पार्टीको नीति तथा कार्यक्रममा रुचि र चासो दिनुपर्ने सभापति सुशील कोइरालाको चिन्तन कांग्रेसलाई कसरी कोइराला थरभित्रै खुम्चाइराख्ने भन्नेमा देखिन्छ। पार्टी सभापतिमा कोइराला थर बाहेकका कोही निर्वाचित भयो भने पार्टी भष्मखरानी हुन्छ भन्दै सुस्केरा हालिरहेका सभापति कोइरालासँग कांग्रेसलाई अघि बढाउने कुनै नीति र कार्यक्रम छैन भन्ने प्रस्ट भइसकेको छ। उनको पाँचवर्षे सभापति कार्यकालमा कांग्रेसभित्र गुटगत राजनीति अझै मौलाएको छ। कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको खेमामा विभाजित कांग्रेसलाई उनले एकढिक्का बनाउनेतर्फ कुनै पहल नै गरेनन्। १२ औँ महाधिवेशनमा सभापति कोइरालाले झिनो मतअन्तरले मात्र वरिष्ठ नेता देउवालाई पराजित गरेका थिए। पार्टीलाई विधि र प्रक्रियाबाट चलाउने प्रतिबद्धता पटक–पटक व्यक्त गर्ने गरेका सभापति कोइरालाले त्यही काम गर्न नसक्दा कांग्रेसमा अहिले पनि टाढैबाट देखिने चिरा परेको छ। सभापति कोइराला यसपटक पनि आफू सभापति नहुने हो भने कांग्रेस ध्वस्त हुने बताइरहेका छन्। कांग्रेसलाई कोइराला परिवारकै विरासतका रूपमा संरक्षित गर्नुपर्ने उनको तर्कले कांग्रेस कस्तो लोकतान्त्रिक अभ्यासमा छ भन्ने प्रस्ट भएको छ। पार्टी नेतृत्वका लागि कांग्रेसभित्र एकसे एक नेता छन्। तर, सबैको थर कोइराला हुन सम्भव हुँदैन। थर कोइराला नहुनेबित्तिकै उसले पार्टीलाई तहसनहस बनाउँछ भन्दै रोइकराई गरिरहने सभापति कोइराला र उनका पारिवारिक सदस्यहरूले छिमेकी देश भारतको कांग्रेस आईको वर्तमान अवस्थालाई हेरे पुग्छ। कांग्रेस आईको नेतृत्वमा अहिले पनि गान्धी परिवारकै छन्। तर, त्यो पार्टी राष्ट्रिय दलको हैसियतमा पनि पुग्न नसक्ने गरी निर्वाचनमा पराजित भयो। पार्टीलाई पारिवारिक विरासतका रूपमा मात्र कब्जा गर्न खोज्दा नेपाली कांग्रेसको अवस्था पनि भारतको कांग्रेस आईकै जस्तो नहोला भन्न सकिन्न।
पार्टी सभापतिको दर्बिलो दाबेदारका रूपमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा पनि 'अब मेरो पालो' शैलीमा मात्र सभापति पदको दाबी गरिरहेका छन्। उनले आफूलाई पार्टीभित्र साझा नेताका रूपमा विकास गर्न सकेका छैनन्। सुदूरपश्चिमका देउवा सामान्य परिवारिक पृष्ठभूमिबाट केन्द्रीय राजनीतिमा स्थापित भएका नेता हुन्। उनी थर वा वंश परम्पराबाट राजनीतिमा स्थापित पात्र होइनन्। त्यसैले उनीसँग वंश र थरको परम्परा धानिरहनुपर्ने तनाव छैन। उनी ठूलो छाती लिएर राजनीति गर्न सक्छन्। तर, त्यसका लागि उनलाई पनि चाहिने भनेको पार्टीको नीति तथा कार्यक्रम नै हो। पार्टीको विधि र प्रक्रियालाई मानेर अघि बढ्ने साहस हो। उनले सभापति भएपछि कांग्रेसलाई कसरी अघि बढाउनेछन् भन्ने विषयमा अहिलेसम्म केही बोलेका छैनन्। देउवाले पार्टी नेतृत्वले गरेको कमजोरी र उनले आगामी दिनमा गर्न चाहेको कामका बारेमा आफ्ना मतदातालाई छिटोभन्दा छिटो बुझाउन आवश्यक छ। 'म बूढो भएँ, यति वर्षदेखि यही पार्टीमा छु, यति वर्ष जेल बसेको छु' भनेर दाबी गरेकै भरमा नेतृत्वमा जाने हो भने कांग्रेस 'बाह्र वर्ष केको पुच्छर ढुंग्रोमा राखे पनि बांगाको बांगै' भन्ने उखानजस्तै रहिरहनेछ।
प्रकाशित: २१ माघ २०७२ ००:५१ बिहीबार





