२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहट र सर्लाहीबाट मतगणनाको प्रारम्भिक नतिजा आउन सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना रौतहटमा सुरु भएको छ। आइतबार नै सम्पन्न निर्वाचनको मतगणना सोमबार दिउँसोदेखि हुन थालेपछि प्रारम्भिक नतिजा आउन सुरु भएको हो।

रौतहटमा प्रायः वडा वडाको मतगणना भइरहेको छ। चार निर्वाचन क्षेत्र रहेको रौतहटमा गठबन्धन र स्वतन्त्रबीच प्रतिस्पर्धा भएको देखिन थालिएको छ।

रौतहट क्षेत्र नम्बर १ को मतगणना सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा सुरु भएको छ। यस क्षेत्रमा नेकपा एसका माधवकुमार नेपालले अग्रता लिएका छन्। नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई पछाडि पार्न सुरु गरेका गरेका हुन्।

रौतहट क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ। नेपाली काँग्रेसका डा. फिर्दोस आलम र स्वतन्त्र उम्मेदवार किरण साहबीच प्रारम्भिक टक्कर देखिएको छ। एउटा बुथको मत परिणाम सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवार किरण साहले अग्रता लिएका छन् भने डा. फिर्दोस आदलमले पछ्याइरहेको देखिएको छ।

रौतहट क्षेत्र नम्बर ३ मा दुई स्वतन्त्र उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै गठबन्धनको आधिकारिक उम्मेदवार नै नभएको रौतहट क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साह र उद्योगपति ओमप्रकाश साहबिच कडा टक्कर देखिएको छ। दुवै उम्मेवारबीच कडा प्रतिस्पर्धा हुने पूर्वानुमान गरिएझैँ एउटा वडाको मतगणना हुँदा अत्यन्त झिनो मतले ओमप्रकाश साहले अग्रता लिएका छन्।

रौतहट क्षेत्र नम्बर ४ मा भने नेपाली काँग्रेर र नेकपा एमालेबीच प्रतिस्पर्धा रहेको छ। नेकाका देवप्रसाद तिमल्सिनाले एमालेका उद्धव रेग्मीलाई केही मतले पछाडि पार्दै अग्रता लिएका छन्। क्षेत्र नम्बर ४ (१) मा नेकपा माओवादीका युवराज भट्टराई समीरले अग्रता लिएका छन्। भट्टराईलाई नेकपा एसका बालकृष्ण श्रेष्ठले पछ्याइरहेका छन्। यसै गरी ४ (२)मा दुई स्वतन्त्रबिच प्रारम्भिक प्रतिस्पर्धा देखिएको छ। स्वतन्त्र उम्मेदवार जयनाथ यादवले अग्रता लिएको ४ (२) मा अर्का स्वतन्त्र उम्मेदवार रवि जयसवालले पछ्याइरहेका छन्।  

सर्लाहीमा पनि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मतगणना सुरु भएको छ। सबैभन्दा पहिले सर्लाही ३ को मतगणना सुरु भएको हो। सर्लाही ३ (१) र ३ (२) को पनि मतगणना साँझबाट सुरु भएको छ। 

प्रकाशित: ५ मंसिर २०७९ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App