८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विविधताबीचको एकता नै नेपालीको पहिचान: उपराष्ट्रपति पुन

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव समारोह उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन।

उपराष्ट्रपति नन्दबहादुर पुनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएको बताएका छन्। उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म–संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरे।

इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औं जन्मोत्सव समारोह उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुुधार्मिक, बहुसांस्कृतिक देश भएको र विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान भएको बताए। ‘हाम्रो देशमा जातीय विविधता छ, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ,’ उनले भने, ‘नेपाल प्रकृति र संस्कृतिको धनी देश हो।’

उनले पूर्वीपहाड प्राकृतिक  रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध भएको पनि बताए। ‘आदिमकालदेखि यहाँ किरातीको बसोबास छ। यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ,’ उनले भने, ‘मुन्धुम लाखौं नागरिकको जीवन दर्शन हो, परम्परागत र मौखिक रूपमा रहेको मुन्धुमलाई परिस्कृत गर्दै अघि बढाउन फाल्गुनन्दको विशेष योगदान छ।’ 

किरात धर्मगुरुका शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको भन्दै उनले छोरीलाई छोरासमान शिक्षा र अंश दिने, स्वदेशी उत्पादनका सामानको प्रयोगजस्ता काम किरात धर्मगुरुका प्रगतिशील धारणा रहेको पनि बताए। ‘किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको छ,’ उनले भने, ‘अहिले पनि धर्मगुरु आत्मानन्दले विश्वशान्ति र मानव एकताको उपदेश दिइरहनुभएको छ। यो क्षेत्र धार्मिक पर्यटन र लाखौंलाख धर्मावलम्बीको आस्थाको केन्द्र हो।’ 

उपराष्ट्रपति पुनले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई पनि दिए। र, निर्वाचित जनप्रतिनिधिलाई बधाई र शुभकामना दिए। उनले निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिए।  

प्रकाशित: १८ मंसिर २०७९ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App