पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको हो।
‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो। हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ।’
उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, 'बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।'
यस्तै अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ। ‘यो जोड-जबरजस्ती गरेर होइन, हस्ताक्षर गर्नेहरूले स्व-इच्छाले दिनुभएको हो,’ न्यौपानेले भने। उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको बताए। आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'हामीले गर्दा नहुने तर, अरुले गर्दा हुने भन्ने नहोला।'
आलोचकलाई जवाफ- हस्ताक्षर सङ्कलन गरेका हौँ, हतियार होइन
रास्वपाले आफूहरूको हस्ताक्षर अभियानलाई 'हतियार सङ्कलन' गरिएको जस्तो गरी प्रचार गरिएको बताएको छ। हस्ताक्षर सङ्कलनको विषयलाई ठूलो रूपमा प्रचार गर्न आवश्यक नरहेको न्यौपानेले बताए।
‘अदालतलाई प्रभावित पार्न खोजियो, विचाराधीन मुद्दामाथि किन हस्ताक्षर सङ्कलन गरेको भनेर प्रश्न उठाउनुभएको छ, खासगरी विपक्षी मोर्चामा रहेका दलहरूले। यसमा हामीले अदालतको आदेशमाथि कुनै प्रश्न गरेका छैनौँ। यदि अदालतको निर्णय स्वीकार नगरेको भए यतिबेला रवि लामिछाने कारागारमा हुनुहुन्नथ्यो,’ न्यौपानेले भनेका छन्, 'अदालतको निर्णयलाई कुनै रूपमा प्रभावित नगरेर हामीले नागरिकको हस्ताक्षर सङ्कलन गरेका हौँ।'
रास्वपाले कसैलाई 'देखाइदिउँ' भनेर हस्ताक्षर सङ्कलन नगरेको न्यौपानेले बताएका छन्। ‘हस्ताक्षरलाई हतियार सङ्कलन गरेजस्तो कुप्रचार नगरियोस्। आम नागरिकको हस्ताक्षर सङ्कलन गरेका हौँ, हतियार होइन। यो भ्रमबाट मुक्त हौँ,’ उनले भने।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। उनी कारागारमा रहनुलाई उनको पार्टी रास्वपाले भने 'सरकारले राजनीतिक प्रतिशोध साँधेको' रूपमा व्याख्या गर्ने गरेको छ। त्यही प्रतिशोधविरुद्ध हस्ताक्षर सङ्कलन अभियान जारी राखेको रास्वपाले बताउने गरेको छ। यसअघि गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर कारागारबाटै लामिछानेले २० पृष्ठ लामो एक अपिल जारी गरेका थिए। त्यही अपिलमार्फत उनले हस्ताक्षर अभियानको घोषणा गरेका थिए। त्यही घोषणाअनुरूप रास्वपाले असार ९ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ।
हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिनसम्म पुर्याउने रास्वपाले जनाएको छ।
प्रकाशित: ३० असार २०८२ १५:४३ सोमबार





