७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

जुर्मुराउँदै मध्यपश्चिम

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि नयाँ पर्यटन प्रोडक्ट ‘गुरिल्ला पदमार्ग' अवधारणा ल्याइयो। युद्ध पर्यटन विकास गर्न दरबाङ (म्याग्दी) देखि, ढोरपाटन, रुकुम, थबाङ, जलजला हुँदै सुलिचौर (रोल्पा) सम्म ‘गुरिल्ला टे्रल' बनाइयो।

दुई साता लामो पदमार्गमा माओवादी जनयुद्धका कथा, व्यथा र पात्रसँग साक्षात्कार गर्न पाइन्छ। जनयुद्ध मन पराउने र नपराउने दुवै मानिस त्यहाँ रमाउन सक्छन्। किनकि पदमार्ग प्राकृतिक र सांस्कृतिक हिसाबले समेत उत्तिकै सुन्दर छ।
त्यहाँ मगर संस्कृति पाइन्छ। पदमार्ग एक्सप्लोर भइसके पनि भौतिक पूर्वाधार विकास हुन बाँकी छ। त्यसैले क्याम्पिङ यात्रा गर्नुपर्छ। हिमालयन म्याप हाउसले गाइड बुक र नक्सा निकालेको छ। त्यही बोकेर वर्षमा आधा दर्जन समूह त्यहाँ पदयात्रा गर्छन्। 
‘नयाँ गन्तव्यका रूपमा गुरिल्ला टे्रलले देश/विदेशका मिडियामा कभरेज पायो,' गुरिल्ला टे्रेल प्रवर्द्धनमा जुटेका चेन्जिङ नेपालका सुरेन्द्र राना भन्छन्, ‘तर आधारभूत पूर्वाधार विकासमा सरोकारवालाले ध्यान दिएनन्।' 

15 Navisthan Jwala Dailekh
नौलो पदमार्गमा सामान्य संकेत बोर्ड सम्म छैन। काठमाडौं केन्द्रित कार्यक्रममा लाखौं रुपैयाँ खर्च गर्ने टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले गुरिल्ला टे्रल प्रवर्द्धनमा केही गरेको छैन। म्यापिङ र टे्रल मार्किङजस्तो आधारभूत काम त उसले गर्नुपर्ने होइन र? 
टे्रल मार्किङ, पोर्टर सेल्टर र युद्ध तथा सांस्कृतिक संग्रहालय बनाउनुपर्ने देखेका छन्, रानाले। भन्छन्, ‘गाउँलेलाई होमस्टे र पर्यटनमैत्री तालिम पनि चाहिएको छ।'
गुरिल्ला पदमार्गकै जस्तो अवस्था छ मध्यपश्चिमका अरू गन्तव्यको पनि। वास्तवमा प्रकृति, कला र संस्कृतीको त्रिवेणी हो मध्यपश्चिम। राम्रो प्रचार गर्न सके पर्यटकीय गन्तव्यका रूपमा चम्किन सक्छ। 
मध्यपश्चिममा दैलेख, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया, मुगु, डोल्पा, कालिकोट, हुम्ला, जुम्ला, दाड, प्युठान, रोल्पा, रुकुम र सल्यान गरी १५ जिल्ला पर्छन्। सबैका आ–आफ्नै विशेषता। सुर्खेतमा काँक्रेबिहार, देउती बज्यै, बुलबुले ताल, कुइने ताल, घन्टाघर आदि छन्। भेरिमा र्यालफ्िटङ हुन्छ। वीरेन्द्रनगरम बजारमा होटल छन्। 
नेपाली र भारतीय पर्यटक लोभ्याउँछ दैलेखले। त्यहाँको पञ्चकोसी तीर्थ (श्रीस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र कोटिला) स्वस्थानी व्रतकथासँग जोडिएका छन्। जीपमा एकै दिनमा पञ्चकोसी तीर्थ घुमिन्छ। तीर्थमा अखण्ड ज्वाला बल्छन्। साँझको बास दैलेख बजारका होटलमा। 

22 Tharu women Bardiya
भूर्तिका २२ देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्ब, कालिकोट सीमाको महाबु लेक पनि दैलेखका आकर्षण। ‘दैलेखबाट महाबु हुँदै राराताल जोड्ने पदमार्ग खोल्न सकिन्छ,' मध्यपश्चिमको पर्यटन विकासमा जुटेको मनघरि प्रतिष्ठानका अध्यक्ष भरतबन्धु थापा भन्छन्, ‘हामी पहल गर्दै छौं।' 
मध्यपश्चिमको गेट वे नेपालगन्ज (बाँके) मा वागेश्वरी मन्दिर छ। त्यहाँ नेपालको एकमात्र जुँगे महादेव छन्। वागेश्वरी तलाउ छ। विमानस्थल छ। 
वाइल्ड लाइफ हेर्न बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जभित्र एकसिंगे गैंडा, पाटे बाघ, चित्तल, रतुवा, गोही देखिन्छ। निकुञ्ज हेडक्वार्टर ठाकुरद्वारामा सुविधायुक्त होटल तथा रिसोर्ट छन्। गर्मी याममा जनावर धेरै देखिन्छ। निकुञ्जको मध्यवर्ती क्षेत्र डल्लाको थारू समुदायले होमस्टे चलाएको छ। 
कर्नाली अञ्चलका हुम्ला, जुम्ला, मगु, कालिकोट र डोल्पा विशेष छन्। हुम्ला मानसरोवरको प्रवेशद्वार। भारतीय र जर्मन नागरिक यतैबाट मानसरोवर जान्छन्। सदरमुकाम सिमकोटबाट हिँडेर जाँदा चार दिनमा हिल्सा पुगिन्छ। हिल्साबाट दुई घन्टा जीप ड्राइभमा मानसरोवर क्षेत्र। धेरैजसो हिल्सासम्म हेलिकोप्टरमा जान्छन्। 
हुम्लामा दुई साता लिमी भ्याली पदयात्रा हुन्छ। सदरमुकाम सिमकोटमा होटल, लज छन्। अन्यत्र क्याम्पिङ गर्नुपर्छ। 
मुगुमा देशकै ठूलो ताल रारा छ। रारा उपत्यका (३,००० मिटर) वरपर जंगल छ। ताल १६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र २.७ किमि चौडाइमा फैलिएको छ। तालको पानी छिनछिनमा बदलिन्छ। त्यहाँ पौडी खेल्न र नुहाउन पाइन्न। किनारमा डाँफे लज छ। अरू होटल खुल्नुपर्छ। लजसहित रारा उपत्यकामा रारा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको ब्यारेक पनि छ। 
रारा जाने दुई बाटा छन्। नेपालगन्जबाट उडेर ताल्चा विमानस्थल। ताल्चाबाट दुई घन्टा हिँडे ताल किनार। जुम्लासम्म उडेर हिँडे दुई दिन एक बिहान हिँड्ने। जुम्लाबाट जाँदा सिञ्जा भ्याली पुगिन्छ। जुन नेपाली खस भाषाको उद्गमथलो हो। 
मुगुको गमगढीसम्म सडक ट्र्याक खुलिसकेको छ। नियमित बस सेवा चल्न केही वर्ष लाग्छ। उपल्लो मुगु झन् मनमोहक छ। त्यहाँ भोटिया सभ्यता पाइन्छ। 
जुम्ला रारा जाने मार्ग हो। बजारमा चन्दननाथ मन्दिर छ। स्याउ र जडिबुटी खेती हुन्छ। 
तुलनात्मक रूपमा बर्दिया र हुम्लापछि धेरै पर्यटक जाने गन्तव्य डोल्पा हो। जहाँ वर्षको १६ सय हाराहारीमा विदेशी पुग्छन्। १२ सय लोअर डोल्पा क्षेत्र घुम्छन् भने बाँकी अपर डोल्पा। लोअर सर्किट गर्न १८ दिन र माथिल्लो सर्किट गर्न २२ दिन लाग्छ। 
पदयात्री फोक्शुण्डो तालमा रात बिताउँछन्। फोक्शुण्डो मनमोहक छ। करिब पाँच वर्ग किमिमा फैलेको ताल किनारमा सामान्य होटल छन्। 
डोल्पामा बर्सेनि पर्यटक बढ्दै छन्। एक्सप्लोर डोल्पो ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्री डोल्पा प्रवर्द्धनका लागि एग्रेसिभ मार्केटिङ चाहिने बताउँछन्। ‘विदेशीले आफैं चासो दियो भनेमात्रै काठमाडौंका कम्पनीले डोल्पो सेल गर्छन्,' झाँक्री गुनासो गर्छन्, ‘डोल्पाको मायाले लौन केही गरौं भन्नेहरू कमै छन्।' 
फ्रान्सेली निर्दैशक एरिक भ्यालीले डोल्पा चिनाउन ठूलो मद्दत गरेका छन्। उनको फिल्म ‘क्याराभान हिमालय'कै कारण होला ६० प्रतिशत डोल्पा घुम्ने पर्यटक फ्रान्सेली हुन्छन्। विदेशी क्याम्पिङ गर्छन्। 
फोक्शुण्डो तालसम्म घुम्न नेपालीले क्याम्पिङ गर्नु पर्दैन। सामान्य खाना र बास पाइन्छ। ताल पुग्न जुफाल विमानस्थलबाट दुई दिन हिँड्नुपर्छ। विमानस्थल कालोपत्रे हुँदै छ। ताल्चामा जस्तै जुफालमा पनि नियमित उडान छैन। चार्टर्ड उडान हुने भएकाले भाडा महँगो पर्छ। 
धेरै नेपाली र भारतीय जाने अर्को तीर्थ स्वर्गद्वारी (२,०४८ मिटर) हो। प्युठानका स्वर्गद्वारी मन्दिरमा बर्सेनि लाखौं भक्तजन पुग्छन्। शीतल डाँडाबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ। 
स्वर्गद्वारीमा ब्रह्माले तपस्या गरेका थिए। पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए। स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको हो। त्यहाँ यज्ञशाला छ। वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन्। 
स्वर्गद्वारीमा सयौं गाई छन्। गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ। बालतपस्वी हंसानन्द गिरीले विसं १९५२ मा त्यहाँ आश्रम स्थापना गरेका हुन्। त्यतिबेलै उनले विश्व कल्याणका लागि सुरु गरेको अखण्ड महायज्ञबाट अहिले पनि धुवाँ आइरहन्छ। 
स्वर्गद्वारीलाई योग, ध्यान र अध्यात्म केन्द्र बनाउन सके राम्रो हुन्छ। मन्दिर क्षेत्रमा सामान्य खाना र बास पाइन्छ। सुविधायुक्त होटल खुल्न ढिला भइसक्यो। 
मन्दिर पुग्न रोल्पाको भिंग्रीबाट चार घन्टा उकालो चढ्नुपर्छ। 
मध्यपश्चिमको दाङ एसियाकै ठूलो उपत्यका मानिन्छ। त्यहाँ बाह्र कुने ताल छ। अरू थुप्रै मन्दिर छन्। सल्यानमा पनि धार्मिक पर्यटक तान्ने कुभिन्डे दह, खैरावाङ र छत्रेश्वरी मन्दिर छन्। 
मध्यपश्चिम सांस्कृतिक रूपमा धनी छ। जातजातिका नाचगान, मेलापर्व समेत अध्ययन गर्न सकिन्छ। त्यहाँ आ–आफ्नै हिसाबले पर्यटनकर्म भइराखेको छ। मनघरि प्रतिष्ठानले ‘समृद्ध मध्यपश्चिम' नारा घन्काएको छ। सरकार, निजी क्षेत्र, पर्यटन बोर्ड र सम्बन्धित जिविसले हातेमालो गरेर मध्यपश्चिमको पर्यटन विकासमा लाग्नुपर्छ। मध्यपश्चिमलाई एउटा गति दिनुपर्छ।

प्रकाशित: ४ असार २०७२ २०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App