गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको शुक्रबार सुरु गर्दै उनले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिए।
अन्तरिम सरकार बनेको जेनजी आन्दोलनको जगबाट बनेको उल्लेख गर्दै उनले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताए। मन्त्री अर्यालले भने, 'जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेनजी पुस्ताले अनुसरण गर्न थालेका छन्।'
जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागत गर्दै व्यवहारमा देखाउनुपर्नेमा उनको जोड थियो। उनले भने, 'नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरूका बारेमा नव पुस्ताले अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ।'
हिजोदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुरु भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पुर्याएको गृहमन्त्री अर्यालको भनाइ छ।
प्रकाशित: १२ पुस २०८२ ०७:०४ शनिबार





