८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

अक्षर नचिन्ने यी सरस्वतीहरू!

पढ भन्दा पढेनौं सानामा
बुद्धि बिग्र्यो अल्लारे पानामा
निरक्षरप्रति लक्षित गीतको भावसँग कागेश्वरी–मनोहरा नगरपालिकाकी सरस्वती कार्की सहमत छैनन्। मन हुँदाहुँदै पढ्न नपाएको उनको गुनासो छ।
धादिङ, नौबिसे, देवीथानमा जन्मेकी सरस्वती पाँच दिदीबहिनीमध्ये कान्छी हुन्। उनका भाइ विद्यालय गए तर उनले त्यो अवसर पाइनन्। आमा–बाबुले उनको नाम 'सरस्वती' त राखिदिए तर स्कुल पठाएनन्।'स्कुल जान्छु भन्दा छोरीले पढेर के हुन्छ र, भन्दै रोके,' ५२ वर्षीया सरस्वतीले भनिन्, 'पढ्ने उमेर मेलापात र बाख्रा चराउँदैमा बित्यो।' घरको काम भ्याएर पढ्न जान्छु भन्दा पनि नपठाइएको उनको भनाइ छ।

आफूले पढ्न नपाए पनि उनले दुःख गरेर छोराछोरी पढाइन्। तीन छोरामध्ये जेठोले बिए तथा माइलो र कान्छोले १२ कक्षा पास गरेका छन्। उनले छोरीहरूलाई पनि राम्रैसित पढाइन्। 'मैले पढ्न नपाए पनि पढाइको महŒव बुझेकी थिएँ,' उनी भन्छिन्, 'दिनरात दुःख गरेर सन्तान पढाएँ।'

निरक्षर हुँदा जीवनमा थुप्रै समस्या बेहोरेकी उनले तीन वर्षअघि छोरा भेट्न अस्ट्रेलिया जाँदा अप्ठ्यारो झेलेको उनले सुनाइन्। 'शौचालयको ढोका तान्नुपर्नेमा ठेल्न पुगेछु,' उनले भनिन्, 'पछि अरुले खोलिदिए।'

रहर पूरा गर्न उनी प्रौढकक्षा नगएकी होइनन्। तर उनले राम्रोसँग बुझ्न सकिनन्। नातिनातिनाले 'होमवर्क' गर्दा ध्यानपूर्वक हेरे पनि सिक्न नसकेको उनी सुनाउँछिन्। उनी मुस्किलले नामचाहिँ लेख्न सक्छिन्। 'सरस्वती लेख्न सक्छु,' उनले हाँस्दै भनिन्, 'यति भए पनि नामको चाहिँ इज्जत धानेकी छु।'

सरस्वती कार्कीले 'सरस्वती' लेेखेर नामको इज्जत धाने पनि सरस्वती सापकोटा भने त्यति पनि जान्दिनन्। 'सरस्वती' नाम गरेकी ६६ वर्षीया उनको सिंगो जीवन औंठाछापको भरमा चलेको छ। काठमाडौं, काभ्रेस्थलीमा २००६ सालमा जन्मेकी उनले विद्यालय जान पाइनन्। २०२४ सालमा काठमाडौंकै मूलपानीमा वैवाहिक सम्बन्धमा बाँधिएकी उनी श्रीमानको मृत्युपछि तीन दशकयता एकल जीवन बिताउँदै आएकी छन्।

परिवारको सबै जिम्मेवारी आफ्नो काँधमा आएपछि पढाइको महत्व झनै थाहा पाएको उनले सुनाइन्। सुरुमा सानो पसल थापेर गुजारा चलाउँदै आएकी उनले हिसाब–किताब राम्रोसँग गर्न नजान्दा थुप्रै समस्या भोगेकी छन्। केटाकेटीले किताबमा रहेको नोटको चित्र काटेर ल्याउँदा पनि उनी पैसा सम्झेर चक्लेट दिन्थिन्।

'निकै समस्या भोगेँ,' उनले भनिन्, 'नपढेका कारण अझै समस्या भोग्दैछु।'

आफू विद्यालय जान नपाए पनि नातिनातिनाको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्यासउँदा भने उनलाई बाल्यकालको सम्झना आउने गर्छ। 'त्यति बेलाको रहर अहिले पूरा भएको छ,' उनले भनिन्, 'अहिले पढ्न पाउने सबै भाग्यमानीजस्तो लाग्छ।'

माथिका दुई 'सरस्वती' प्रतिनिधि पात्र हुन्, सिंगो देशलाई साक्षर बनाउने अभियानमा रहेको सरकारका लागि अरु पनि 'निरक्षर' सरस्वती चुनौती बनेका छन्। काठमाडौं जिल्लालाई सरकारले अझैसम्म पूर्ण साक्षर जिल्ला घोषणा गरेको छैन। २०७१ सालको तथ्यांकअनुसार जिल्लामा ७६ दशमलव ४ प्रतिशत जनता साक्षर रहेका सहायक जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले जनाए।

सरकारले पूर्ण साक्षर घोषणा गरिएका जिल्लामा पनि थुप्रै निरक्षर भेटिएका छन्। तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ साल असार ९ गते ललितपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिन्। त्यस बेला चार लाख ६८ हजार जनसंख्या रहेको यो जिल्लामा ९९ दशमलव २ प्रतिशत नागरिक साक्षर रहेको बताउँदै बाँकीलाई पनि साक्षर बनाउने बनाउने दृढता व्यक्त गरिएको थियो। यही जिल्लामा थुप्रै निरक्षर 'सरस्वती' भेटिएका छन्। उनीहरूको कथा पनि माथिका सरस्वतीको भन्दा फरक छैन।

ललितपुर, सिद्धिपुर देवनीटोल साँच्चिकै देवताको गाउँजस्तो लाग्छ । आँगनमै गणेश र भैरवको मन्दिर छ। त्यही मन्दिरपछाडि सरस्वती महर्जनको घर छ। उनी घरअगाडि बसेर सुकुल बुन्दै थिइन्। जीवनभर कलम नसमातेका उनका औंलाले पराल च्याप्न थालेको थुप्रै भइसक्यो।

५१ वर्षीया सरस्वती कहिल्यै विद्यालय गइनन्। उनी घाँस काट्न जाँदा बाटामै विद्यालय पर्थ्यो। विद्यालय जाने रहर बिसाएर उनी घाँसको भारी बोकेर आउँथिन्। उनी दुःखी हुन्थिन्। जति दुःख लागे पनि उनले पढ्ने अवसर पाइनन्।

पढाइको महत्व राम्रोसँग बुझेकी उनले परालको सुकुल बुनेर आएको आम्दानीले आफ्ना तीन छोरीलाई बिबिएससम्म पढाइन्। उनको छोरा अहिले बोर्डिङ स्कुल पढ्दैछ। 'मैले पढ्न नपाए पनि छोराछोरीले पढ्न पाएका छन्,' उनी भन्छिन्, 'मलाई सन्तोष मिलेको छ।'

'निरक्षर' आमाले आफूहरूलाई राम्रोसँग पढाएकोमा छोराछोरी खुसी छन् । 'हाम्रो लागि आमा साँच्चिकै सरस्वती,' बिबिएस अध्ययनरत गजला महर्जनले भनिन्, 'उहाँले दुःख गरेर कमाएको पैसाले हामीलाई चाहेजति पढाउनुभयो।'

हातमा सरस्वती

सरस्वतीहरूले लेख्न पढ्न नजाने पनि जिन्दगी जिउने कला जानेका छन्। तीमध्ये एक हुन्– भक्तपुर सूर्यविनायककी ७७ वर्षीया सरस्वती प्रजापती। उनी पनि विद्यालय जान पाइनन्। उनी सरस्वतीको व्रत बसिन्, पूजा गरिन् तर विद्यालय जाने उनको रहर पूरा भएन।

सानैदेखि घरायसी काममा पोख्त उनका लागि कामै सबैथोक भयो तर उनले कपडाका आकर्षक पुतली बनाउन थालिन्, जुन पछि देशविदेशमा बिक्न थाल्यो। 'काम नै मेरो पढाइ भएको छ,' उनले भनिन्, 'यसैबाट जीवन चलेको छ।'

कलम चलाउने औंलालाई उनले तानमा लगाइन्। हाकुपटासी बनाइन्। आकर्षक पुतली बनाइन्। पैसा कमाइन र सन्तान पढाइन्।

अहिले उनी मोबाइल बोक्छिन्। नम्बर थिच्न जान्दिनन्। आफ्ना मान्छेको तस्बिर छोराले सेभ गरिदिएका छन्। त्यही तस्बिर हेेरेर नम्बर डायल गर्छिन् र कुरा गर्छिन्। उनी छोरालाई भेट्न दुईपटक अमेरिका पनि पुगिन्। नपढेका कारण केही समस्या भोगिन्। जीवनमा पढ्नैपर्छ भन्ने कुराको राम्रोसँग बोध भए पनि अब ढिलो भएको उनको ठम्याइ छ।

पढ्ने रहर पूरा गर्न सरस्वती प्रौढ शिक्षा गए पनि सिक्न मुस्किल पर्योभ। उनले क देखि ङ सम्म लेख्न सिकेकी थिइन्। पछि पढाइ नियमित नहुँदा जानेको कुरा बिर्सन थालेकी छिन्।'नामचाहिँ लेख्न सक्छु,' उनले भनिन्, 'मैले पढेको यत्ति हो।'

मंसिर २७ गते दरबार स्क्वायरमा विशेष कार्यक्रम गरी भक्तपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरियो। अन्तर्राष्ट्रिय प्रचलन तथा राष्ट्रिय मानकअनुसार १५ देखि ६० वर्ष उमेरको जनसंख्यामा भक्तपुर जिल्लाको साक्षरता प्रतिशत ९६ दशमलव ७४ प्रतिशत पुगेपछि भक्तपुरलाई साक्षर जिल्ला घोषणा गरिएको हो।

जिल्ला शिक्षा कार्यालयका अनुसार भक्तपुर जिल्लाको कुल जनसंख्यामध्ये ९६.७४ प्रतिशत अर्थात् २ लाख ९८ हजार ७ सय ४ नागरिक पूर्ण साक्षर छन्। भक्तपुरमा साक्षर हुन बाँकी ९ हजार ७ सय ४१ जना निरक्षरलाई भने निरन्तर कक्षाको व्यस्था गरेर साक्षर बनाइने जिशिअ दिनेशकुमार श्रेष्ठले बताए।

उपत्यकामा भेटिएका थुपै्र 'निरक्षर' सरस्वतीमध्ये केहीले मुस्किलले आफ्नो नामसम्म लेखे, अधिकांश औठा छाप। आमा–बाबुले नाम सरस्वती राखदिए पनि आफूहरूलाई विद्यालय नपठाएको उनीहरूको गुनासो छ। उनीहरूले आफूले पढ्न नपाए पनि ज्ञानको महत्व चाहिँ बुझेका छन्। दुःखजिलो गरेर सन्तान पढाएका छन्।

भक्तपुर, बागेश्वरीकी सरस्वती खड्काको अवस्था पनि उस्तै छ। उनले विद्यालय जान नपाएकाले जीवनमा थुप्रै समस्या भोगिन्। तर, सन्तानलाई पढाउन छाडिनन्।

'सरस्वती' नाम भएकाको मात्र होइन, अन्य नाम गरेका महिलाको अवस्था पनि उस्तै पाइयो। पुरानो समाजमा छोरालाई स्कुल पठाए पनि छोरीलाई नपठाउने चलनले गर्दा थुप्रै महिला निरक्षर जिन्दगी जिउँदैछन्। सिद्धिपुरकी सरस्वती महर्जनसँगै उभिएकी मीना नेम्कुल तिनैमध्येकी एक हुन्। उनी आफू कहिल्यै विद्यालय नगएको सुनाउँछिन्। 'सरस्वतीले त पढ्न पाइनन्, हामीले त के,' उनले हाँस्दै भनिन्।

शिक्षाविद विद्यानाथ कोइराला उमेर पुगेकी छोरी भाग्छे भन्ने डरले अझै पनि मुलुकका कतिपय भेगमा अभिभावकले विद्यालय छुटाउने गरेको बताउँछन्। पढेकी छोरीले छोरासरह सबै काम गर्न सक्छन् भन्ने ज्ञान अझै दिन नसकिएको उनले सुनाए।

'न छोरीले मेरो जिन्दगी म नै जिउँछु, मैले पढ्नुपर्छ भनेर अडान लिन सके,' उनले भने, 'न अभिभावकले शिक्षाको महत्वबारे राम्रोसँग बुझ्न सके।' पढेपछि गरेर खान सकिन्छ भन्ने आत्मविश्वास बढेकाले पछिल्लो समय छोरीहरूको शिक्षातर्फ आकर्षण बढ्दै गएको उनले सुनाए ।

भत्कियो परीको सपना

भूकम्पले सिन्धुपाल्चोकमा रहेको उनको घर र विद्यालयसँगै पढेर ठूलो मान्छे बन्ने सपना पनि भत्कायो। कक्षा ४ मा अध्ययनरत परी तामाङ शुक्रबार बौद्धनजिक ढलानको भारी बोक्दै थिइन्।

'पढ्न मन भए पनि पाइएन,' उनले भनिन्, 'अब भारी बोेकेर बस्न थालेको छु।' आमा हीरामायासँग काममा आएकी उनले पढेर जागिर खाने सपना बुनेकी थिइन्। 'राम्रो लुगा लगाएर अफिस जाने रहर थियो,' उनले भनिन्, 'तर, त्यो पूरा हुन सकेन।'

आर्थिक अभावले सन्तानलाई शिक्षा दिन सजिलो नभएको हीरामायाले सुनाइन्।'पढाउने रहर त छ नि,' उनले भनिन्, 'खर्च गर्न सकिँदैन।' उनले आठ वर्षकी छोरी मञ्जुलाई समेत अहिलेसम्म विद्यालय भर्ना गरेकी छैनन्। 'यसपालि भर्ना गर्ने विचारमा छु,' उनले भनिन्, 'हेरौं के हुन्छ?'

मञ्जुजस्ता उमेर नपुगेका र परी जस्ता बीचमै पढाइ छाडेका थुप्रै 'सरस्वती' मुलुकमा छन्।

२०४७ सालयता शिक्षा क्षेत्रमा सरकारले खर्बौंको लगानी गरे पनि त्यसको अपेक्षाकृत परिणाम आएको छैन। अझै पनि थुप्रै बच्चा विद्यालयबाहिरै छन्। थुप्रै विद्यार्थी बीचमै कक्षा छाड्न बाध्य छन्।

पछिल्लो पटकको जनगणनाले देशमा पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका कुल २,३९,२६,५४१ जनसंख्यामध्ये ६५.९ प्रतिशत साक्षर रहेको देखाएको छ जसमा पुरुषको साक्षरता दर ७५.१ प्रतिशत छ भने महिलाको साक्षरता दर ५७.४ प्रतिशत।

तीमध्ये पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका साक्षर जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अर्थात् ३९.० प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ ) उत्तीर्ण गरेका २०.३ प्रतिशत छन्। यसैगरी एसएलसी वा सो सरह उत्तीर्ण व्यक्तिहरू कूल जनसंख्याको १०.२ प्रतिशत र एसएलसी भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १०.२ प्रतिशत छन् । जम्माजम्मी ४.२ प्रतिशत व्यक्तिले अनौपचारिक शिक्षा हासिल गरेको देखिएको छ।

शिक्षाविद कोइराला शिक्षा क्षेत्रको लगानीमा बालुवामा पानीजस्तो भएको बताउँछन्। पढाउने परम्परागत तरिका नबदली अहिलेको समस्या समाधान नहुने उनको बुझाइ छ। शिक्षा क्षेत्रमा जतिसुकै लगानी भनिए पनि समग्र लगानीको ८० देखि ९० प्रतिशत शिक्षकको तलबभत्तामा खर्चिएको उनी बताउँछन्। शिक्षकले साँच्चिकै पेसाकर्मी बनेर कसरी विद्यार्थीलाई पढाउने भन्ने विषयमा गहिरो चिन्तन गर्न सकेका भए यस्तो नआउने उनको बुझाइ छ।

'तोरीबारीको डिलबाट विद्यालय आउने विद्यार्थीलाई तोरीको फूलबारे जानकारी हुँदैन,' उनले भने, 'विद्यार्थीले जहाँ, जसरी सिक्न सक्छन्, त्यही तरिका सिकाउनु जरुरी छ।' त्यसो गरियो भने उनीहरूले हिँड्दा–हिँड्दै खेल्दा–खेल्दै थुप्रै कुरा सिक्न सक्छन्।'

शिक्षा क्षेत्रको जिम्मा स्थानीय सरकारको हातमा दिने र स्थानीय तहमै प्रतिस्पर्धा गराउने अभ्यास गरिए शैक्षिक स्तर माथि उकासिने उनको तर्क छ। 'को–को विद्यालय आए, को आएनन् भनी कहिल्यै खोजी गरिएन,' उनले भने, 'जागिर मात्र खाने प्रवृत्तिले शिक्षा क्षेत्र पछाडि परेको छ।'

प्रकाशित: २९ माघ २०७२ २१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App