हिजोआज के पढ्दै हुनुहुन्छ?
केही छैन। साँच्चै भन्ने हो भने मैले पढ्न छाडेको धेरै भयो।
नपढीकन गहन किताब र लेखहरू कसरी लेख्न सक्नुभयो त?
मेरो ज्ञानको आधार भनेको विद्यार्थीकालमा मैले पढेका किताब हुन्। त्रिभुवन विश्वविद्यालयबाट 'नेपाली इतिहास, संस्कृति र पुरातत्व' विषयमा स्नातकोत्तर गर्दा मैले खूब पढेँ। विद्यावारिधि गर्दा भारततिरका स्तरीय किताब पढ्ने मौका मिल्यो। त्यतिबेला पढेका किताब नै अहिलेका मेरा लेखाइका मूल स्रोत हुन्।
आफूलाई अध्यावधिक राख्न पनि पढिरहनुपर्दैन र?
राजनीति, साहित्य आदिमा मेरो रुचि छैन। राजनीति परिवर्तन भइरहने भएकाले यसको प्रवाह र गति बुझ्न आफूलाई अध्यावधिक राख्नुपर्छ। साहित्यमा पनि अनेक वाद, विचारधारा आउने क्रम चलिरहन्छ। मैले गर्ने भनेको शास्त्रहरूको अध्ययन हो। मूल शास्त्र र यसका व्याख्या आदि पढेर आफ्नो क्षमताले भ्याएसम्म व्याख्या गर्ने हो। यसमा खासै अध्यावधिक रहनुपर्छ जस्तो मलाई लाग्दैन।
किताब ठ्याम्मै पढ्न छोडेको कति जति भयो?
पढ्न ठ्याम्मै छोडेको त नभनौँ। केही लेख्न बस्नुपर्योम भने सन्दर्भ–सामग्री जुटाउन किताब पल्टाउने गर्छु। कुनै घतलाग्दो किताब फेला पारेँ भने सर्सर्ती पढ्छु। शिरदेखि पुछारसम्म डिटेलमा नपढेको चाहिँ धेरै भयो। किताब पढ्न बस्दा आफूलाई उपयोगी हुने खालका महत्वपूर्ण कुरा कतै छन् कि भनी सर्सर्ती हेर्ने गर्छु। किताब खर्लप्पै पढिनसिध्याएको चाहिँ वर्षौं भयो।
पठनसँग यस्तो मोहभंग किन?
आफ्नो रुचिका किताब नछापिएर पनि होला। मैले पढ्न चाहेका जस्ता किताब नेपालमा खासै लेखिँदैनन्। भारतमा लेखिएका त्यस्ता किताब किनेर ल्याएको छु। बेलाबखतमा ती किताब पढ्ने गर्छु।
कुन विषयका किताब बढी रुचाउनुहुन्छ?
दर्शन र तन्त्रका किताब। भागवत् गीताको व्याख्या गरिएका किताबमा पनि मेरो अभिरुचि छ। चण्डी, देवी अथर्वशिष पनि पढिरहन्छु।
कुन लेखकबाट बढी प्रभावित हुनुहुन्छ?
डा. गोविन्दचन्द्र पाण्डेय र डा. गोपीनाथ कविराज। उनीहरूभन्दा पनि बढ्ता चाहिँ डा. पाण्डुरंग वामन काणेबाट प्रभावित छु।
तपाईंलाई बढी प्रभावित गर्ने केही किताब?
धेरै छन्। डा. पाण्डुरंगले पाँच भोलुममा 'हिस्ट्री अफ धर्मशास्त्र' लेखेका छन्। विद्यार्थीकालमा बढो चाख मानेर मैले सबै भोलुम पढेको थिएँ। उनका किताब भारतीय दर्शन, इतिहास र संस्कृति बुझ्न सहायक हुन्छन्। यिनमा तन्त्र, धर्म, ज्योतिषशास्त्र, दर्शन सबै छन्।
रथी धमशमशेर जबराको 'प्रबुद्ध सनातन रहस्यम्' र 'नित्राम आगमव वैज्ञानिक सार' पनि घतलाग्दा छन्। नेपालको संस्कृति तन्त्रमय छ। यी किताबले नेपालको तन्त्रबारे बुझ्न सहयोग गर्छन्। धेरै विद्वान्ले यी किताबका नाम सुनेका पनि छैनन्।
बौद्धमत बुझ्नु छ भने डा. गोविन्दचन्द्र पाण्डेयले लेखेको 'बौद्ध धर्म के विकासका इतिहास' महत्वपूर्ण किताब हो। डा. गोपीनाथ कविराजले पनि स्तरीय किताब लेखेका छन्। जसमध्ये 'भारतीय संस्कृति और साधना', 'भारतीय साधनाकी धारा', 'तन्त्र और आगमशास्त्र के दिग्दर्शन', 'क्रम साधना', 'तान्त्रिक साधना और सिद्धान्त' केही हुन्।
धर्मसंस्कृतिमा अध्ययन केन्द्रित गर्नुभएको छ, तर इतिहासको पनि ज्ञाता हुनुहुन्छ। यो कसरी सम्भव भयो?
म आफूलाई इतिहासको ज्ञाता मान्दिनँ। इतिहासबारे आफूले जानेका केही कुरा लेख्ने, बोल्ने गरेको मात्र हो। स्नताकोत्तरको मेरो विषय नेपाली इतिहास पनि हो। त्यही भएर नेपाली इतिहासबारे अलि–अलि थाहा भएको मात्र हो।
'तमुवानको ऐतिहासिक वृत्तान्त' र 'नेपालको एकीकरणमा गुरुङहरूको भूमिका'जस्ता किताब लेख्ने ज्ञानको आधार विश्वविद्यालयको औपचारिक पढाइमात्र हो त?
हो। विद्यार्थीकालमा अचाक्ली नै पढियो। आफूभन्दा सिनियरहरूले बनाएको नोट्स पढेर मैले परीक्षा दिइनँ। मूल ग्रन्थहरूको अध्ययन गरेर आफैँ नोट्स बनाएँ।
३१ वर्षको भएपछि मैले एमए सुरु गरेँ। त्यतिबेला पढ्नेबाहेक अरू कुरामा मेरो ध्यान गएन। एमएको अन्तिम परीक्षा दिने बेला श्रीमती घर गएकी थिइन्। डेरामा म एक्लै थिएँ। बिहान, दिउँसो, बेलुका डेरामा पढ्थेँ। खाना खान त्रिवि होस्टेल जान्थेँ।
अन्तिम परीक्षा सकिएर घर फर्किंदा मात्रै पढाइले म भित्रैदेखि कति कमजोर भइसकेको रहेछु भन्ने बोध भयो। खुट्टा लरबराएर लड्छु जस्तै भयो। डेरा आएर हेर्छु त कोठैभरि माकुराको जालो लागेका रहेछन्। परीक्षा नसकुञ्जेल आफू कमजोर भएको, कोठा त्यस्तो भद्रगोल भएको भेउसम्म पनि पाएको थिइनँ।
पढाइ सिध्याएपछि मैले प्राध्यापन सुरु गरेँ। आफूले विद्यार्थी छँदा बनाएको नोट्सलाई आधार बनाएर विद्यार्थीलाई पढाउन खोज्दा विद्यार्थीले असहज महसुस गरे। उनीहरूका लागि मेरो नोट्स निकै गह्रौँ भएछ।
किताब लेख्दाखेरि सन्दर्भ–सामग्रीको खोजी नगर्ने गरेको होइन। तर, आधार भने विद्यार्थीकालमा पढेका किताब नै भएका छन्।
इतिहास बुझ्न चाहनेलाई केही किताब सिफारिस गर्नुपर्यो भने?
विश्व इतिहासबारे मलाई त्यति थाहा छैन। नेपालको इतिहासबारे चाहिँ केही लेख्न, बोल्न सक्छु। इतिहास संशोधन मण्डलले निकालेको 'इतिहास संशोधनको प्रमाण–प्रमेय', संशोधन मण्डलले निकालेको 'पूर्णिमा' पत्रिकाका अंकहरू, गोपाल वंशावली, भाषा वंशावली, देवमाला वंशावली, हिमवतखण्डपुराण, पशुपतिपुराण, नेपाल महात्म्य, गण्डकी महात्म्य, डेनियल राइटको 'हिस्ट्री अफ नेपाल' आदि पढियो भने नेपाली इतिहासबारे धारणा बनाउन सकिन्छ।
भाषा वंशावली शैव परम्पराको वंशावली हो। डेनियल राइटले 'हिस्ट्री अफ नेपाल' लेखेका होइनन्, अनुवाद गराएका हुन्। स्वयम्भूपुराणमा आधारित बौद्ध परम्पराको वंशावलीलाई राइटले अंग्रेजीमा उल्था गराएका मात्र हुन्। यसबाहेक डिल्लीरमण रेग्मीको 'एन्सियन्ट नेपाल', 'मिडिभल नेपाल', 'मोडर्न नेपाल' र सूर्यविक्रम ज्ञवालीको 'काठमाडौँ उपत्यकाको मध्यकालीन इतिहास' उपयोगी छन्। धनवज्र वज्राचार्यले तयार पारेका लिच्छवीकालीन अभिलेख, मध्यकालीन अभिलेख, शाहकालीन अभिलेख आदि पनि उपयोगी छन्।
गुरुङ परिवारमा जन्मिनुभएको हो। सँगैका साथी लाहुरतिर गए होलान्। तपाईं चाहिँ प्राज्ञिक क्षेत्रमा कसरी आकर्षित हुनुभयो?
लाहुर जाने चाहना ममा कहिल्यै पलाएनँ। सानो छँदा खेलकुदमा पनि उति साह्रो चाख राख्दिन थिएँ। बूढाबूढीसँग कुरा गर्न, पुराना कुरा खोतल्न बढ्ता चाख राख्थेँ। पुरेत, जोगी, सन्न्यासीहरूसँग संगत गर्न पाउँदा रमाउँथेँ। पछि पोखरा बसेर पढ्न थालेपछि नेवार वृद्धहरूसँग संगत भयो। यसले संस्कृति र पुराना कुराप्रति मेरो अभिरुचि थप बढ्यो।
घरको वातावरणलेे पनि मलाई शास्त्र र संस्कृतिको अध्ययनमा लाग्न प्रेरित गरे जस्तो लाग्छ। मेरा जेठाबा गाउँका मुखिया र कोटको मिर उमरा (प्रमुख व्यक्ति) हुनुहुन्थ्यो। झारफुक, तन्त्रमन्त्र पनि गर्नुहुन्थ्यो। उहाँको र हाम्रो घरको आँगन जोडिएको थियो। उहाँको काम र गतिविधिले मेरो कलिलो मस्तिष्कमा त्यतिबेलै प्रभाव छोडेको पनि हुनसक्छ।
ज्योतिषशास्त्रमा पनि चाख राख्ने गर्नुहुन्छ, होइन र?
तन्त्रसाधनामा पहिले चासो राख्थेँ, अहिले राख्दिनँ। हस्तरेखा विज्ञानमा पनि चाख छैन। जन्मकुण्डली हेर्ने ज्योतिषशास्त्रमा भने रुचि छ। चिना हेर्ने पनि गर्छु।
संस्कृति र इतिहासबारे अनुसन्धान गर्नुहुन्छ। ज्योतिषशास्त्रमा पनि रुचि छ भन्नुहुन्छ। कुरा अमिल्दो भएन र?
ज्योतिषशास्त्र पनि विज्ञान नै हो। आमाको योनीबाट बाहिर निस्किँदा ग्रह, नक्षत्र आदि कुन ठाउँमा छन् भन्ने कुराले मानिसको चरित्र र व्यक्तित्वमा असर गरेको हुन्छ। ज्योतिषशास्त्रले मानिसको जन्म हुँदा ग्रह, नक्षत्रादि पृथ्वीबाट कति टाढा अथवा नजिक थिए भन्ने कुरा पत्ता लगाई यसैका आधारमा मानिसको चरित्रादिबारे व्याख्या गर्छ।
ज्योतिषशास्त्रसम्बन्धी केही किताब सिफारिस गर्नुपर्यो भने?
परासर ऋषिले लेखेको भनिएको 'बृहत् परासर होरा शास्त्र'। अर्को महत्वपूर्ण किताब 'मानसागरी' हो। बराह मिहिरले लेखेको 'बृहत्जातक' पनि उपयोगी छ। नेपाली भाषामा मणिप्रसाद त्रिपाठीले लेखेको 'त्रिकालज्योतिष दर्पण' र बनारसबाट छापिएको 'ज्योतिष सार' पनि राम्रा छन्।
किताबपसल पुग्नुभयो भने रुचिका किताब कत्तिको फेला पार्नुहुन्छ?
खासै पार्दिनँ। भारतको गोरखपुर प्रेसबाट निस्किने 'कल्याण' म्यागजिन चाहिँ भेट्नासाथ किनिहाल्छु। यो उपल्लो कोटीको म्यागजिन हो। यसले निकालेका 'गणेश अंक', 'शिव उपासना अंक' 'हिन्दू संस्कृति अंक', 'उपनिषद् अंक' आदि मसँग छन्। यी स्तरीय छन्। तर, हिजोआज 'कल्याण'का अंक पनि स्तरीय हुन छाडे।
हिजोआज के लेख्दै हुनुहुन्छ?
विभिन्न समयमा लेखेका किताबहरूको सँगालो निकाल्न खोज्दै छु। यसको शीर्षक 'चिन्तन चुणामणि' राखेको छु। यसबाहेक कसैले मागे भने लेख लेखिदिने गरेको छु।
अनुसन्धान गर्न मन लागेको विषय कुनै छ?
संसारले नगरेको एउटा काम गरेरै छोड्ने अठोट लिएको छु। नेपालको राष्ट्रिय समीकरणमा अखण्ड शिव–बुद्ध समन्वयवादको भूमिका विषयमा अनुसन्धानमूलक किताब लेख्ने योजना छ। जीवनभर गरेको अध्ययन, चिन्तनमनन आदिको निचोड यो किताबमा निकाल्ने अठोट गरेको छु।
कुन अर्थमा तपाईंको यो किताब संसारमै नौलो हुनेछ?
शैव र बौद्धमत बीचको अन्तरसम्बन्ध धेरैलाई अनौठो लाग्न सक्छ। यस्तो अनौठो अभ्यास नेपालमा उहिल्यैदेखि हुँदै आएको छ।
किताबभित्रको एउटा खण्ड नेपालमा शैव र बौद्ध मतको विकास हुनेछ। यो खण्ड लेखिसकेको छु। शैव दर्शन र बौद्ध दर्शनबीचको अन्तरसम्बन्धबारे आधाजति लेखेर भ्याइसकेको छु। शैवतन्त्र र बौद्धतन्त्रको अन्तरसम्बन्धबारे २५ प्रतिशतजति लेखिसकेको छु। शैव र बौद्ध मतको अन्तरसम्बन्धलाई नेपाली मानसिकताले कसरी स्वीकार गरेको छ भन्नेमा काम गर्न बाँकी छ। नेपाल राष्ट्रको निर्माण तथा नेपाली राष्ट्रियताको प्रवर्धन र विकासमा यसले कसरी टेवा पुर्याायो भन्ने किताबको निचोड हुनेछ।
सन्दर्भ–सामग्री नभएर किताबको काम अघि बढ्न नसकेको हो?
होइन। फुर्सद नभएर हो। जागिर र रोजीरोटीको चक्करमा लाग्नुपर्दा समय निकाल्न पाएको छैन। किताबमा राख्नुपर्ने प्रशस्तै कुरा अध्ययन र अवलोकनमार्फत संकलन गरिसकेको छु।
शैव मत र बौद्ध मतबीच नेपालमा कस्तो समन्वय देख्नुभएको छ?
पशुपतिनाथ नेपालमा छन्। बुद्धको जन्मथलो लुम्बिनी पनि यहीँ भएकाले यहाँ शैव मत र बौद्ध मतको प्रभाव बलियो छ। यी दुई मत बीचको समन्वयका उदाहरण नेपालमा प्रशस्तै छन्, जसबारे त्यति चर्चा हुन पाएको छैन।
पशुपतिनाथको दक्षिण मुख अघोरलाई नेपालका वज्रयानी बौद्धहरूले वज्रपाणि बोधिसत्व मान्छन्। वर्षको एकपटक कात्तिक शुक्ल अष्टमीको दिन पशुपतिनाथलाई पञ्चरंगी धागो र पञ्चरंगी कपडाले बुनेको मुकुट लगाइदिने गरिन्छ। त्यो मुकुटलाई पञ्चध्यानी बुद्धको प्रतीक मानिन्छ। त्यस दिन पशुपतिनाथलाई बुद्धको अवतारका रूपमा पूजा गर्ने गरिन्छ। शैवतन्त्रमा गुहेश्वरी भनी पुजिने पीठलाई बौद्धतन्त्रमा खागनन भनेर पुजिन्छ। यस्ता उदाहरण थुप्रै छन्।
प्रकाशित: ४ चैत्र २०७२ ००:५८ बिहीबार





