काठमाडौं महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको प्रष्टोक्ति दिएको छ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताएअनुसार उपप्रमुख डंगोलको अध्यक्षमा बैठक नभई आगामी कार्यपालिका बैठकका अजेन्डाबारे अनौपचारिक छलफल भएको हो।
'उहाँ (उपप्रमुख सुनिता डंगोल)को अध्यक्षमा कार्यपालिका बैठक बसेको होइन। अब बस्ने बैठकमा के-के विषयमा कुराकानी गर्ने भन्नेबारे मोटामोटी अनौपचारिक रूपमा छलफल भएको मात्रै हो,' प्रवक्ता मानन्धरले नागरिकसँग भने।
बिहीबार (आज) सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पठायो। तर, प्रमुख बालेन शाह भने अधिकृत गुरागाईंलाई प्रवेश गर्न नदिने सुरमा थिए। तर, उनलाई उपप्रमुख डंगोलसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूले प्रवेश गराएका थिए।
यसपछि अधिकृत गुरागाईंले हाजिर गरे। त्यस क्रममा उपप्रमुख डंगोलसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूका बीचमा अनौपचारिक छलफल भएको थियो। तर, त्यही बसाइलाई कार्यपालिका बैठक भनेर प्रचार गरिएको थियो। तर, उक्त छलफल औपचारिक कार्यपालिका बैठक नभएको प्रवक्ता मानन्धरले बताएका छन्।
प्रकाशित: २१ चैत्र २०८१ १५:०८ बिहीबार