२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

नेता पुनलाई वंशाणुगत रूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो।

चीन-नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएका छन्।

गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ। उपचारका लागि नेता पुनसँगै पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन्।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फ्लोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत परामर्श गरिसकेका छन्। पछिल्लो समय उनी काठमाडौमा आराम गरिरहेका छन्। रासस

प्रकाशित: १६ मंसिर २०७९ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App