देब्रे हात
हरमुनि च्यापिएको
घाँसको पहेँलो पातजस्तो
शरीरको कोखामुनि च्यापिएको छ
श्रापित देब्रे हात
मानौँ यो हात
कुनै कामको लागि योग्य थिएन
कुनै सफलताको हकदार थिएन
पोसिलो खाना लिएर
मुखसम्म पुग्ने काम केवल दाहिने हातको
खेलहरूमा विजेता हुन
भर केवल दाहिने हातको
कविता लेख्न, हस्ताक्षर गर्न
विश्वास केवल दाहिने हातको
कहीँ विजेता बनेर
उत्सवहरूमा उठाएँ दाहिने हात
राष्ट्रिय गीत बज्दा कतै
मुटुमाथि गर्वले राखेँ दाहिने हात
कसैलाई सलामी दिँदा
निधारमा जोडेँ दाहिने हात
मैले आफ्नो देब्रे हात
दाहिने हातले पाएको सफलतामा
ताली बजाउन मात्र प्रयोग गरेँ
कि त आची पुछ्न मात्र
कि त फोहोर टिप्न मात्र
कि त गाली गर्न मात्र
देब्रे हात
डिप्रेसनको रोगी बनिरह्यो ।
सुनिरहेँ उसका प्रलापहरू–
'के तिम्रो संसार दाÞयाँ हातको मात्र देन हो ?
किन तिम्रो धर्मसमेत मेरो मजाक उडाउँछ ?
मलाई किन अपराधी, कमजोर र बेइमानीको बिम्व मान्छौ ?
ए मानिस, मलाई पनि चलाऊ
मलाई पनि गतिशील बनाऊ'
चलाउँदै नचलाएको त होइन है मैले
यो देब्रे हात
तर दाहिने हातलाई सधैँ शिरमाथि चढाएँ
र यो देब्रे हातलाई
जुत्ताको फोहोर मात्र पुछ्न लगाएँ
देब्रे हातको रोग निको पार्न
त्यसलाई एउटा महँगो घडी उपहार दिएँ
सुनका औँठीहरू पनि लगाइदिएँ औँलाहरूमा
र शरीरको सम्पूर्ण सत्ता
सुम्पिदिएँ केवल दाहिने हातलाई
तर एकदिन अचानक
पक्षघातले ढलेँ म
बेकाम भयो मेरो दाहिने हर
त्यही दिनदेखि थर्थराउँदै हिँड्न थालेको छु
देब्रे हातले लट्ठी टेकेर
यो भयानक दुःखको कुरा हो
कि पृथ्वीकै शरीरको एउटा कुनामा
सधैँ श्रापित छ देब्रे हात
र दाहिने हर नचल्ने निश्चित छ
ओहो, कुन हातले लट्ठी समाउला पृथ्वीले
जब पक्षघातले यसको दायाँ पाटो हान्नेछ !
बुद्धि बंगारा
हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो–
'दाँतहरू त केवल देखाउनका लागि मात्र हुन्
बुद्धि बंगारा पलाएपछि मात्र
बुद्धि आउँछ'
गिजाको कुना चिरेर
एक दिन साँच्चै पलायो उसको बुद्धि बंगारा
त्यसपछि चमत्कार भयो
उसले पार्टीको सदस्यता पायो
चुनावको लागि उम्मेदवारी पायो
ऊ त्यसपछि शहरबाट गाउँ आयो
पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर
गाउँलेहरूलाई चिया खर्च बाँढ्यो
निकाल्यो झोलाबाट मतपत्रको नक्कल
र भन्यो,
'यो मेरो चुनाउ चिन्न हो
भोट हाल्नू !'
बुद्धि बंगारा उसको चुनावी चिन्ह
बुद्धि बंगारा उसको चुनावी मुद्दा
बुद्धि बंगारा उसको चुनावी नारा
जो जो भेटिन्थे गाउँका धुलाम्य गोरेटाहरूमा
ऊ गर्वले आफ्नो बुद्धि बंगारा देखाउँथ्यो
र भन्थ्यो,
'बुद्धि बंगारा
केवल हाम्रो पार्टीका नेताहरूको आछ
बुझ्नू है, बुद्धि बंगारा हुनेहरूसँग मात्रै
बुद्धि हुन्छ'
चुनावी सभाहरूमा गज्र्याे ऊ–
'बुद्धि बंगारा नआएकाहरू सत्तामा पुगेकैले
यो देश
ट्युटोनिकले चलाएको रोमजस्तो भयो
हिटलरले चलाएको जर्मनीजस्तो भयो
तालिवानले चलाएको अफगानिस्तानजस्तो भयो
बुद्धि बंगारा नआएकाले चलाएर
यो देश अभर प¥यो
विकासको गाडी समयको भीरबाट खस्यो
भोकमरीले जादुटुना लायो
अनिकालको आँधीहुरी आयो
पुग्यो विभेद उत्कर्षमा
र जनताको जीवन नर्क भयो'
'यसपालि देखाउने दाँतलाई हराउनुस्
र चपाउने बंगारालाई जिताउनुस्'
नभन्दै गाउँलेहरूले पत्याए उसका कुरा
जित्यो उसले चुनाव
र छि¥यो ऊ संसद्भवनभित्र
देशका धेरै केन्द्रबाट
बंगाराहरूले
दाँतहरूको जमानत समेत जफत गरिदिए
बंगाराहरूको सरकार बन्यो
बुद्धि बंगारो आएकै वर्ष
उसले पड्कायो मुख्यमन्त्री
त्यसपछि चपाउन थाल्यो उसले
जहाजका पंखा
नदीका गिट्टी र बालुवा
र जंगलका काठ
लुछ्न थाल्यो उसले
पीडितहरूका जस्तापाता
अस्पतालका बेड
र मानिसहरूका करङ
एक दिन सिंहदरबारमा भेट हुँदा
उसलाई मैले गाउँबाट 'विकास' बेपत्ता भएको खबर सुनाएँ
गाउँकी चेली 'शान्ति' अपहरणमा परेको कुरा सुनाएँ
गाउकी 'आशा' बलात्कृत भएको जाहेरी गरेँ
ऊ मौन बस्यो
मैले भनेँ, 'तपार्इंसँग गाउँलेहरू आक्रोशित छन्'
ऊ हाँस्यो मुख च्यातेर अट्टहास
हेरेँ,
थेत्, ऊ कस्तो थोते देखिएको !
देशको हाडमासु र छाला चपाउँदा चपाउँदा
फुक्लिएछन् उसका बलिया दाँतहरू
तर उसलाई कुनै पश्चात्ताप थिएन
भन्दै थियो–
'ई हेर त भाइ
बुद्धि बंगारा अझै फुक्लिएको छैन ।'
रूख
सिकर्मी भाइ !
धारिलो आरीले चरचर चिरेर मेरो मेरुदण्ड
मेरो खस्रोपनमा रन्दा लगाएर
यति तन्मयले
तिमी के बनाइरहेछौ ?
सयौँ वर्षदेखि
मैले स्वच्छ हावा दिएँ मानिसलाई
हपहपी गर्मीमा शीतल छाया
र बर्खामा ओत दिएँ
मैले नै त दिएको हुँ मानिसलाई
चिता जलाउने दाउरा
किताब छाप्ने पाना
र, हजारौँ मजस्तै
दानी सन्तानहरू
जब बूढो भएँ
मालिकको व्यापारिक भवन बनाउन
लडायौ तिमीले मलाई
मन्दिरअघि च्वाट्ट छिनेको बलिको बोकाझैँ
तिमीले मेरा जराहरू समेत उखेल्यौ
सिकर्मी भाइ !
एउटा जरासम्म छोडिदिएको भए पनि त
म फेरि उठ्थेँ जुरुक्क हावामा
भत्काउँथेँ तिम्रो गरिबीलाई गिज्याउने
मालिकको भवनको अटेरी भित्तो
र दिन्थेँ तिम्रा सन्तानहरूलाई
वर्षौंसम्म जीवनबुटी
ए सिकर्मी भाइ !
तिमीलाई सधैँ दास सम्झिने
मालिकको कुरा आज गोली मार
र सुन, मेरो अन्तिम पुकारा
मेरा हाँगा र बलियो शरीर ताछेर
स्कुलका नानीहरूलाई कुर्ची बनाऊ
गरिबका झुपडीलाई खाँबो बनाऊ
किसानहरूका लागि हलो बनाऊ
मजदुरका मेसिनहरूका लागि बिँड बनाऊ
वृद्धहरूका लागि लट्ठी बनाऊ
र तिम्रा लागि
एउटा गतिलो हतियार बनाऊ !
तर कदापि मलाई
तिम्रो मालिक बस्ने आसन नबनाऊ ।
उडान
पखेँटा फट्फटाएर
सपनाको आकाशमा तिमीझैँ उडिरहेको
म कुनै स्वतन्त्र चरा थिएँ
तिम्रोझैँ जमिनमै थियो मेरो घर पनि
तर सपनाहरू थिए आकाशमा
मलाई फकाईफकाई जमिनमा झा¥यौ
मेरा हातहरू चुराले बाँधिदियौ
र औँलामा औँठी लगाइदियौ
कानमा यार्लिङ् र नाकमा बुलाकी लगाएर
त्यसैमा लट्टाईको धागो बाँधिदियौ
तिमीले मलाई
चराबाट चंगा बनायौ
म उड्न सकिनँ त्यसपछि
स्वाभाविक लय र रफ्तारमा
फन्फनी चक्कर काटेँ बतासका झोक्काहरूमा
म तिमीले निर्माण गरेको चंगा
अल्मलिएँ निर्देशित उडानहरूमा
हे मानिस !
मेरा कष्टसाध्य उडानका संकटहरू बुझेनौ तिमीले
मेरो सपनाको धागो चुडाइदियौ
म चेट भएँ र झरिरहेँ कुनै निर्जन प्रदेशमा
तिमी माथिमाथि उडिरह्यौ आकाशमा
हावामा चक्कर काट्दै काट्दै
हुरीको सामना गर्दै गर्दै
घाम र बर्सातले मक्किँदै मक्किँदै
अब म एक कंकाल बनेकी छु
र सभ्यताको पुरानो हाँगामा अल्झिएकी छु
हुँदैन यसरी अब सुस्केरा हाल्दै
जीवनको हाँगामा झुण्डिएर हल्लिनु
मानवीयताको सबैभन्दा अचुक रसायनले
अब म आफूलाई मर्मत गर्छु
नाकको बुलाकीमा अल्झिएको धागो थुत्छु
लट्टाई खोस्छु तिम्रो हातबाट
र उड्छु आकाशमा बेग हान्दै
हे मानिस !
तिमीले उडाएको चंगा होइन म
हेर्नू यसपालि
म उहिलेझैँ चरा बनेर उड्छु आकाशमा ।
पहाड सुन्दरी
तिमी पानीमा लुछुप्पै भिजेकी छौ
र सबैभन्दा सुन्दरी देखिएकी छौ
तिमीलाई देखेर
म बैँसले उत्ताउलो भएको छु
ओहो ! यो कस्तो संयोग
लू चलिरहेको खडेरीमा
तिम्रो मुलायम छालामाथि
हिमालमा टाक्के लगाएर निस्किएको
सितलो हावा चिप्लनु
र मेरो शरीरमा यसरी उखुम बढ्नु
तिम्रो कपालमा खस्नु पानीको शीतल फोहोरा
र चिउँडोबाट झर्नु यो चिसो झरना
मेरी कोय मिस्ट्रेस !
मलाई पनि सयौँ वर्ष लाग्न सक्छ
तिम्रो स्तनको बखान गर्न
अरू हजारौँ वर्ष लाग्न सक्छ
तिम्रा अंगहरूको वर्णन गर्न
तर, मसँग केवल एउटा जुनी छ ।
तिमी सर्वांग भिजिरहेकी छौ
र खडेरीमा पहिलो बुँदाबुँदी हुँदा
हावामा माटोको हरक फैलिएझैँ
आइरहेछ तिम्रो शरीरबाट
कुनै प्रेमिल वासना
गाउँदै कुनै बैँसालु गीत
कुनै सार्वजनिक धारामा नुवाइरहेछौ तिमी
मन लागिरहेछ
मिचिदिऊँ तिम्रो कपाल, छाती र पिठ्यूँ
साबुन लगाइदिऊँ तिम्रो शरीरमा
र मयल पखालिदिऊँ
पुछिदिऊँ रूमाल झिकेर गोजीबाट
र तिम्रो वदन सिनित्त पुछिदिऊँ
तर मेरा हातहरू यति साना छन् कि
म तिम्रो कुनै सानो अंग पनि चलाउन सक्दिनँ
मेरो रुमाल यति छोटो छ कि
तिम्रो आँखीभौँ पुछ्न पनि सक्दिनँ
मेघ गर्जिरहेछ
चट्याङ परिरहेछ
र वज्र आएर मेरो शिरमा खसेको छ
मेरी कोय मिस्ट्रेस !
आज तिमीलाई यति टाढाबाट हेरेरै
मलाई अग्र्याजम भएको छ ।
खडेरीमा सुनिने
सबैभन्दा प्रिय गीत बर्सात नै त हो
ए पहाड सुन्दरी !
तिमी आज पानीमा सर्वांग भिजेकी छौ
र यो वेस्टल्यान्डमा
सबैभन्दा राम्री देखिएकी छौ ।
तर ए पहाड सुन्दरी !
म सम्भावित दुर्घटनाबाट त्रसित छु
किनकि नजिकै कारखानाका चिम्नीहरूबाट
उडिरहेछ अज्ञानको कालो धुवाँ
म त्रसित छु
कि कतै तिम्रो हरियो शरीरमा
रूपै डढाल्ने अम्ल वर्षा नहोस् !
(कवि भूपिनको प्रकाशोन्मुख कवितासंग्रह 'सुप्लाको हवाईजहाज'बाट)
प्रकाशित: ७ चैत्र २०७२ ०३:१९ आइतबार





