२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

म सम्झूँ कसोरी?

अस्ति भर्खर जुन गल्ती हुन गयो भन्ने बोधले झिल्सिँदै छु, अर्कोपटक पनि त्यस्तै गल्ती गर्छु कि भन्ने भय छ। दोस्रोपटक पनि त्यही गल्ती भयो भने म झिल्सिने मात्र होइन, पूरै पोलिन्छु होला। किनभने बिर्सेछु भनेर क्षमायाचना गर्दा पनि जानीजानी बिर्सें भनेको मात्र हो भन्नेे ठानिनेछ त्यस बेला। साँच्चै नै त्यसो गर्न खोज्नेका लागि त्यस्तो बहाना ठिक भए पनि मैले भने त्यसो गर्न खोजेको त होइन नि!

मलाई अचेल डर लाग्न थालेको छ— अत्यन्त महत्वपूर्ण कुरा पनि बिर्सूंला कि भन्ने! तपाईंहरू ठान्नुहोला— म अत्यन्त बूढो छु, त्यसैले अल्जाइमरले सताइएको छु। पचास वरिपरिको मान्छे हुँ, के बूढो हुनु! क्रियाशील छु, अनि सिर्जना गर्ने खुबी पनि मरेको छैन। कस्ताकस्ता कुरा बच्चा हुँदाका, तन्नेरी हुँदाका अनि अस्ति, हिजो र आजका सबै कुरा झलझली भएर आँखाअगाडि नाचिरहन्छन्। त्यसैले बिर्सने शारीरिक रोग लागेको त होइन तर कहिलेकाहीँ महŒवपूर्ण कुरा बिर्सने खराबी भने छ। यस्तोलाई बानी भन्न त हुँदै भएन किनकि सधैंसधैं बिर्सने गरेको भए पो बानी भन्नु। कहिलेकाहीँ बिर्सने त कसको हुँदैन र! फसाद त त्यस बेला पर्छ, जब कदाचित बिर्सन नै नहुने कुरा बिर्सिइन्छ।

झिल्सिँदै छु भने नि अघि मैले, त्यो किन हो भने— अस्ति भर्खरको कुरा, एक जना मैले श्रद्धा गर्ने गरेको व्यक्तिले बिहानै भेटौं भन्नुभएको थियो । मैले त भुसुक्क बिर्सेछु। तीन दिनपछि पो झल्याँस्स सम्झेँ। ज्यादै लाज भयो, के गर्नु न के भन्नू भएँ। चौथो दिन बिहान, आज सम्झेँ; त्यसैले आज आएँ भन्नुभएन। माफ गर्नोस् भन्न पनि तीन दिन ढिलो भइसकेछ!

त्यति भईकन पनि फेरि अर्कोपटक उहाँले भन्नुभयो यति राति दस बजे, 'भोलि बिहानको डुलाइमा छ बजे मकहाँ आउनोस्, म पर्खिरहन्छु। अत्यन्त जरुरी सल्लाह गर्नुछ।' खुसी लाग्यो, धन्न अस्ति बिर्सेकोमा रिसाउनुभएको रहेनछ। तर नौबत आइलाग्यो— फेरि पनि अस्तिजस्तै होला कि भन्ने। म बिहान चार बजे उठ्ने हुँदा सुतिरहिएला कि भन्ने त समस्या नै थिएन। फेरि उहाँको प्रस्ताव बिहानको डुलाइको क्रममा नै भेट्ने थियो। तर समस्या यसपटक नबिर्सने कसरी भन्ने भयो। उपायको खोजी गर्नुपर्ने भयो मैले।

सम्झने उपायको खोजीमा बस्दा पहिलो उपाय झुल्किया— क्यालेन्डर/डायरीमा सम्झनु/गर्नुपर्ने कुराको सूचीमा लेख्ने। तर यसो विचार गर्दा त त्यो डायरीको प्रयोजन त्यति सबेरैको कार्यक्रमको लागि नहुने रहेछ। किन हेरिन्छ र त्यति सबेरै त्यो क्यालेन्डर! त्यो त दैनिक बिहानको डुलाइ र नित्यकर्मभित्रको समय हो बिहान छ बजे। नित्यकर्मको कुरा त कसैले क्यालेन्डरमा लेख्दैन। क्यालेन्डरमा उल्लेख नगरिने समयमा गरिने काम त्यसमा लेखेर नै पो के काम लाग्ने भयो र! क्यालेन्डरमा लेख्ने उपाय फेल खायो।

अब दोस्रो उपाय के हुन सक्ला त, गम्न थाल्छु। मोबाइलमा अलार्म राखूँ। यो राम्रो उपाय हुन्छ सम्झाउने उपायको रूपमा। तर आफ्नो अलार्म चार बजे नै बज्छ पढ्ने, लेख्ने र बिहानमा हिँडडुलमा जानका लागि सम्झाउन। म बिहान पाँच बजेतिर बिहानी डुलाइका लागि निस्की नै हाल्छु मोबाइल नलिई। चार बजेको अलार्मले छ बजे भेट्ने कुरा नबताउने भयो, वा पौने छ बजेको अलार्मको त केही काम नै छैन, त्यस बेलासम्म नब्युँझेको हुने भए पो!

एक मन त सम्झेँ— बिहानै उठेर पढ्न बसी नै हाल्छु। एक कागजमा भँगेरे टाउके अक्षरमा लेखेर टेबिलमा राखिदिऊँ। बिहान उठेर हेरिहाल्छु, अनि त कसरी बिर्सेला र! अर्को मनले सोच्छु— सधैं बिहान उठेर टेबिलमा लेख्न पढ्न बसेको कहाँ छु र! कहिलेकाहीँ त्यस्तो नगर्ने गरेको पनि छु। अलार्मको घन्टी बजे पनि अल्छी गरेर सुत्ने अनि बिहानको डुलाइ र नित्यकर्म गर्न जानुअघि पढ्ने टेबिलमा नै नजाने। यस्ता त कति बिहान भएका छन् कति! भोलिको बिहान त्यस्तै हुन पनि सक्छ! त्यसकारण यो उपाय काम लाग्छ जस्तो मलाई लागेन।

अर्को उपाय पत्नी पुष्पालाई सम्झाउन अनुरोध गर्नु। मैले उनीसँग अनुरोध गरेँ पनि। उनले पनि मलाई धेरै जरुरी कुरा सम्झाइदिने गरेकै हुन्। तर यसपटक भनिन्, 'हुन्छ सम्झाउँछु तर आफैं बिर्सिनँ भनेँ।' अब भयो कि! मेरो आशाको त्यान्द्रोसमेत छिनेझैं भयो। हो त, कहिलेकाहीँ उनी छ– साढे छ बजेसम्म सुतेको मलाई थाहा छ। फेरि, मैले बिर्सन सक्ने, उनले नसक्ने भन्ने त कुरै भएन। के थाहा, भोलि त्यस्तै हुन सक्छ अनि कहिलेकाहीँ रिस उठ्दा भन्ने गरेझैं पनि हुन सक्छ— आफैं सम्झनू नि आफ्ना कुरा! आफूले सम्झनुपर्ने कुरा आफू नसम्झने, मलाई दोष दिन पाइन्छ!

मलाई दोस्रोपटक बेइमान हुनु थिएन, जसरी पनि सम्झनु थियो तर बिर्सने सम्भावनाका चुकुल सबै लागेका थिएनन्। के गरूँ, कसो गरूँ को छटपटीमा थिएँ। आविष्कार आवश्यकताको जननी भन्छन्, मैले आविष्कार गर्नैपर्ने भो नयाँ उपायको।

अरू उपाय के हुन सक्छ भनेर सोच्दै थिएँ, खुब दिमाग लगाएर! झट्ट फुर्योभ। अरू म केही नगरूँला रे, बिर्सूंला रे; दुई वटा कुरा बिर्सेको छैन मैले आजसम्म। साढे पाँच बजेभन्दा अगाडि उठ्ने र शौचालय जाने। अब दुईबीचबाट नै मैले उपाय निकाल्नुपर्योै। के गरूँ त ट्वाइलेटमा मैले! ट्वाइलेट बस्ने ठाउँमा घोच्ने कुरा राखूँ कि के गरूँ! यत्तिकैमा मनमा आयो— ट्वाइलेटमा लोडसेडिङ भए पनि इन्भर्टरको बत्ती भई नै हाल्छ, यसकारण आँखा पर्ने ठाउँमा नबिर्सने कुरा लेखूँ न! ओहो, क्याबात् यस्तो विचार फुरेकोमा। अब त कसरी बिर्सेला र! अनि मैले ठूलो कागजमा लेखेँ— भोलि छ बजे ... लाई भेट्नुपर्ने!'

ट्वाइलेटको प्यानमा बस्दा आँखा पर्ने ठाउँमा भँगेरा टाउके अक्षरमा लेखेको एक पेज झ्याप्प टाँसेँ र सुतेँ आनन्दले। अब त कसरी बिर्सूंला र!

सपनामा तीन मिनेटभन्दा धेरै बेर नसम्झने रोग लागेको 'गजनी' फिल्मका पात्र आमिर खान आएर भने, 'तँलाई पनि मजस्तै बिर्सने रोग लागेको भए ट्वाइलेटको भित्ताभन्दा पनि सुरक्षित ठाउँ त आफ्नै जिउ हो। ट्वाइलेटमा पेपर टाँस्नुभन्दा पक्का त आफ्नै हातमा लेखेको भए हुन्थ्यो होला नि!'

प्रकाशित: ३ पुस २०७२ २३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App