८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

सातो लाने स्पिड

सडकमा कानको जाली फुटाउला जस्तो चर्काे आवाज निकालेर तुफानी गतिमा हुइँकिरहेका हुन्छन् केही मोटरसाइकल । साइलेन्सर पाइप प्वाल पारिएका, अग्लो बनाइएका र रूपै फेरिएका बाइकहरू भेटिन्छन् । तिनले अरू सवारी चालकलाई आतंकित पनि पारिरहेका हुन्छन् । गति सीमाको पर्वाह नगरी अरूभन्दा फरक देखिने धुनमा उनीहरू आफू र अरूलाई जोखिममा पारिरहेका हुन्छन् । अनिल यादवले उनीहरूको डरलाग्दो 'स्पिड' मोह बुझ्न खोजेका छन् ।

भुटुटुटु...चर्काे आवाज निकाल्दै एकदमै स्पिड हुइँकिने मोटरसाइकल नियाल्नु माया तामाङको दैनिकी भइसक्यो । उनको खास दैनिकी त काठमाडौँ, नयाँबसपार्कको फुटपाथमा बसेर कपडा बेच्नु हो । तर, नचाहँदा–नचाहँदै उनले भोगिरहेको अर्को दैनिकी यो पनि हो । उनलाई यस्तो दृश्यले सधैँ अत्याउँछ । उनी दैनिक दर्जनौँ मोटरसाइकल यसरी दौडिएको देख्छिन् । 'मुटु नै कमाउने गरी कुदाउँछन् असतीहरू,' उनी आक्रोश पोख्छिन्, 'उनीहरू कुदाउँछन्, डर लाग्छ हामीलाई । चिन्ता गर्नुपर्ने हामीले । कस्तो जमाना आयो, बा ! '

ललितपुर, खरिबोटका दीप गुरुङ कार चलाउँछन् । काठमाडौँ, मैतिदेवीका सविन प्रसाईं पल्सर बाइक । यी दुवैलाई काठमाडौँको सडकमा आफ्नो साधन चलाउँदा एकदमै डर लाग्छ । डरको कारण हो– 'अरूको रफ राइडिङ' । 'यताउति नसोची रफ कुदाउने केटाहरूको बाइकले हान्लान् कि भन्ने डर लागिरहन्छ,' सविन भन्छन्, 'म त त्यस्ता बाइक देख्नासाथ बाटो छोड्दिन्छु । त्यस्तासँग जोरी खोजेर के फाइदा ?'

माया, दीप र सविनका मात्र भोगाइ होइनन् यी । शहरका सडकमा यतिबेला यस्ता चर्तिकला दैनिकजसो देखिन्छन् । यस्तो जमात पनि छ जो बिहान उठेदेखि राति नसुतिञ्जेलसम्म बाइक अर्थात् मोटरसाइकलकै बारेमा सोच्छ । अर्कोथरी जमात छ, जो बाइककै माध्यमले आफूलाई अरूभन्दा भिन्न देखाउन खोज्छ । अरूलाई आकर्षित पार्ने चाहना र अरूलाई गतिमा जित्न दिनु हुँदैन भन्ने अहम् बोकेर कुदाउनेहरू पनि यहाँ कम छैनन् ।
12782419 816448091798793 812717953 n
फरक देखिने होड

सुजुकी जिक्सर १५५ सिसी बाइकको मोडेल हो । बाइकको आवाज ठुलो बनाउन साइलेन्सरमा प्वाल पारिएको छ । पछाडिको सकअप उठाइएको छ । कभर निकालिएको छ । ह्यान्डल छोटो बनाइएको छ । नियोन लाइट थपिएको छ ।

यो काठमाण्डौँ, स्वयम्भूका आशिष खड्कको बाइकको स्वरूप हो । उनले आफ्नो बाइकलाई पूरै 'मोडिफाई' गरेर चलाइरहेका छन् । 'सडकमा गुड्दा अरूले हेरून् र युनिक देखिऊँ भनेर यसो गरेको हुँ,' उनी भन्छन्, 'गर्लफ्रेन्डले यसरी नकुदा त भन्छे । तर, मेरो इच्छा हो । आफ्नो इच्छाको अघि अरूले भनेको केही लाग्दैन ।'

उनीमात्र होइनन्, गाउँ–शहरमा अहिले बाइक 'मोडिफाई' गरेर कुदाउने युवा थुप्रै छन् । ट्राफिक प्रहरीको नजरमा यो गैरकानुनी भए पनि उनीहरूको आँखा छल्दै यस्ता बाइक सडकमा खुलेआम कुदेका पाइन्छन् ।

ललितपुर, टिकाथलीका आशुतोष खत्रीले ३२ वर्ष पुरानो होन्डा १२५ आर मोडेलको बाइकलाई पूरै मोडिफाई गरेर कुदाइरहेका छन् । 'कबाडी भइसकेको बाइकलाई पूरै मोडिफाई गरेको हुँ,' २१ वर्षीय उनले भने, 'बाइकको रिम, चेसिस, साइलेन्सर, कार्बोरेटर, वाइरिङ सबै नयाँ हालेको छु । मलाई बाइक हेर्दा चिटिक्कभन्दा पनि पर्फर्मेन्स चिटिक्क हुनुपर्छ भन्ने लाग्छ । यस्तो भयो भने रोडमा सबैभन्दा फरक पनि हुन सकिन्छ । अनि, सबैको नजर आफूतिरै पर्छ । ' चार वर्षअघि बाइक सिक्दा आफ्नो खुट्टाले बाइकको गियर भेट्न पनि मुस्किल पर्ने उनी यतिबेला बाइक रेसरका रूपमा पनि चिनिन्छन् । नेपालमा हुने चर्चित बाइक रेस प्रतियोगिता 'रेसमान्डु'मा दुईपल्ट भाग लिइसकेका उनी काठमाडौँभित्रै पनि १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा बाइक कुदाउने गरेको बताउँछन् । 'यो सेफ स्पिड होइन भन्ने त थाहा छ,' उनी भन्छन्, 'तर, के गर्ने बाइक रेसर न परियो । जति एक्सिलेटर बटारे पनि स्पिड पुग्दैन । ' दिनमा ३०÷४० किलोमिटर बाइक कुदाउने गरेको उनले बताए ।

पूर्वमा पनि 'बाइक मोडिफिकेसन' गरेर चलाउने ट्रेन्ड उत्तिकै प्रिय भइरहेको छ । दुई लाख खर्च गरेर आफ्नो बुलेट बाइक मोडिफाई गरेका धरानका योगेन राई यसलाई 'फरक देखिने सोख' भन्छन् । धरानमा मोडिफाइड बाइक कुदाउने बाइकरहरूको समूह नै छ, 'रोयल इस्टर्न इन्फिल्डर्स क्लब' । जसको अध्यक्ष पनि हुन् योगेन । 'यस्तो गर्नु कुनै अपराध होइन,' उनी भन्छन्, 'यो त आ–आफ्नो सोख हो । यसलाई 'मोडिफाई' भन्दा पनि 'कस्टमाइज' गरेको भन्दा सुहाउँछ । जसरी केटीहरू आफूलाई सुन्दर बनाउन मेकअप गर्छन्, नेल आर्ट गर्छन्, त्यसरी नै आफूलाई कुदाउन अनुकूल हुने बनाउने मात्र हो । यसबाट कसैलाई बेफाइदा छैन ।'

'बाइक'को माध्यमबाट फरक देखिने होडमा पोखराका युवाहरू पनि अगाडि छन् । पोखरामा चर्चित 'बाइक स्टन्टर'का रूपमा चिनिने प्रले गुरुङ पनि यो होडबाजीलाई स्विकार्छन् । 'मोटरसाइकललाई कहिले अगाडिको पांग्रा उठाएर कुदाउने, कहिले पछाडि उठाएर । अनि कहिले सानो ठाउ"मा फनफनी घुमाएर धेरैलाई चकित पार्ने । कहिले गुडिरहेको बाइकमा हात छोडेर उभिने । यस्ता काम मलाई सामान्य लाग्छन्,' २ सय एमएसको पल्सर बाइक कुदाइरहेका उनले भने, 'यो सब आ–आफ्नो रुचि रहेछ । पहिलेजस्तो स्टन्ट अहिले गर्न छाडेँ । यो सब युवावस्थाको जोश रहेछ । कुनै बेला मैले पनि बाइकमा रङ फरक र टायर ठूलो बनाएँ । यो सबै अरूभन्दा 'एक्स्ट्रा' देखिन गर्ने हो ।'

युवतीको ध्यान तान्ने प्रयास

काठमाडौँ, चाबहिलका समिर चापागार्इंले आफ्नो २०० सीसीको पल्सर बाइकको पछाडिको सकअप उठाएका छन् । किन ? 'केटाहरूको बाइक यस्तै त हो नि । अलिकति एक्स्ट्रा भयो भने केटीहरू पनि पट्टिने, कुदाउन पनि मज्जा आउने,' उनको निर्धक्क जवाफ छ ।

गाउँ–शहरमा थुप्रै बाइक राइडरहरू छन्, जो 'गलफ्रेन्ड'का लागि 'रफ' भइदिन्छन् । उनीहरूलाई दुर्घटनाको डर हुँदैन । बरु, प्रेमिकालाई खुशी पार्ने चिन्ता हुन्छ । यस्तै एकमा पर्छन्, काठमाडौँ, सामाखुशीका सुरेश तामाङ । 'हामी धेरैजसो गु्रपमा घुम्ने गर्छौं,' उनी भन्छन्, 'त्यतिबेला सबैको बाइक पछाडि आ–आफ्ना गलफ्रेन्ड हुन्छन् । कसले फास्ट कुदाउने भन्ने कम्पिटिसिन हुने गर्छ । मैले अरूलाई टपेँ भने गलफ्रेन्ड रमाउँछे, नत्र रिसाउँछे । उसलाई देखाउनकै लागि भए पनि म त ओभरस्पिड कुदाइदिन्छु ।'

भक्तपुर, गट्ठाघरका आकाश लिम्बूलाई 'स्लो' कुदाउनै आउँदैन । आरवान फाइभ बाइक कुदाइरहेका उनी भन्छन्, 'बूढो मान्छे जसरी बाइक कुदाउँदा त बिल्ला भइहाल्छ नि । अलि स्मार्ट भएर कुदाइयो भने पो केटीहरू पनि पट्टिन्छन्, मज्जा पनि आउँछ ।'

अहंकारको कुदाइ

सडकमा एउटा सवारीले अर्को सवारीलाई ओभरटेक गरेपछि सुरु हुन्छ, 'अहम्को कुदाइ' । दैनिकजसो देखिने दृश्य पनि हो यो । काठमाडौँ, सोह्रखुट्टेका समिर गिरीलाई बाइकको गतिमा अरूसँग प्रतिस्पर्धा गर्दा रमाइलो लाग्छ । 'म त रोडमा कम्पिटिसन गर्न पाउँदा इन्जोय गर्छु,' उनी भन्छन्, 'कसैले मलाई ओभरटेक गरेर जान्छ या मेरो अघि स्पिड कुदाउन खोज्छ भन्ने त्यसलाई छाड्ने त कुरै हुँदैन । टिट फर ट्याट, मेरो त फर्मुलै हो ।' अहंकारको कुदाइका कारण सडकमा रफ राइडिङ हुने गरेको राइडर्स अफ भक्तपुरका स्टन्ट कोअर्डिनेटर सुरज दण्डेगुलु स्विकार्छन् । भन्छन्, 'आफूलाई नोटिस गरोस् भनेर र इगो प्रोब्लमका कारण सडकमा रफ राइडिङ हुने गर्छ । यसरी कुदाउनु राम्रो होइन् । म पनि रेसर हुँ । स्पिड कुदाउन सक्छु । तर, सेफ राइडिङमै विश्वास गर्छु ।'

ट्राफिक फाइदा उठाउँछन्

एक महिनाअघि काठमाडौँस्थित न्युरोडबाट स्वयम्भूका अजय खड्का (नाम परिवर्तन) ट्राफिक प्रहरीको फन्दामा परे । कारण थियो– 'आफ्नो बाइकको साइलेन्सरमा प्वाल पार्नु र सक अप उठाउनु ।' 'पाँच हजार पैसा दे अथवा 'जस्तो थियो बाइक त्यस्तै बना' भनेर भन्यो,' उनले सम्झिए, 'मैले नमानेपछि १० दिन बाइक थुनिदिएको थियो । पछि त्यहीँ कार्यरत अर्को ट्राफिकलाई पाँच सय रुपियाँ घुस दिएर निकालेँ । केही चेन्ज गरिनँ । अहिले पनि यत्तिकै कुदाइरहेको छु ।' मोडिफाई गरिएका मोटरसाइकलबाट थुप्रै ट्राफिक प्रहरीले यसरी फाइदा उठाउने गरेको बताइन्छ ।

काठमाडौँ, चाबहिलका शुभम चापागाईं पनि यसरी छुटेका रहेछन् । 'मैले २०० सीसीको मेरो पल्सर बाइकमा पछाडिको सकअप उठाएको छु । त्यही भएर दुई हप्ताअघि बल्खुमा ट्राफिकले बाइक रोकिदियो,' उनले भने, 'जति भन्दा पनि छोडेन । रसिद पनि काटेन । अगाडिको पोलमा गएर पाँच सय रुपियाँ राख्न भन्यो । त्यसै गरेँ । अनि छुटँे ।' नियमअनुसार कारबाही नहुँदा सडकमा यसरी 'रफ राइडिङ'ले प्रोत्साहन पाइरहेको छ ।

जिन्दगी नै बाइक

शहरमा यस्ता जमात पनि छन्, जो बाइकलाई आफ्नो जिन्दगी ठान्छन् । उनीहरू आफ्नो अधिकांश समय बाइकसँगै बिताउँछन् । भक्तपुर, गोलमडीका २५ वर्षीय सुरज दण्डेगुलुले नौ वर्षको उमेरदेखि बाइक कुदाउन थालेका हुन् । नेपालका चर्चित स्टन्टरको परिचय बनाएका उनलाई बाइक नै जीवन लाग्छ । हाल यामाहा बाइक, भक्तपुरका हेड मेकानिक रहेका उनी भन्छन्, 'आमा बितेपछि पढाइतिर ध्यान गएन । सानैदेखि मोटरसाइकल वर्कसपमै काम गरियो । काम गर्दागर्दै स्टन्ट गर्न सिकियो । सुरुसुरुमा त कति लडियो, लडियो । धेरैले मूर्ख पनि भने । अब त मेरो जिन्दगी नै बाइक भइसक्यो । हरेक दिन कि म बाइक बनाइरहेको हुन्छु कि कुदाइरहेको हुन्छु कि त स्टन्ट गरिरहेको हुन्छु ।' उनले १३ वर्षमा नौवटा बाइक स्टन्ट गरेरै बिगारेको समेत खुलाए । 'म हरेक बाइक आफैँ मोडिफाई गरेर कुदाउँथेँ,' उनले सम्झिए । अहिले उनी क्रसफायर एक्स जेड २५० बाइक कुदाइरहेका छन् । जुन उनलाई कम्पनीले नै स्पोन्सर गरिदिएको उनले बताए । उनी बाइक स्टन्टका दुई दर्जनभन्दा बढी स्टेप गर्न सक्छन् । भन्छन्, 'म त सुत्ने टाइममा पनि बाइक, उठ्ने टाइममा पनि बाइककै बारेमा सोचिरहेको हुन्छु ।' भक्तपुर, श्रीविनायकका विवेक हेम्बा त बाइकलाई गलफ्रेन्ड नै ठान्छन् । राइडर्स अफ भक्तपुरको सदस्यसमेत रहेका उनी स्टन्टर र रेसर दुवै हुन् । 'मेरो फुर्सदको समय बाइकको बारेमा सोचेर, कुदाएर र स्टन्ट गरेरै बित्छ,' उनले भने । २० वर्षीय उनी मोडिफाई गरेर होन्डाको डियो स्कुटी चलाइरहेका छन् ।

गालीसाली बालै भएन !

जिन्दगी नै बाइक ठान्नेहरू सडकमा आफ्नो गतिलाई नियन्त्रण गर्न सक्दैनन् । हात एक्सिलेटरमा पुगेपछि जतिसक्दो स्पिडमा कुदाउने ध्याउन्नमा उनीहरू हुन्छन् । जसले अन्य सर्वसाधारणलाई आतंकित नै पार्छ । धेरैले त्यसरी आतंकित पार्ने गरी मोटरसाइकल कुदाउनेहरूलाई गाली गर्ने गरेको पाइन्छ, सरापेको सुनिन्छ । तर, त्यसको मतलब गर्दैनन् मोटरसाइकल चालक । 'आफ्नो बाइक हो, आफ्नो इच्छाअनुसार कुदाइन्छ । अरूको मतलब लाग्दैन,' आशिष खड्काको जवाफ छ । 'मलाई बाइक कुदाउन जत्तिको आनन्द केहीमा लाग्दैन,' काठमाडौँ, मनमैजुका श्रीशेष शाह भन्छन्, 'उपत्यकामा ७०÷८० किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा कुदाउँछु । बाहिर २ सय ३६ सम्म पु¥याएको छु । आफू सुरक्षित भएर कुदाइन्छ । अरूको गालीसाली बालै भएन । अरूले गाली गरिञ्जेलसम्म त म कहाँ अगाडि पो पुगिसक्छु ।'

आफैँ मेकानिक, आफैँ स्टन्टर

एक वर्षअघिसम्म काठमाडौँ, कपन बस्दै आएकी सजनदेवी सरदारलाई आफ्नो छोरा रमानन्द कतिखेर घर फर्किन्छ भन्ने चिन्ता हुन्थ्यो । रमानन्द बाइक स्टन्टर हुन् । 'छोरो कति खेर आउँथ्यो भनेर मुटु ढुकढुक हुन्थ्यो,' उनले भनिन्, 'धेरैपल्ट 'मर्लास्' भन्दै स्टन्ट नगर् पनि भनेँ । मानेन । अहिले त ट्यालेन्ट भा'छ । मलाई नि डर लाग्दैन ।' कपनमा रमानन्दको आफ्नै मोटरसाइकल वर्कसप पनि छ । सात वर्षदेखि बाइक कुदाउन थालेका उनले डेढ वर्षयता स्टन्ट पनि गरिरहेका छन् । यस्तो जोखिम मोल्दा डर लाग्दैन ? 'लाग्न त लाग्छ । तर, चाहनाले डरलाई जित्छ,' उनको आत्मविश्वासपूर्ण जवाफ छ ।

कपनमै बस्दै आएका रामेछापका विवेक आयु पनि विगत १५वर्षदेखि बाइकमै भविष्य खोजिरहेका छन् । उनले स्टन्ट गर्न थालेको नै १२ वर्ष भयो । 'आफ्नै तीनटा बाइक ढुटो भयो । साथीको त कति बिगारियो कति,' उनी भन्छन्, 'अब त बाइकसँग खेल्नु, बाइकसँग चल्नु नै मेरो जीवन भइसक्यो । आफैँ बनाउँछु पनि, आफैँ उडाउँछु पनि ।' २०६८ सालमा आयोजना भएको बाइक स्टन्ट वारमा उनले फस्ट रनरअपको उपाधिसमेत जितेको बताए । उनी काठमाडौँको सडकमा ८०÷९० को स्पिडमा बाइक कुदाएको बताउँछन् । 'म सुरक्षित चालक हुँ । तर, सामान्य चालकले मलाई भेट्दैन,' उनको जवाफ छ ।

बढ्दै लेडी राइडर्स

महिला पनि सडकमा ओभरस्पिडमा कुद्न थालेका छन् । महिला बाइक रेसमा तीनपल्ट उपाधि उचालिसकेकी काभ्रे, धुलिखेलकी दीक्षा श्रेष्ठको त लक्ष्य नै 'खतरा बाइकर' बनेर नाम कमाउने भइसक्यो । ड्युक, केटीएम, एफजीएस जस्ता हेभी स्पोटस बाइकहरू कुदाइसकेकी उनी स्टन्ट पनि गर्छिन् । हरेक दिन कम्तीमा दुई घण्टा बाइक कुदाउने गरेको उनी बताउँछिन् । उनलाई ठूलो आवाज आउने बाइक स्पिडमा कुदाउँदा मज्जा लाग्छ । 'जति ठूलो साउन्ड हुन्छ, बाइक कुदाउन त्यति मज्जा हुँदो रहेछ,' २० वर्षीया उनी भन्छिन्, 'मैले ११८ को स्पिडसम्म बाइक कुदाएकी छु ।'

स्टाइलिसमा आकर्षण

बाइकलाई मोडिफाई गरेर स्टाइलिस बनाउने युवाहरू शहरमा घट्दै गइरहेको पनि पाइयो । कारण– बजारमा स्टाइलिस बाइक भित्रिनु । क्लासिक विलले यूकेको चर्चित ब्रान्ड क्रसफायरका दुइटा मोडेलको बाइक भिœयाएकोे छ । जसमा पछिल्लो समय युवाहरूको आकर्षण बढेको कम्पनीका प्रबन्ध निर्देशक दोर्जे वाङ्चुक लामाले बताए । सोही कम्पनीले भर्खरै इटालजेट २५० आई मोडेलको स्कुटी पनि भिœयाएको छ । इटालजेटकै बाइक पनि युवाहरूले मन पराएका छन् । 'मोडिफाई गरेर बाइक कुदाउनेका लागि हाम्रा बाइक राम्रो विकल्प भइरहेका छन् । बाइकको लुक्स, पावर र साउन्ड नै प्रमुख आकर्षणको कारण हो,' लामाले भने । त्यस्तै, केटीएम र ड्युकका बाइक पनि बाइक राइडर्सको रोजाइ बनिरहेका छन् । यी बाइकलाई हँसराज हुलासचन्द प्रालिले नेपालमा भित्र्याएको हो । 'युवा पुस्तामा यस्ता बाइकका माग र चर्चा बढी छ,' कम्पनीकी सिनियर सेल्स अफिसर संगीता शाहले भनिन् ।

 

‘मेरो बाइक, मेरै स्पिड’

आशिष खड्का, राइडर

बाइक कुदाउन थालेको कति वर्ष भयो ?


आफ्नै किनेर कुदा’को पाँच वर्ष भयो । एसएलसी पछि हो ।

साइलेन्सरमा प्वाल पार्नुभएको रहेछ । पछाडिको सकअप पनि उठाउनु भएको रहेछ । यस्तो गर्न पाइन्छ र ?
मोडिफाई गरेको हुँ । त्यतिमात्र होइन, ह्यान्डल पनि छोटो बना’को छु । नियोन लाइट पनि राखेको छु । सडकमा गुड्दा अरूले हेरून् र अरूभन्दा युनिक देखिऊँ भनेर यसो गरेको हुँ ।

कतिको स्पिडसम्म बाइक हाँक्नुभएको छ ?  
काठमाडौँ भ्यालीभित्र एक सयसम्मको स्पिड हुन्छ । अहिलेसम्म १ सय २७ सम्मको स्पिडमा बाइक कुदाएको छु ।

अरूलाई आतंकित पार्ने गरी बाइक कुदाउन पाइन्छ त ?
आफ्नो बाइक हो, आफ्नो इच्छाअनुसार कुदाइन्छ । अरूको मलाई के मतलब ?

अनि, नियम–कानुन त मान्नुपर्ला नि ?
यहाँ कसले नियम–कानुन मानेको छ र ? मलाई देखाउनुस् न । आफ्नो बाइक आफ्नो इच्छाअनुसार कुदाउनु अपराध हो र ? मेरो बाइक, मेरो स्पिड । कसैलाई नहाने भइगो नि ।

सडकमा ठूलो आवाज र ओभरस्पिडमा बाइक कुदाउँदा देख्नेले  सराप्छन् नि !
बालै हुँदैन । हेल्मेट लाकै हुन्छ । सरापेको थाहा त हुन्छ, तर के भन्यो ? सुनिँदैन । त्यतिञ्जेल त कहाँ अगाडि पुगिसकिन्छ ।

दिनमा कति किलोमिटर कुदाइन्छ त बाइक ?
बिहानदेखि बेलुकासम्म बाइकसँगै हुन्छु । १ सय १० किलोमिटरसम्म कुदाइन्छ । भर्खरै मैले तीन हप्तामा तीन फुल ट्यांकी पेट्राल सक्काएँ ।

यत्रो खर्च गर्ने पैसा कहाँबाट आउँछ ?
बुबाआमा दुवै सरकारी जागिरे हुनुहुन्छ । पैसा उहाँहरूबाटै आउने त हो नि ।

यसरी बाइक कुदाउँदा कसैले गाली गर्दैनन् ?
गलफ्रेन्डले यसरी नकुदा त भन्छे । तर, मेरो इच्छा हो । आफ्नो इच्छाको अघि अरूले भनेको केही लाग्दैन । मनको सन्तुष्टि नै ठूलो कुरा हो ।

तपार्इंको जीवनको लक्ष्य चाहिँ के हो ?
बाइक रेसर बन्ने । नेपालमा अहिलेसम्म त खासै अवसर छैन । बिस्तारै होला नि ।

प्रकाशित: ६ चैत्र २०७२ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App