२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

कोइरालाः सरल मान्छे, प्रतिबद्ध नेता

कुनै नेताको मृत्युपछि उसका बारेमा गरिने अति प्रशंसाले कतिपय अवस्थामा उसले आफ्नो जीवनकालमा गरेका राम्रा कामको पनि कम चर्चा हुने गरेको पाइन्छ। मृत्युपछि कसैको निन्दा गर्नुलाई पूर्वीय दर्शनमा निको मानिँदैन। तर, इतिहासले कसैको मूल्यांकन उसको मृत्युपछि गरिएका प्रशंसाहरूको चाङबाट मात्रै गर्दैन।जो कोही नेताको मूल्यांकन सक्रिय जीवन बिताउँदा गरेका कामको गुण तथा दोषका आधारमा गरिनुपर्छ। मंगलवार बिहान निधन भएका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पनि प्रशंसाको मात्रै गह्रुँगो भारी बोकाएर उनको लोकतन्त्रप्रतिको निष्ठालाई ओझेलमा पार्ने काम गर्नु हुँदैन। निष्ठा र त्यागी राजनीतिज्ञको छवि बनाएका दिवंगत कोइरालाले राजनीतिमा लागेर प्राप्त गरिने शीर्ष पदमा आफूलाई पुर्यािउन सफल भएका थिए।

नेपाली कांग्रेसभित्र कोइराला परिवारको 'लिगेसी'लाई भरथेग गर्ने पात्रका रूपमा राजनीतिमा सक्रिय उनको आफ्नो छुट्टै 'ब्रान्ड' थिएन। उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सहयोगी हुँदै पछि गिरिजाप्रसाद कोइरालालाई राजनीतिमा कूटनीतिक 'मुभ' कसरी गर्नुपर्छ भन्ने योजना बनाउने महŒवपूर्ण सहयोगीका रूपमा सक्रिय भएका थिए। कांग्रेसभित्र निकै शक्तिशाली 'पोजिसन'मा भएर पनि जनताले उनको नेतृत्वको कुशलता धेरैपछि मात्र देख्न पाएका हुन्। जब उनी पार्टीको कार्यवाहक सभापति भए, त्यसपछि मात्र उनको व्यक्तित्व र नेतृत्वको बारेमा कांग्रेस इतरकाहरूले पनि जान्ने मौका पाए। 'सुशील कोइराला त्यागी नेता थिए, उनले घरपरिवार जोड्ने विषयमा सोच्न समेत भ्याएनन्, व्यक्तिगत फाइदाका लागि केही गरेनन्'– उनका प्रशंसामा अहिले यस्तै वाक्यहरू प्रयोग भइरहेका छन्। तर, उनले राजनीतिमा लागेर प्राप्त गरिने पद र शक्तिका लागि सर्वोच्च नेता गणेशमान सिंहले जस्तो त्याग गरेनन्। उनको 'ग्रुमिङ' पार्टीको सभापतिका लागि गरिएको थियो, त्यो उनले प्राप्त गरे। पार्टी सभापतिपछि उनी पुग्ने ठाउँ देशको कार्यकारी पद प्रधानमन्त्री थियो, त्यो पनि उनले प्राप्त गरे। प्रधानमन्त्रीपछि उनलाई राष्ट्रपति बन्ने अवसर आएको थियो। तर, कोइरालाको भित्री इच्छा पुनः पार्टी सभापति बन्ने थियो र त्यसको प्रस्तुति उनले दलीय सहमतिबेगर संविधान जारी भएपछि प्रधानमन्त्रीमा उम्मेदवारी दिएर गरेका थिए। उनी यस्तो राजनीतिक चुचुरोमा पुगेका थिए, त्यहाँ उनले त्याग देखाउन सकेको भए उनी त्यसबाट तल झर्नुपर्ने थिएनन्। तर, कोइरालाले आफूले आफैँलाई तल ओराल्ने काम गरे।

उनी प्रधानमन्त्री हुँदा संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। यो उनको सबैभन्दा ठूलो उपलब्धि हो। संविधान बनाउनमा उनको मात्रै नेतृत्वदायी भूमिका थिएन। तर, कार्यकारी पदमा उनी नै भएकाले संविधान बनेको जसको भागबण्डामा कोइरालाको भागमा धेरै पर्छ। संविधान बनाउने क्रममा समन्वयकारी भूमिका निर्वाह गर्न सकेको भए संविधानसभाबाट बाहिरिएका तराई–मधेश केन्द्रित दललाई समेट्न सकिन्थ्यो। तर, कोइरालाले प्रधानमन्त्री हुँदाहुँदै पनि त्यो काम गर्न सकेनन्। पछि कांग्रेसले नै अघि सारेका एजेन्डाहरूलाई समेटेर संविधान संशोधन भयो। कतिपय अवस्थामा एजेन्डा सही हुँदाहुँदै पनि उनले आफ्नो कार्यकुशलता देखाउन नसकेका प्रशस्त उदाहरण छन्। उनी सभापति भएपछि कांग्रेस पहिलो दल हुनु, प्रधानमन्त्री हुँदा संविधान जारी हुनु कोइरालाको राजनीतिक जीवनका सुन्दर पक्ष र प्राप्ति हुन्।

पार्टीको महाधिवेशनको भव्य तयारी र जिल्ला अधिवेशन चलिरहेका बेला भएको सभापति कोइलाको निधनले पार्टीका नेता तथा कार्यकर्तामा अभिभावक गुमेको चोट परेको छ। उनी आफू सभापतिका दाबेदार थिए, त्यो उनले नबोलेरै संकेत गरेका थिए। तर, उनको सट्टामा कोइराला 'लिगेसी' कसको काँधमा जान्छ भन्नेमा उनले स्पष्ट संकेत गरेका थिएनन्। त्यसैले अब हुने महाधिवेशनमा नेतृत्वका लागि कसैले पनि आफूलाई कोइरालाको उत्तराधिकारीका रूपमा अघि सार्ने अवस्था छैन। 'राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाएका नेता' भनेर कांग्रेसले कोइरालाप्रति सम्मान प्रकट गरेको छ। कांग्रेसले पार्टी कार्यकर्तालाई सभापतिले देखाएको बाटो निष्ठा, नैतिकता र सरल जीवनपद्धतिलाई पार्टीको प्रेरणा र पुँजीका रूपमा ग्रहण गर्न आग्रह पनि गरेको छ। कांग्रेसले कोइरालाको सम्मानमा खर्चेका शब्द नै पार्टी जीवनमा लागू गर्ने इमानदार प्रयास गर्योर भने कोइरालाप्रतिको उच्च सम्मान हुनेछ। दिवंगत कोइरालालाई हार्दिक श्रद्धाञ्जली!

प्रकाशित: २९ माघ २०७२ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App