। जन्मजात दृष्टिविहीन दवाडीले आफ्नै दृष्टिविहीन दिदी नारायणी र अन्य आफन्तसँग मिलेर मंगलबार होली खेलेको सुनाइन्।
गालामा रङ लगाएर एक आपसमा पानी छ्याप्दा मन निकै रमाइलो भएको उनले सुनाइन्। 'होलीको रङ त पखालेर गइसक्यो तर त्यसले दिएको खुसीको रङ मनभित्र बसेको छ,' उनले भनिन्, 'चाँड–पर्व हेर्न नसक ेपनि महसुस गर्नसक्छौं।'
समाजशास्त्रमा एमए गर्दै गरेकी उनले ऋतुको रङ नदेखे पनि यसलाई महसुस गर्नसक्ने सुनाइन्। चराको चिरबिराहट, हावाको सुसेली र फूलहरुको महकबाट वसन्तको पहिचान गरेकी उनले फागु आउँदै गरेको आफुलाई पहिल्यै थाहा भएको सुनाइन्। 'हामीलाई क्यालेन्डर हेर्न पनि जरुरी छैन,' उनले हाँस्दै भनिन्, 'मौसम अनुसारको पर्वलाई महसुस गर्न सक्छौ।'
पछिल्लो समयमा हातमा आइफोन बोक्न थालेकी मोबाइलमा डाउनलोड गरेको एप्सहरुले पनि चाडपर्वको बारेमा सजिलै जानकारी मिल्ने उनले सुनाइन्। सबैजसो पर्व मनाउँदै आएको उनले बताइन्।
दृष्टिविहीन नारायणी दवाडीको अनुभव पनि उस्तै छ। सानैदेखि होलीको रङमा रमाउदै आएकी उनले पर्वहरुले उत्साह बढाउने सुुनाइन्। 'पर्वले हामीलाई जीवनमा थप खुसी दिन्छ,' उनले भनिन्, 'हामी रङहरुको पर्व र उज्यालोको चाड तिहार पनि उस्तै खुसीका साथ मनाउँदै आएका छौ।'
आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वले सबैको जीवनमा खुसियाली ल्याउने दृष्टिविहीनको बुझाइ छ। रङलाई बाहिरी आँखाले देख्न नसके पनि यसको महत्वलाई महसुस गर्न सकिने उनीहरुले सुनाए।
'पढेर सुनेको आधारमा रङका बारेमा हामी अनुभूत गर्न सक्छौं,' उनले थपिन्, 'त्योभन्दा बढ्ता हामी यसमा माया देख्छौं।'
दृष्टिविहीनको होलीमा परिवारका सदस्य पनि उस्तै गरी रमाए। 'दिदीहरुसँग होली खेल्दा निकै खुसी भएँ,' नारायणी र सुनिताकी कान्छी बहिनी सविनाले भनिन्, 'मैले पनि पानी हाले उनीहरुले पनि रङ लगाए।'
सामाजिक क्षेत्रमा काम गर्दै आएका जोरपाटीका दृष्टिविहीन सुशील अधिकारीको जीवनमा पनि होलीको रङ गहिरोसँग घोलिएको छ। 'रङलाई देख्न नसके पनि रङसंगै घुलेका माया, सद्भावलाई गहिरोसँग अनुभूत गर्यौं ,' उनले भने, 'खुसीको यो रङले हामीलाई बर्षभर रंगाइरहने छ।' घरपरिवार र साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक पर्व मनाउन पाउँदा खुसी लागेको उनले सुनाए।
परिवार र साथीभाइसँग होली मनाएका उनले सवको जीवन रंगीन बनोस् भन्ने शुभकामना समेत दिए। 'जीवनमा पनि यस्तै रङ छाओस्,' उनले भने, 'सबैको जीवन रंगीन बनोस्।'
प्रकाशित: १२ चैत्र २०७२ २३:२८ शुक्रबार





