१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

'बजारु रूचाउनेले साहित्यिक आख्यान किन्दैनन्'

आख्यान–गैरआख्यान दुवै लेख्न सक्ने प्रतिभाशाली भारतीय लेखक हुन्, आश्विन सांघी। पछिल्लो समय बजारु अर्थात् सतही र साहित्यिक लेखनीबीचको द्वन्द्व भारतमा जस्तै नेपालमा पनि जोडदार रूपमा चलिरहेको छ। सांघीका 'दि रोजाबल लाइन', 'चाणक्यज च्यान्ट', 'दि कृष्णा की' तथा 'थर्टिन स्टेप्स टु ब्लडी गुड लक'लगायत पुस्तक प्रकाशित छन्। चाँडै नै उनको नयाँ उपन्यास 'दि सियालकोट सागा' बजारमा आउँदैछ। उनका विचारमा अधिक प्रति बिक्रीको लक्ष्य लिएर साहित्यिक आख्यानलाई सतही बनाउने प्रयत्नले समस्या ल्याउँछ। ४७ वर्षीय सांघीसँग भारतको अंग्रेजी अनलाइन स्क्रोल डट इनका लागि उपन्यासकार तथा पत्रकार अमृता त्रिपाठीले हालै गरेको कुराकानीको सम्पादित तथा अनूदित अंश :


एउटा लेखकका नाताले व्यावसायिक (सतही) आख्यान र साहित्यिक आख्यानबीचको विवादबारे तपाईंको धारणा?

बिक्रीका हिसाब र पाठकका नाताले यी दुई पक्षबीच विभाजन आज छ र भोलि पनि हुनेछ। साहित्यिक आख्यान र बजारु आख्यानबीचको दुरी हिजो थियो र आज पनि छ। के त्यहाँ दुवैथरीका निम्ति बजार छ? निश्चय पनि छ। तर, जब एउटाको सूत्र समातेर अर्को उत्पादन बिक्री गर्ने सोच बनाइन्छ, समस्या त्यहीँनिर उत्पन्न हुन्छ।

शैली निर्धारण गर्ने काम लेखकको हो कि प्रकाशक वा पुस्तक बिक्रेताको? यस्तो अवस्थामा पाठकको उपस्थिति कहाँनिर हुन्छ?

यो त लेखकको जिम्मेवारी हुनुपर्ने हो नि। साहित्यिक आख्यानको बजारीकरण व्यावसायिक लेखनीको जसरी गरेर हुँदैन। अधिकांश पुस्तक प्रकाशक साहित्यिक कृतिको प्रवर्द्धन कसरी गर्नुपर्छ भन्नेबारे नै दुविधामा छन्। भारतीय पाठकका हकमा भन्नुपर्दा बजारु खालका आख्यान किन्नेले साहित्यिक आख्यान किन्दै किन्दैनन्।

व्यावसायिक वा बजारु लेखकको सिधा चाहना बिक्रीमै केन्द्रित रहन्छ। तपाईंलाई के लाग्छ?

अवश्य पनि। मैले आजसम्म कुनै साहित्यिक पुरस्कार वा सम्मान पाएको छैन। त्यसकारण मेरो ध्यान बिक्रीमै केन्द्रित हुनुपर्ने हो! अधिकांश व्यावसायिक लेखक आफ्नो कृति बढी बिक्री हुुनुलाई नै पुरस्कार वा सम्मान सम्झन्छन्।

तपाईंले लेखेको गैरआख्यान 'थर्टिन स्टेप्स टु ब्लडी गुड सेल्स' धेरै बिक्री भयो, यसबारे केही बताइदिनुस् न?

किताब बढी बिक्री हुने सूत्र कुनै एउटैमात्र छैन। मैले बुझेका केही उपाय छन्। ती यस प्रकार छन् : उपलब्धता : खुद्रा बिक्रेतासँग तपाईंको पुस्तक पर्याप्त स्टक रहेको निश्चितता हुनुपर्छ।

दृश्यता : पाठकले चाहेको वा पायक पर्ने स्थानमा तपाईंको पुस्तक देखिनेगरी राखिएको वा सजाइएको हुनुपर्छ।

मूल्य : सबैलाई थाहा भएकै कुरा हो, पुस्तकको मूल्य प्रकाशकले निर्धारण गर्छ। तर, यसमा पाठकलाई बेवास्ता गर्नु कदापि हुँदैन।

प्रारूप : पुस्तकका सम्भावित विभिन्न प्रारूप तथा अनुवादसमेत उचित मूल्य तथा पायक पर्ने स्थानमा उपलब्ध हुने निश्चितता सुरुमै हुनुपर्छ।

प्रवर्द्धन : पाठकले पुस्तकका बारेमा बेलैमा सुन्न वा जान्न पाउनुपर्छ। अधिकांश लेखक–प्रकाशक यो कार्य अन्तिम समयमा मात्र गर्छन्। तर, आरम्भमै पुस्तकबारे पाठकलाई जानकारी हुनु राम्रो हुन्छ।

आमलेखकले आफ्नो जीवन गुजार्न पुग्नेगरी पुस्तक बजार विकसित भएको देख्नुहुन्छ? या भारतका केही लेखकमात्र यस्ता छन्?

दुःखका साथ भन्नुपर्छ, भारतका थोरै संख्याका लेखकमात्र लेखेर बाँच्न सक्ने अवस्थामा छन्। पुस्तक बिक्रीको औसत दृश्य ५ हजारप्रति रहेको छ। एउटा पुस्तकको मूल्य २५० राख्दा पनि कुल रकम साढे १२ लाख हुन्छ। लेखकले १० प्रतिशत पाउँदा सवा लाख हात पर्छ। असल समाचार त्यही हुन्छ कि, कुनै लेखकको कृति ५० हजारभन्दा बढी प्रति बिकोस्। यस्तो हुन सक्दा लेखेरै बाँच्न सक्ने लेखकहरूको संख्यामा पनि वृद्धि हुन्छ।

अचेल रहस्य, पौराणिक कथा, धर्मशास्त्र वा वेदमा आधारित कुरा बढी चलेको देखिन्छ। तपाईंको चाणक्यज च्यान्टको सन्दर्भमा पनि। के कारण यतातिर पाठक तानिएको देख्नुहुन्छ?

मान्छेको विश्वास, शंका र केही चिज नास्तिकतामा पनि निहित हुन्छ। यी सबैलाई मिलाएर कथा बुन्न सक्दा तपाईं विजयी बन्न सक्नुहुन्छ। म सधैं सोच्ने र कायम राख्ने गर्छु, मिथ ± हिस्ट्री = मिस्ट्री। हामीले के पनि हेक्का राख्नुपर्छ भने भारतीय पाठकको रुचिका आधार पनि परिवर्तन हुँदैछन्। युवा पाठक उपनिवेशकालीन मानसिकताबाट मुक्त हुँदै पश्चिमाबाट मोहित बन्दै गएका छन्।

तपाईंले भन्नुभएको छ, चाणक्यबाट हामी धेरै कुरा सिक्न सक्छौं। के आधुनिक चाणक्यका निम्ति अझै स्थान छ र?

मलाई लाग्दैन त्यो अवस्था छ, तर आधुनिक समयमा पनि चाणक्यको जस्तो स्तर भएको पात्र हामीकहाँ पर्याप्त छन्। उदाहरणका निम्ति, पिभी नरसिंह राव। रावले अल्पतमको सरकार चलाउँदा पनि धेरै राम्रा काम गर्ने प्रयास गरेका थिए। अटलबिहारी वाजपेयीलाई पनि सम्झन सकिन्छ। यिनमा चाणक्यको जस्तो युक्ति थियो।

तपाईं सोसल मिडिया (ट्वीटर, फेसबुक) मा निकै सक्रिय हुनुहुन्छ। सामाजिक सञ्जालमा प्रेरणादायी भनाइ राख्नुको कारण के हो, यसले कस्तो असर पारेको पाउनुभएको छ?

चाहे मूलधारका सञ्चारमाध्यम हुन् चाहे सामाजिक सञ्जाल, हामीभित्र नकारात्मक सोच अति नै हाबी छ। मैले पोस्ट गरेका चिन्तनबाट सकारात्मक प्रभाव परोस् भन्ने चाहन्छु। असर नपरे पनि नकारात्मक कुरा लेखेर अरूलाई दिक्क नहोस् भन्ने मेरो चाहना हो।

सामाजिक सञ्जालमा वादविवाद, राजनीतिका कुरा निकै आउँछन्। तपाईं यसमा पर्न चाहनुहुन्न नि?

म जानेरै राजनीतिबाट टाढा बस्न रुचाउँछु। विवादमा पर्नु वा राजनीतिलाई लिएर वादविवाद गर्नु भनेको आफ्नो रचनाशक्तिको क्षय गर्नु हो। यसमा लगाउने समय र क्षमता म आफ्नो लेखनी र पुस्तकमा लगाउनु उत्तम देख्छु। कुनै दिन आउला नि मैले बोल्ने पनि, तर अहिले नै भने यसबाट टाढै बस्ने इच्छा छ।

अन्त्यमा, सन् २०१६ मा तपाईंको अरू के आउँदैछ? 'दि सियालकोट सागा'बारे केही बताइदिनुस् न?

दि सियालकोट सागा एउटा 'बिजनेस थि्रलर' हो। उक्त पुस्तकले भारतीय स्वतन्त्रतापूर्वको समयदेखि हालसम्मका प्रतिद्वन्द्वीको जीवन उतारेको छ। यसमा मैले आफ्नो नियमित शैली उपयोग गरेको छु— पौराणिकता, वक्रता, युक्ति तथा अदृश्य सम्बन्ध आदि। यो पुस्तक मार्च २०१६ सम्म बजारमा आउनेछ।

अनुवाद : राजेन्द्र पराजुली

प्रकाशित: १७ पुस २०७२ २३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App