७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

इतिहास जोगाउनै सकस

चितवनमा पारसनगर नामको एउटा प्रख्यात वस्ती छ। चित्रकार पारसमणि रञ्जितकारको नाममा त्यसको नामाकरण भएको। कलाकारको नामबाट वस्ती नामाकरण हुनु खुसीको कुरा हो। दुःखको कुरा नामाकरणको विषयमा चित्रकार/मूर्तिकार बाहेक अरुलाई खासै जानकारी छैन। चितवनको कला क्षेत्र पनि लगभग यही अवस्थामा छ। यहाँको कलाले अन्तराष्ट्रिय चर्चा पनि पाएकै हो। तर, अहिले गुमनाम हुने हो कि भन्ने चिन्ता छ।विस २०१९ सालमा बेलायतकी महारानी एलिजाबेथ नेपाल भ्रमण आउँदा चितवन घुमेकी थिइन्। पारसमणिले महारानीलाई उनको चित्र उपहार दिएका थिए। चित्र सामान्य थिएन, पारसमणिले रेशमको धागो प्रयोग गरेर महारानीको अनुहार उतारेका थिए। त्यही 'असाधारण' कलाकृतिको पुरस्कार स्वरुप वस्तीको नामै पारसनगर रह्यो।

'पारसमणिको त्यो चित्रबारे टाइम्स अफ इन्डियामा समाचार छापिएको थियो। मैले विस २०३४ सालतिर समाचारको कटिङ हेरेको थिएँ। पारसमणिको राम्रो प्रसंसा थियो त्यसमा' कला अनुरागी सर्जक गोविन्दराज विनोदीले भने। चितवनका कलाकारले गर्ने प्रयोगको बेला बेलामा चर्चा हुन्छ। तर व्यवसायिक मौलाउन नसक्दा धेरै यो पेशाबाट विस्थापित भैसकेका छन्।

पारसमणिको निधन भइसकेको छ। विस २०२० सालदेखि मूतिकलामा सक्रिय गुणेन्द्र कमली मूर्ति बनाउँदै छन्। ललितकला प्रतिष्ठान चितवन शाखाका अध्यक्ष तमबहादुर पुन भन्छन् 'चितवनका धेरै मन्दिर र सार्वजनिक ठाउँमा उहाँले बनाएका मूर्ति छन्। हामी धेरै मुर्तीकारका गुरु नै उहाँ हुनु हुन्छ। त्यस्ता व्यक्ति निरञ्तर लाग्नु खुसीको कुरा हो।'

कमली जसरी यो पेशामा निरञ्तर लाग्ने निकै कम छन्। चितवनको मूर्ती कलामा नौला प्रयोगहरु पनि फष्टाउन सकेको छैन।

स्वअध्ययनबाटै चित्र तथा मूर्ति बनाउनेभन्दा पनि अध्ययन गेर यस क्षेत्रमा लाग्नेको संख्या नबढेको होइन। तर कलाकारिताको विकास सोचे अनुरुप नभएको चित्रकार तथा प्रतिष्ठान चितवनका पूर्व अध्यक्ष प्रकास थापाले बताए। उनका अनुसार कलामा औपचारिक अध्ययन गरेकाहरु पनि अन्य पेशामा छन्। कुनै बेला यही पेशामा जमेकाहरु पनि अहिले भिन्न व्यवसाय गर्छन। निरञ्तर लाग्नेको संख्या कम छ।

'चितवन घर भए पनि काठमाडौंमा बसेर सिर्जनामा संलग्न हुनेहरुको अवस्था राम्रो छ। तर चितवनमै कला क्षेत्रमै लागेर जिवन गुजारा गर्ने अवस्था नभएपछि ललितकलामा स्नातकसम्म गरेकाले पनि कपडा पसल चलाएका छन्' थापाले भने। साइन बोर्ड लेख्दै चित्र पनि बनाउनेहरु फ्लेक्सको जमानामा विस्थापित भएका छन्।

प्रयोगमा रमाउनेहरु

चितवनको कला सिर्जना बेला बेलामा चर्चामा आउँछ। ललितकला क्याम्पसबाट स्नातक गरेका सूर्य केसी 'मध्यरात' व्यक्तिलाई नै सामुन्ने राखेर मूर्ति बनाउन पोख्त छन्। तस्विर हेरेर मूर्ति बनाउनु भन्दा मान्छे नै अगाडी राखेर बनाउँदा सिर्जना जिवन्त हुने उनको भनाइ छ। उनी व्यवसायिक रुपमा सफल कलाकार हुन्।

चितवनका मुर्तीकार/चित्रकारले बगरको बालुवा र मुढो तथा कुहिएर नास हुने जरालाई पनि सिर्जनामा ढालेका छन्। विस २०६५ मा प्रकास थापा एकाएक विदेश गए रोजगारीका लागि। दुबईमा तीन वर्ष काम गरेपछि उनी कला क्षेत्रमा नौलो ज्ञान बोकेर फर्के।

'म काम गर्ने ठाउँमा बालुवानै बालुवा हुन्थ्यो। चित्रकार मान्छे भएकाले बालुवाबाट पनि चित्र बनाउन सकिन्छ कि भनेर प्रयास गरे। पहिलो चित्र ऊटको बनाए, राम्रै बन्यो। त्यसपछि मान्छेको बनाए, त्यो पनि राम्रो भयो' थापाले सुनाए।

नेपाल आएपछि उनले यो काम जारी राखे। अहिलेसम्म २७ साहित्यकारको चित्र बनाइसके। उनले गैंडाकोटमा त्यसको प्रदर्शनी पनि गरे। दर्शकबाट पाएको प्रशंसाले उनी उत्साहित भए।

उनले क्यान्भासमा स्केच कोरे पछि गम पोत्ने र रेखी हाले जसरी स्केचमाथि बालुवा राख्ने गर्छन्। 'रंगको साटो बालुवासँग खेलेको हो। बालुवाबाट पनि चित्रमा सम्पुर्ण विवरण र उभार कायम गर्न सकिन्छ' उनले भने। एउटा चित्र तयार पार्न चार घण्टादेखि तीन दिनसम्म लागेको उनले बताए। ध्यान दिएर धैर्यतापुर्वक काम गर्नु पर्छ। कही कम कही बढी बालुवा राख्नु पर्छ। त्यसका लागि एकाग्रता चाहिन्छ।

बालुवा जस्तै बगरमा मिल्केका मुडा र जराहरुलाई मूर्तिकोे रुप दिने कलाकार हुन् शारदानगरका तमबहादुर पुन। 'सुरुमा म चित्र मात्रै बनाउँथे' म्याग्दीबाट चितवन झरेका ५० वर्षे पुनले भने 'तर केही नौलो र नाम चल्ने सिर्जनामा लाग्नु पर्यो भनेर जरालाई बटुलेर कलात्मक स्वरुप दिन थाले।' जरामा कला तिखार्ने कामलाई उनी मूर्तिकला नै भन्छन्।

नारायणीको भेलमा आएका दाउरा बटुल्नेहरुले जम्मा गरेका जराबाट छानेर पुनले कला भर्न थाले। 'जराहरुको मूर्ति बनाउने गरे पनि १० वर्ष त मैले बिक्री नै गरिन संग्रह मात्रै गरें' पुनले सुनाए। उनको कलाको चर्चा हुन थालेपछि नेपालमा यस्तो कामममा निकै कम भएको थाहा पाए उनले। त्यसपछि उनले कला बेच्न थाले। काठमाडौंमा एउटा जरा मूर्तिको ३० हजार रुपैयाँसम्म पाएको उनको अनुभव छ।

जिवित मान्छे अगाडी नै राखेर मूर्ति बनाउँदा सिर्जना जिवन्त हुनुका साथै समय पनि बचत हुने अनुभव सूर्य मध्यरातसँग छ। फोटो हेरेर बनाउँदा तीन महिना लाग्ने मूर्ती पात्रलाईनै अगि राखेर बनाउँदा तीन दिनमै पुरा हुन्छ। 'फोटो हेरेर बनाउँदा कल्पना मिसाउनु पर्छ। व्यक्ति जिवित छँदै उसैलाई सामुन्ने राखेर बनाएमा मात्रै जिवन्त मूर्ती बन्छ। फोटोलाई आधार मान्दा मूर्तीको प्राण गुम्ने डर हुन्छ', उनले प्रस्ट पारे।

उनी नेपालभर मूर्तीमा यस्तै प्रयोग होस भन्ने चाहन्छन्। व्यवसायिक सफलताका लागि यही अडान बाधक बन्ने खतरा छ। किनकि मान्छेहरु तस्बिर दिएरै मूर्ति बनाउन आग्रह गर्छन।

ग्राहकको चाहना

प्रयोगमा रमाउने चाहना हुँदाहुँदै पनि कलाकारहरु आफ्नो मात्रै सोचले अघि बढ्न नसक्ने बाध्यता छ। 'चित्रमा आफ्नो भावना पोख्न पाइयोस। त्यो चित्र हेरेर मान्छेहरु दंग परुन। किन्न लालायित हुन। हामीले भनेको मुल्य तिरुन। तर यस्तो हुँदैन', चित्रकार प्रकास थापा भन्छन्, 'ग्राहकले लौ मलाई यस्तो चित्र चाहियो भन्छ। त्यही अनुसार बनाउनु पर्छ। आर्जन होला तर सिर्जना मर्न थाल्छ।'

मूर्तीकार तमबहादुर पुनको अनुभव पनि त्यस्तै छ। 'मैले बनाएको कला बिक्री हुने होइन। मलाई गणेशको मूर्ती बनाइ दिनु पर्योम भन्दै आउँछन्। बजारका अन्य सस्तो खालका मूर्तीसँग तुलना गर्छन्। आफ्नो चिन्तनले निस्पि्कर्की भएर काम गर्न पाउने अवस्था छैन' पुनले भने। त्यसैले इतिहास निकै सुन्दर भए पनि कलामा आधुनिकता भित्रिना नसकेको उनको गुनासो छ।

बीससालतिरै कमलीले बनाए जस्तै परम्परागत मूर्ती बनाउनु पर्ने बाध्यता छ।

कला पारखी नहुँदाको समस्या भोगी रहेका छन् चितवनका कलाकार। ललितकला प्रतिष्ठानको चितवन शाखा १५ जनाले धानेका छन्। जसमा तीनजना उम्दा सर्जक गैंडाकोटका छन्।

'पहिला चित्रकारहरुको आम्दानीको स्रोत साइन बोर्ड लेखन पनि थियो। फ्लेक्स प्रिन्ट आएपछि साइन बोर्ड लेखन बन्द भयो। चित्र मात्रै बनाएर बेचेर सक्षम हुन नसकेपछि धेरैले पेशा छाडेका छन्' थापाले बताए। साइन बोर्डपछि किताबको कभर डिजाइनका चित्र र व्यवसायिक प्रतिष्ठानका लोगो डिजाइन पनि आम्दानीको स्रोत थियो। कम्प्युटर डिजाइन युगको सुरुवातसँगै यो काम पनि चित्रकारबाट फुत्कियो भन्छन् प्रकास।

५० को दशकमा रामहरि श्रेष्ठ, रामबाबु सुवेदी 'राबासु', देवेन्द्र गुरुङहरु साइन बोर्ड लेखनसंगै चित्र बनाउाथे। अहिले उनीहरु चित्रकारिता चटक्कै छाडेर भिन्न पेशामा छन्। प्रविधि प्रयोगसँगै कलाकारले आफुलाई पनि परिस्किृत गर्ने अवसर नपाउँदा सिर्जनामा रमाउनेहरु काम छाड्न बाध्य भए।

'साइन बोर्ड लेखन र चलचित्रका ब्यानर लेखन हामीले नै गर्दै आएका थियौं। चलचित्रको प्रचार चित्रकारितासँग सम्बन्धित थियो। यसका साथै आफैले पनि विभिन्न चित्र बनाइन्थ्यो। फ्लेक्स आएपछि साइन बोर्ड लेखन, ब्यानर र चलचित्रको प्रचार सामाग्री हाम्रो हातबाट फुत्कियो। काम छाडेर पेशा नै अर्को रोज्नु पर्योन' कुनै जमानाका राम्रा कलाकार 'राबासु'ले भने।

सिर्जनाहरु सर्जकका कोठामा

पारखीहरु नभएसम्म कला बिक्री हुँदैन। कला बिक्री नभए कलाकार बाँच्न सक्दैन। कला पारखी त्यसै जन्मिदैनन्। 'हामीले एकदम राम्रा सिर्जना बनाएका छौं तर आफ्नै कोठामा राख्छौं भनेपछि कलाको महत्व समाजमा कसरी फैलन्छ', तमबहादुर पुनले भने। समाजलाई कला बुझाउने सवैभन्दा ठुलो माध्यम प्रदर्शनी हो। जुन चितवनमा विरलै हुन्छ। दुई–दुई वर्षमा हुने चितवन महोत्सवको भिडमा चित्र र मूर्तीकलाको स्टल राख्ने गरिन्छ। कलाको महत्व दर्शाउन यो पर्याप्त छैन।

'वर्षमा कम्तिमा दुइपटक कला प्रदर्शनी र चित्र तथा मूर्ती बेच्ने छुट्टै ठाउँ व्यवस्था हुन सक्यो भने बल्ल राम्रो हुन्छ' पुनले भने। प्रदर्शनीले समाज र कलाकारबीच अन्तर्क्रिया हुने वातावरण बनाउँछ। कलाकारले कलाबारेमा सर्वसाधरणलाई बुझाउने अवसर पाउँछन् भने उनीहरुबाट आउने प्रतिक्रिया अनुसार आफुलाई सुधार्न पनि सहयोग पुग्छ। त्यसैले जिल्लामा कम्तिमा एउटा भए पनि आर्ट ग्यालेरी खुल्नु पर्ने कलाकारको माग छ।

चितवन पर्यटकीय जिल्ला पनि हो। देश विदेशबाट पर्यटक आउने हुँदा कला बिक्रीमा समस्या पर्दैन। त्यसैले कलाकार र स्थानीय निकाय नगरपालिका वा जिल्ला विकास समितिको सक्रियतामा आर्ट ग्यारी स्थापना गरेर पर्यटक घुमाउने वतावरण बनाउनु पर्नेमा तमबहादुर जोड दिन्छन्।

'१०/१२ वटा मुर्ती भए प्रदर्शनी गर्न सकिन्छ। मैले पछिल्लो समय ढुंगाका ४० वटा मूर्ती बनाएर घरमै राखेको छु। काठमाडौं बोकेर प्रदर्शनीका लागि लैजान सकिन्न। यहाँ प्रदर्शनी गर्ने ठाउँ छैन। कोठामा नै राखेर हाम्रो कलाको महत्व कस्ले बुझ्ने' उनले भने।

नगरपालिकाले नक्सा पास गर्दा घरमा एउटा सुन्दर तस्विर राख्ने व्यवस्था मिलाउनु उत्तम हुने चित्रकार थापाको भनाइ छ।

सम्भावना जिवितै

पहिला स्वअध्ययनबाटै चित्र वा मूर्ति बनाउने थिए। अहिले औपचारिक शिक्षा लिनेहरुको संख्या बढेको छ। काठमाडौं बसेर चित्र वा मूर्ती कलामा निकै राम्रो काम गरेका कलाकारको सूची लामै छ। मूर्ती कलामै स्नातकोत्तर गरेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामा चितवनकै हुन्। उनी ललितकला पढाउँछन् पनि।

चितवन शिवनगरका दिपक रसाइली भारतमा अध्ययन पुरा गरेर उतै काम गर्दै आएका छन्। केही समयअघि इटहरीमा सम्पन्न अन्तराष्ट्रिय मूर्ती कार्याशालामा उनी भारतबाटै आएका थिए। ललितकलामा स्नातक गर्दै गरेका चितवनका कलाकार दर्जनका हाराहारीमा छन्। वातावरण बने उनीहरु चितवन नै फर्केर कला सिर्जना गर्न सक्छन्।

'यो कलाकारले मात्रै, सरकार वा समाजले मात्रै गर्ने विषय होइन। कला प्रवर्द्धनमा सवै मिलेर लाग्नु पर्छ। त्यसको वातावरण बनाउने काममा हामी लागेका छौं। समाजलाई कला बुझाउने, सरकारलाई वातावरण बनाउन झकझकाउने र साथीहरुको लागि अवसर सिर्जना गराउने काममा भने हामी कलाकार नै सक्रिय हुनु पर्छ' तमबहादुरले भने।

प्रकाशित: १७ वैशाख २०७३ २३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App