७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

रंगिन पोखरा

कुमारी माछापुच्छे्र हिमालको आँगन पोखरामा पर्यटक रमाउने धेरै चिज छन्। धौलागिरि, अन्नपूर्ण माछापुच्छे्र लगायतका हिमाल। फेवा, बेगनास, रूपा लगायतका ताल। भद्रकाली, विन्ध्यवासिनी, विश्व शान्ति स्तुप, तालवाराही लगायतका धार्मिक सम्पदा। गुप्तेश्वर, चमेरे र महेन्द्र गुफाहरू। डेभिज फल्स, माउन्टेन म्युजियम, क्षेत्रीय संग्रहालय, पुतली संग्रहालय आदि।

विश्व शान्ति स्तुप, काहुँकोट र सराङकोटबाट सूर्योदयसँगै पोखराको तस्बिर खिच्दा आनन्द हुन्छ। पछिल्लो समय साहसिक गतिविधि बढ्दै छ पोखरामा। प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिफ फ्लाएर, बञ्जी जम्प, बोटिङ, हाइकिङ, क्यानोनिङ लगायतमा नेपालीको आकर्षण बढ्दै छ। दुई–चार दिनमा पोखरा घुमेर सकिँदैन। हप्तौं त्यहाँ रमाउन सकिन्छ। त्यसैले त ठूलो संख्यामा नेपाली पनि घुम्छन्।

फेवाताल किनार (लेकसाइड) मा धेरै होटल तथा रेस्टुराँ छन्। त्यहाँ संसारभरका परिकार पाक्छ। पर्यटकको चहलपहल पनि बाक्लै हुन्छ। पोखरालाई केन्द्र मानेर सेरोफेरोका गाउँ धम्पुस, पञ्चासे, सराङकोट, कालाबाङ घडेरी, ह्याङजाकोट, सिक्लेस, घान्द्रुक, ताङतिङ, निर्मलपोखरी, भरतपोखरी, रूपाकोट आदि धेरैतिर घुम्न सकिन्छ।

माउन्टेन बाइकिङको पनि त्यत्तिकै अवसर छ। लेकसाइडका पसलमा भाडामा पाइन्छ साइकल। सहर घुमे पनि भो, गाउँ घुमे पनि।

अंग्रेजी नयाँ वर्षका अवसरमा रेबान पोखराले 'सडकमै खाऔं सडकमै रमाऔं' भन्ने नारा बोकेर सडक महोत्सव मनाउँदै आएको छ। यसपाला पुस १३ देखि १७ गतेसम्म महोत्सव हुँदै छ। त्यति बेला लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म सडकमै खाना चाख्न पाइनेछ। त्यहाँ हिमालयज ब्यान्डको सांगीतिक प्रस्तुति हुनेछ।

महोत्सव संयोजक दोर्जे लामाका अनुसार राति एक बजेसम्म सांगीतिक माहोल हुनेछ। दुई बजेसम्म सुत्नेछैन पोखरा। थप नयाँ खानाका परिकारको व्यवस्था मिलाउन १७ देशका दूतावाससँग संयोजन गरिसकेको लामा बताउँछन्। 'हामी महोत्सवमा रेबानको एउटा छुट्टै बार पनि राख्नेछौं,' उनले भने, 'त्यसबाट कमाएको नाफाजति भुइँचालो पीडितहरूको सहयोगमा खर्च गर्नेछौं।'

सधैं रंगिन बन्ने पोखरा, महोत्सवमा झन् रंगिलो हुनेछ। महोत्सवका मुख्य ग्राहक नेपाली नै हुनेछन्। त्यति बेला खानामा १५ प्रतिशत छुट मिल्नेछ। बस्नका लागि पोखरामा सयौं होटल, लज र गेस्ट हाउसको दुःख छैन। पोखरा पुग्दा थकाली खाना छुटाउनु हुँदैन।

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। काठमाडौंको कान्तिपथबाट बिहान सात बजे पोखरा जाने पर्यटक बस छुट्छन्। तिनले छ घन्टामा पुर्यांउँछन्। कलंकीबाट साँझ पाँच बजेसम्म माइक्रो बस छुट्छन्।

प्रकाशित: ३ पुस २०७२ २२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App