प्रधानमन्त्री सुशीला कार्कीले पाचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी आफूले हेर्दै आएको परराष्ट्र मन्त्रालयको जिम्मा पूर्वजर्नेल बालानन्द शर्मालाई दिएकी हुन्। विस्तारसँगै मन्त्रिपरिषद् १५ सदस्यीय पुगेको छ। ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने विशेष कार्यादेशसहित गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त कार्कीले यसअघि भदौ ३० गते, असोज ६ गते, कात्तिक ९ गते र मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले अझै पनि रक्षा मन्त्रालययको जिम्मेवारी आफैसँग राखेकी छन्। चौथौ पटक मन्त्रिपरिषद् विस्तार हुनुअघि प्रधानमन्त्री कार्की मातहत आठ वटा मन्त्रालय थिए। त्यतिबेला उनले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिएकी थिइन्।
चौथौ पटक मन्त्रिपरिषद् विस्तार हुनुअघि मंसिर २ गते प्रधानमन्त्री कार्कीले नागरिक फ्रन्टलाइनमा नागरिक दैनिककका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानीमा अब मन्त्रिपरिषद् विस्तार नहुने बताएकी थिइन्। त्यसपछि उनले आफ्नै भनाइविपरीत दुई पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। आफ्नै भनाइविपरीत दुई पटक मन्त्रिपरिषद् विस्तार गर्नुको बाध्यताबारे उनले खुलाएकी छैनन्।
पहिलो पटक उनले मन्त्रिपरिषद् विस्तार गरी चार सदस्यीय बनाएकी थिइन्। त्यतिबेला रामेश्वरप्रसाद खनाल अर्थ, ओमप्रकाश अर्याल गृह र कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बनेका थिए। बाँकी सबै मन्त्रालय प्रधानमन्त्री कार्कीले आफैंसँग राखेकी थिइन्।
दोस्रो पटक विस्तार गर्दा मन्त्रिपरिषद् सदस्यमा अनिलकुमार सिन्हा, महावीर पुन, मदनकुमार परियार र जगदीश खरेल थपिए। सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि र खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका थिए।
तेस्रो पटकको विस्तारमा मन्त्रिपरिषद् सदस्यमा डा. सुधा गौतम र बब्लु गुप्ता थपिए। गौतमले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।
चौथो पटकको विस्तारमा मन्त्रिपरिषद्मा श्रद्धा श्रेष्ठ, माधवप्रसाद चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङनाम थपिए। श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंले वन तथा वातावरण, भण्डारीले श्रम, रोजगारी तथा सामाजिक सुरक्षा र इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाए।
दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा मन्त्री बनेका सिन्हाले हेर्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी उनीबाट झिकेर चौथो पटकको विस्तारमा थपिएका इङनामलाई दिइएको थियो। चौथौ पटकको विस्तारमा सिन्हालाई प्रधानमन्त्रीले सम्हालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पनि थपियो। पाँचौं पटकको विस्तारमा प्रधानमन्त्री कार्कीले हेर्दै आएको परराष्ट्र मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको छ।
प्रकाशित: १२ पुस २०८२ ०७:०८ शनिबार





