१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मैले सुरु गरेका योजनाहरू अहिलेको सरकारले अलपत्र पार्‍यो, पूरा गर्न फेरि आएँ: गुरुङ

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा सुरु गरेका थुप्रै विकास योजनाहरू अहिलेको सरकारले अलपत्र पारेको गुनासो गरेका छन्।

बुधबार लमजुङको घलेगाउँमा स्थानीयहरूसँगको भेटघाट तथा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उपाध्यक्ष गुरुङले आफूले जन्माएका योजनाहरू कतिपय तुहिएको र कतिपय ‘कुपोषण’ को शिकार भएको भन्दै तिनलाई पूर्णता दिन आफू पुनः उम्मेदवार बनेर आएको जिकिर गरे।

उनले भने, ‘मैले जन्माएका बच्चा (योजना) हरू धेरै टुहुरा भए। धेरै सुकेनास लाग्यो। कोही गर्भमै रहे, जन्मिनै पाएनन्। मैले धेरै योजनाहरू ल्याएको थिएँ। बाटो, पानी, स्कुल, पुल र खेलमैदानका। तर अहिले ती अलपत्र छन्।’

गुरुङले २०७५ सालमा आफू मुख्यमन्त्री हुँदा शिलान्यास गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको लमजुङ खण्डको बाटोको उदाहरण दिँदै भने, ‘एक वर्ष धुमधाम काम भयो, तर पछि कोभिड र ठेकेदारको लापरबाहीले काम रोकियो। अहिले पनि १७/१८ किलोमिटर खण्ड विवादित र अलपत्र छ।’

उपाध्यक्ष गुरुङले वर्तमान सरकारले आर्थिक संकटको बाहनामा ३ करोडभन्दा कम बजेटका योजनाहरू तल्लो तहमा नदिने र नयाँ योजना समावेश नगर्ने नीति लिएकोप्रति असन्तुष्टि जनाए।

‘पुराना हजारौं योजनाहरू अलपत्र छन्। बहुवर्षीय योजनाहरू १०/१५ वर्षदेखि अलपत्र छन्,’ उनले भने, ‘३० प्रतिशत लगानी भइसकेका योजनाहरूलाई छोडेर नयाँ योजना हाल्न नपाइने नीतिले विकास ठप्प भएको छ।’

उनले डुम्रे–बेसीसहर–मनाङ सहायक राजमार्गको अवस्था पनि उस्तै रहेको सुनाए। ‘६ वटा खण्डमध्ये २ वटा मात्र पूरा भएका छन्। ४ वटा खण्ड बाँकी नै छन्,’ गुरुङले भने, ‘यस्ता अधुरा कामहरू पूरा गर्न मैले फेरि लमजुङबाट उम्मेदवारी दिएको हुँ।’

आफ्नै पहलमा घलेगाउँलाई ‘सार्क भिलेज’ र ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्न सुरु गरिएको स्मरण गर्दै उनले यसलाई विश्वभर चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे।

‘घलेगाउँलाई सार्क राष्ट्रकै नमुना गाउँ बनाउने निर्णय मेरै पालामा भएको हो। तर अहिलेको सरकारले त्यसको यथोचित फाइदा लिन र थप विकास गर्न सकेन,’ उनले भने।

उनले इन्टरनेट, एकै रङका घरहरू र होमस्टेको स्तरोन्नति गर्ने आफ्नो ‘स्मार्ट भिलेज’ को सपना अझै अधुरो रहेको बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले लमजुङको विकासका लागि आफू नै उठ्नुपर्ने बताएकाले उम्मेदवारी दिएको उनले प्रस्ट पारे।

‘ओलीजीले तिमी नै उठ्नुपर्छ भन्नुभयो। म भर्खरै महाधिवेशनबाट धेरै मत ल्याएर उपाध्यक्ष पनि जितेको छु। कार्यकर्ता र जनताको विश्वास मप्रति छ,’ उनले भने।

प्रकाशित: ७ माघ २०८२ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App