपाल र दक्षिण कोरियाबिच सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो र सन् २००८ देखि नेपाली कामदार कोरिया जान थालेका हुन् । हाल दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।

शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२४ मा करिब ९ हजार २ सय नेपाली ईपीएसमार्फत कोरिया गएका छन् । सन् २०२५ मा यो सङ्ख्या बढेर करिब ११ हजार २ सय पुगेको छ । यद्यपि, रोस्टरमा रहेका हजारौँ युवाको भविष्य अझै अन्योलमै रहेको छ ।

सरकार र कोरियाली पक्षबिच समन्वय भए पनि परीक्षा पास गरेका श्रमिकको प्रतीक्षा कहिले टुंगिन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित देखिन्छ ।

प्रकाशित: १७ पुस २०८२ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App