प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्ड भ्रमणको तेस्रो दिन थाइल्याण्ड र नेपालका व्यवसायीहरूसँग लगानीका सम्भावना र अवसरबारे छलफल गरेका छन्।
छलफलमा नेपालमा लगानीका विविध आयाम, सहकार्यका क्षेत्र र दुई देशबीचको भावनात्मक सम्बन्धलाई समेत जोड दिइएको छ। प्रधानमन्त्रीले थाइ उद्योगी, व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरे।
छलफलमा निर्माण उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन र पर्यटन क्षेत्रका लगानीकर्ताहरू सहभागी थिए।
थाइ लगानीकर्ताहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै उपयुक्त साझेदारको खोजीमा जोड दिएका छन्।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले छलफलमा लगानीका अवसर मात्र नभई दुई देशबीच भावनात्मक सहकार्यको सन्देश पनि प्रवाह गरिएको बताए।
उनले भने, “थाइ लगानीकर्ताहरूले नेपालमा लगानी गर्न आतुर छन्। उनीहरूले विदेशी मुद्रा फिर्ता लैजाने व्यवस्था, कर्मचारी प्रशासनको झन्झट र भन्सार दर घटाउने विषयमा चासो राखेका छन्।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले छलफलमा नेपालमा लगानीका सम्भावित क्षेत्रहरू पहिचान गरिएको र प्रधानमन्त्रीले ती क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरेको जानकारी दिए।
उनले भने, “परम्परागत कानूनहरू संशोधन गरी लगानीका लागि सहज वातावरण बनाइएको छ। सरकारको प्रतिबद्धताले थाइ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रेरित गरेको छ।”
थाइ व्यवसायीहरूले पर्यटन, होटल, अस्पताल र निर्माणजन्य कच्चा पदार्थका क्षेत्रमा लगानीको चासो देखाएका छन्। उनीहरूले नेपालमा कानूनी सहजता, मुनाफा फिर्ता लैजाने प्रबन्ध र विदेशी मुद्रा सञ्चितिको अवस्थाबारे जिज्ञासा राखेका थिए।
छलफलमा नेपाली व्यवसायीहरूको प्रतिनिधिमण्डलले नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको बताएको थियो। अध्यक्ष ढकालले जलविद्युत क्षेत्रमा भारतसँग भएको १० हजार मेगावाटको सम्झौता र पर्यटन प्रवर्द्धनका अवसरहरूबारे पनि छलफलमा जानकारी गराइएको उल्लेख गरे।
थाइल्याण्डका लगानीकर्ताहरूसँगको यो छलफलले दुई देशबीच आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ चैत्र २०८१ १५:०७ बिहीबार