खोटाङ– खोटाङमा मृत भेटिएका युवकको हत्या भएको आशंका गरिएको छ। बाक्सिला बजारबाट घर फर्कनेक्रममा बाँसपानीमा मृत भेटिएका फेदी–४ का २९ वर्षीय मनकुमार राईको हत्या गरेर फालिएको रहस्या खुल्दै गएको प्रहरीले जनाएको छ।गत पुस–८ गतेदेखि बेपत्ता बनेका उनी बासपानी–५ र ७ मा रहेको ठाडो खोल्सीमा पुस–१४ गते मृत भेटिएका थिए। बेपत्ता लगत्तै खोजी गरिएकै ठाउँमा केहीदिन पछि राईको शव भेटिएपछि उनको मृत्युलाई शंकास्पद मानिएको थियो। शरीरमा निलडाम, नाक र मुखबाट रगत बगेको अवस्थामा शव भेटिएकाले उनको हत्या गरेर फालिएको आशंका गरिएको हो। बाक्सिला बजारमा लाग्ने बुधबारे हाट भर्न गएका मनकुमारको बासपानीका केही युवासँग झगडा भएको र सोही दिनबाट उनी बेपत्ता बनेको आफन्तको भनाई छ। 'पहिला सो स्थानमा खोजी गर्दा मृतक भेटिएको थिएन,' आफन्त धनकुमार राईले भने, 'तर केही दिनपछि सोही ठाउँमा शव भेटियो।'
हत्याको आशंकामा बासपानीका १० युवकविरुद्ध प्रहरीमा किटानी जाहेरी समेत परेको छ। हप्ता दिनसम्म घर नआएपछि उनको खोजीकालागि आफन्तले बाक्सिला प्रहरीचौकीलाई हुलिया दिएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले घटनाको विषयमा अनुसन्धान गर्न विशेष टोली परिचालन गरिएको बताए। रातका समयमा घटना घटेको जानकारी आएकाले अनुसन्धानमा समय लागेको माझीको भनाई छ।
प्रकाशित: १९ पुस २०७२ ०२:४९ आइतबार