'हिजो निक्कै लागेछ ! मैले केहि त गरिन नि ?'
भोलिपल्ट बिहान एकैछिन लज्जावती झार झै भैदिन्थ्यो सीताको सामुन्ने । जहाँ आशा हुन्छ त्यहि बिस्वासले गुँड लगाउँछ र त्यहि गुँडमा जन्मिन्छन् बचेरा । कति मात्रै गारो गारो स्वास्नीहरुलाई बचेरा हुर्काउन, काला कागसँग बचाउँदै । त्यसमाथि पनि रामहरु दिनभर वनबास जान्छन् र राति मात्रै फर्किन्छन् । त्यो बेलासम्म बचेरा गुँडमा निदाई सकेका हुन्छन् । जागै हुन्छन् त सीता र उसका गर्भिणी सपनाहरु । अहिलेसम्म उसले कति सपना जन्मिनु अगावै तुवाई होला कुभिन्डो ख्वाएर ! कति सपनाका कलिलै उमेरमा भाँचिए होलान् हातखुट्टा ! कति सपनासँग प्रेम हुन थालेपछि बिछोड भयो होला ! यतिबेला गर्भिणी सपना तुइन नदिन, हुर्किदै गरेका सपना भत्किन नदिन ऊ हर प्रयत्नमा छे । सपना बस्ने कोख हुँदो हो त सन्तानसँगै हुर्किएर स्कुल जान्थे होलान् सपना पनि । छोराछोरी फर्किदा लुरुलुरु फर्किन्थे होला सपना पनि कि फर्किन्थे रामसँगै योवन बोकेर लमक लमक ! जे होस यथार्थमा ऊ बाँचेकी छे त तिनै सपना हुर्काउन ।
५३ सालतिर म उसकी नजिककी साथी बने । हामी एउटै घरमा बस्थ्यौं । उसको कोठामा रँगिन टिभी थियो । मेरो भने एउटै कोठामा सबै अटाएकी थिएँ, यहाँसम्म कि मेरा सपना पनि त्यहिँ छरपस्ट थिए । तर उसका अलग अलग कोठा थिए । सुत्ने, पकाउने, बस्ने र ग्यारेज ।
्आर्मिको लक्का जवान मोटरसाइकलको धुँवा उडाउँदै आउँथ्यो घरमा र कोठाभरी छोड्थ्यो पाँचसय पच्चपन्न चुरोटको धुँवा । काठमाडौंमा सारै धेरै कारोबार भएको हुनुपर्छ त्यो बेला जग्गाको । त्यसैले त राम रिटायर्ड हुनु पहिल्यै जागिर छाडेर जग्गाको काम गर्न थाल्यो ।
सामान्य आवस्यकता पुरा भएपछि अनावस्यक लहरामा झुन्डिन थाल्दो रहेछ मान्छे । कति माथि पुगिन्छ भन्ने लागेर होला कि ? लहरा चुँडिएको दिन कि मर्छन कि अपाङग बन्छन । उसो त यो शहरका मान्छे अनावस्यक चाहनाको बजार थापेर रातभरी सुत्दैनन् । कोहि जुवा खेलाउछन हातमा लाइसेन्स लिएर । कोहि अर्चना पनेरुहरु खेलाउँछन् बिना लाइसेन्स पिएर । यहाँ जस्तो खेल खेलाउन पनि छुट छ । यत्ति हो हातमा पैसा वा क्रेडिट कार्ड हुनु जरुरी छ ।
'यो घुँडामा कसरी माटो लाग्यो बुढा ? कहाँ जानु भाको थियो हौ ?'
'एउटी मोरङकी ठिटीलाई लिएर बुढानिलकन्ठ माथि जंगलमा घुमेर आको ए ....घुँडामा पनि पो लागेछ ? ऊ फिस्स हाँस्यो सीतातिर फर्केर । सीताले पनि हाँसि । झ्यालबाट हेरिरहेकी म अवाक बने । आफ्नै स्वास्नीलाई कसरी अर्किसँग सुतेर आएँ भन्न सक्छ यो मान्छे ? अनि कसरी यति सहज हुन सक्छे यो कुराले सीता ? मनको पैरोमा के के बग्यो के के त्यो दिनभर मेरो ।
राम निस्किएपछि सीता नजिक गएँ । उसको अनुहारमा कत्ति रिस थिएन । हेरेको हेरेकै भैछु म उसलाई, उसैले पो झस्काई ।
'किन ट्वाँ.....पर्या ?'
तिमीलाई बुढा देखि रिस उठ्दैन ?
'ए.......के रिसाउनु ? केटा मान्छे यस्तै हुन्, बारका घोचा ! मलाई हेला गर्नु हुन्न, घरमा कोहि केटी बोकेर आउनुहुन्न बाहिर त जे गरुन् नि ! छोराछोरीलाई कत्ति माया गर्नु हुन्छ तिमीले देखेको छ नि ?'
उल्टै मलाई पो प्रश्न गरि उसले ।
मनभित्र सीताप्रति केहि प्रश्न उठे र तिनको उत्तर खोज्न उसका आफन्तसँग उसको मैले नदेखेको पाटोबारे जानकारी लिएँ । उसमा केही खोट थिएन ।
ऊ बाँधीएकी थिई त धर्म र कर्मले ।
बिहानै देवता थानबाट सबै भाँडा निकालेर टल्काउनु, चोखो पानी थाप्नु, चढाउने फुल जोहो गर्नु, घन्टी बजाउदै पुजा गर्नु र मात्र मुखमा चिया हाल्नु उसको दैनिकी हो । तर उसको राम ओछ्यानमै चिया पिउथ्यो । मान्छे भन्थे – सीता असाध्यै धार्मिक र मनकारी भएकाले रामले प्रगती गरेको हो । लोग्नेकै लागि हप्तामा २ दिन ब्रत बस्थी ऊ ।
५४ सालको तिज नजिकिँदै गर्दा रामले सीताका लागि एउटा नेकलेस बनाएर ल्याइदियो र आफैले लगाइदियो घाँटीमा ।
'क्या च्वाक छ है मेरो बुढी ? रामले मतिर हेर्दै आँखा झिम्कायो ।'
दाई पनि च्वाँक नै हो हुन त तर.....!!
'के तर ?'
एकदुइटा कुरा गढबढ छ दाईको ।
'होला होला .....' ऊ लुसुक्क कोठाभित्र गयो, सायद ऊ म देखि भन्दा पनि मेरो बानी व्यहोरादेखि डराउँछ क्यारे ! प्वाक्क जो भन्दिहाल्छु मुखैमा ।
घरभरी बस्ने महिला त्यो साल धुमधामले तिजमा ब्रत बस्ने भए । मलाई पनि कर गरेर ब्रत बस्न लगाई सीताले । उसैले किनेर ल्याई के के चाहिन्छ, सबै सामान । ब्रतको दिन केहि खान दिइन । बिहान ४ बजे नै सबै उठेर धारामा नुहाउन बसे । पहिले रातो माटोले यौनाङ धुन लगाई उसले र फेरी स–साना टुक्रा पारेर राखेको दतिउनले चोखो चोखो भन्दै तीनसय चौसठ्ठी पटक धुन लगाई । तीस पटक पनि धुन सकिन मैले, अरुले ३६५ पटक नै दले दतिउन ।
'हैन अई सीता हामीले कसरी कसरी फोहोर गरेका हुन्छौं र पाप कटनि गर्न यत्रो दतिउन लाउने अनि हाम्रा पतिहरुले चाँहि पाप गर्दैनन् ?'
हैन हौ ! हामीहरु महिनै पिच्छे नछुने हुन्छौ त्यो नछुने हुँदा जानि नजानि कति छुनु हुने नहुनेलाई छोएका हुन्छौ त्यहि पाप कटनी गर्न हो कया !
'धत् !! हामिले पाप हैन धर्म गरेका छौ । हामी नहुन्थ्यौ त कसरी चल्थ्यो यो सृष्टि ? कसरी बाउ हुन्थे हाम्रा लोग्नेहरु ?'
कहिल्यै तिजको ब्रत नबसेकी मैले त्यो पहिलो दिन बसेको ब्रत पनि बिचैमा तुवाए आफैले । अरु हरेक कुरामा सीता मेरो साथी हुन्थी तर धार्मिक कुरामा म कहिल्यै उसकी साथी हुन सकिन । मैले कहिल्यै प्रयत्न पनि गरिन । ऊ जसरि आउथे चाडबाड संस्कारी भएर मनाउँथि । म सिर्फ मान्छे भएर मनाउँथे ।
'हैन जाउँ हौ पशुपति मेला पनि लागेको छ, सिसाको कप गिलास, सस्तोमा पाउँछ', शिबरात्रीको एक दिन अघि उसले मलाई आग्रह गरि । वरिपरी कोठामा बस्नेहरु मिलेर मेला हेर्न गयौ ।
मेरिबास्सै .......कहिल्यै नदेखेका दृश्यहरु बाटोभरी । हामी आफै पानी पानी भयौ र बग्यौ तर ति जोगी भने झन हामी नजिक आए । कसैले ठुलो सर्प बोकेका त कसैले खरानी । कोहि कोहि त शरिर पुरै नाङैँ, सानु नानिले कन्दनी लगाए जसरी एउटा मसिनु डोरी कम्मरमा बाँधेको छ, तुन्द्रोङ झुन्डिएको यौनाङ छेडेर ताला झुन्डाएको छ र त्यहि कन्दनीमा चाबी भिरेको । अहो ! यो के देख्नु प¥यो ? अझ कति महिला त उनीहरुलाई नै ढोगिरहेका ! लौ न ! शरीरका अङग् नदेखाएरै मनले ताला लगाए त भै गो नि ! यो सब रमिता किन देखाउनु प¥यो र ? मैले बलत्कारी धर्म गुरुलाई सम्झिए । मलाई कन्पारो तातेर आयो, जताततै शिव शिव भन्दै आधा बेहोसिमै हिँडिरहेका शिवभक्त देखेर धार्मिक किताबमा अधिपत्य जनाएका शिवसँग उठ्नु रिस उठ्यो । किन खानु प¥या होला भाङ धतुरो ? के पिडा हुन्थ्यो र भगवान मात्तिन्थे ? सारा कुरा चिताउनासाथ पुरा गर्न सक्छन् भन्ने भगवानले किन यसो गरेका ? के मातेकै भरमा सतिदेवी मरेपछि उनको लास बोकिबोकी हिडेका हुन् त शिवले ?
भगवानको परिकल्पनाकार वा चित्रकार कोहि भेटिए सोध्ने थिएँ, 'आधा शिवजी र आधा पार्वतीको शरीर मिलेर एउटा शिवजी बनाएको चित्रमा तिमीले मुटु कसको राख्यौ चित्रकार ? भगवान बनाउन सक्ने तिमीले किन बिवेक बनाउन सकेनौ ?' मलाई कसैले नदेखेको र नभेटेको शिवजीप्रति कहिल्यै प्रेम भएन । बरु मनुस्मितीमा लेखिएका शब्दले कुट्नु कुटछन् जहिल्यै तर तसलिमाका शब्दले त्यहि कुटेको ठाउँमा मलम लगाइदिन्छ । साँच्चै यो सँसारमा कहिँ कुट्नेहरु भेटिन्छन् त कहि त्यहि कुटेको ठाउँमा मलम लगाउनेहरु ।
मेरो मस्तिस्कमा झुत्ति खेलिरहेका प्रश्नहरु जस्तै लाग्छ, सबैमा भ्रम छ कसैमा अत्यधिक धेरै त कसैमा थोरै ।
'तँ केहि किन्दिनस सामान ?'
भो किन्दिन ! जाउँ बरु छिटो घर ।
'पख न पख ! रमिता हेरौ, एकछिन अरुले के के किन्छन् किन्न दिउ ।'
उफ ! साथीसँग हिँडनुको अप्टेरो । नचाहेरै पनि उभिनु पर्छ उनीहरुसँगै ।
भोलिपल्ट बिहान नहुदै कुखुराको भाले बनेर भित्तामा बजिदिन्छ घडी । ४ बजे नै हल्लाखल्ला सुरु हुन्छ डेरावालाको । शरिर नउठे पनि कान अघि उठ्योे, अब बिस्तारै आँखा उठ्छ अनि मात्रै उठ्छु । उठ्दाउठदै रामले हिजो भनेको सम्झिए, 'शिवरात्रीको दिन सुत्नु हुँदैन । धुनि जगाएर, भाङ खाएर शिवजी झै मात्तिनु पर्छ ।'
आज शिवरात्री कँहि कसैको दुर्घटना भएको सुन्नु नपरोस मनले कामना गरे र उठे ।
लौ न .....!! रातो सारी रातै चोलो रातो लिपिस्टिक र रातै टिका त्यो माथि चन्दनको लामु धर्सो लगाएकी सीता टुप्लुक्क उभिई मेरो अघि ।
'पशुपतिमा शिवजीको दर्शन गरेर आकि । यो चन्दनको टिका लगाउ तिमी पनि आज । आफै त कहिल्यै जादिनौ शिवको दर्शन गर्न !'
शिवको दर्शन ग¥यौं कि लिङगको, – मैले जिस्काएँ ।
'धत् भगवानलाई त्यसो भन्नु हुन्न । भगवानको आराधना गर्नेलाई कहिल्यै नराम्रो हुँदैन, भगवानले हेर्छन् ।'
मलाई चाँहि मेरै बिस्टजीले हेर्छन । म गलल्ल हाँसे । ऊ पनि हाँसी । ऊ हाँस्दा फोटो खिचि हाल्नु जसरी हाँसी । मलाई उसको र मेरो सम्बन्ध खोलाको दुई किनार जस्तै लाग्थ्यो । सगै भएर पनि कहिल्यै सँगै नहुने । खै पुग्ने एउटै समुद्र हो कि हैन कुन्नी !!
ऊ आफ्नु काममा लागि म आफ्नु । सायद ऊ दुधमा घट्ट पकाउने सुरसार गर्दि हो लोग्नेलाई । एक्कासी फोनको घन्टी बज्यो र सीताको चर्को रुवाई सुनियो । म कुदेर ऊ नजिक गएँ, मलाई गमलङगै अङगालो हालेर डाको छोडी उसले । रुवाई सँगै उसको मुख बाट शब्द निस्किए, 'मैले सँधै ईश्वरलाई सम्झिए, सँधै पुजा गरे, मेरो के गल्ति थियो र मेरो रामलाई म बाट ....।' बोल्दै गरेको उसको आवाज बन्द भो, आँखा बन्द भो ऊ बेहोस भई । थरथरी काम्दै मैले पानी खन्याए उसलाई ।
के भो के ? मैले आएको फोनमै फेरी फोन लगाए । साँच्चै दुर्घटनामा राम मरेको खबर थियो त्यो ।
आज उन्नाइस वर्ष पछि फेरी उहि दिन आयो । सोचें, सीता मरेकी भए रामले अर्को बिहा गरेर कति सन्तान जन्माई सक्थ्यो होला ? सीताका सन्तान कहाँ पुग्थे होलान् अहिलेसम्म ? जब जब शिबरात्रीको दिन नजिक आउँछ म, राम र सीता दुबैलाई बेस्सरी सम्झिन्छु । बिचारले ऊ मेरो बिपरित बिचारकी मान्छे तर मनले ...........!!
छोरीले बीए पास गरि छोराले १२ । एक साल अघिबाट उसले मोमो, चिया, कोक, खाजा घर खोलेकी छे । हिजो मात्रै म खाजा खाने बहानामा गएँ उसलाई भेटन । प्लेटमा मोमो हाल्दै उसले भनि, 'थाहा छ ! पेटको भोक जस्तै कहिलेकाहिँ आफ्नै सरीरका अंग पनि भोकाउँछन् । भोकाएका अँगलाई मनकै सिक्रीले बाधेर ताला लगाई चाबि आफैले मनकै कन्तुरमा लुकाउनु कम गारो छ र !! आँखा भोकाएपछि खिच्दो रहेछ फोटो । अनि किन चाहियो र कागजको तस्विर ? आँखामा सम्झनाका कति कति लहरा ! आज पनि केहि सुकेका तिनै लहरामा झुन्डिएकी छु म बानी परेका कति कुरा छुटे कति ! मैले यो सानु मनमा कति कुरा अटाएकी छु कति !', ऊ निक्कै भाबुक भई ।
मैले कुरा बदल्न खोज्दै भने –
अनि मन्दिर कत्तिको जाने गरेकी छौ नि ! उसले पनि कुरा बुझि सायद र त भनि, 'फुर्सदमै रैछ ईश्वरको आराधना गर्ने, फुर्सदमै रैछ मन्दिर जाने । फुर्सद नै नभए पछि मन्दिर पनि मनमै देवता पनि मनमै ।
मलाई कताकता मनको एउटा कुनामा लाग्यो सायद ऊ र म एउटै समुन्द्रमा पुग्छौ ।
प्रकाशित: २१ फाल्गुन २०७२ २२:१३ शुक्रबार





