१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

गोली हानी दुई भारतीयको हत्या

सर्लाही- सर्लाही, गौरीशंकरमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा दुई भारतीयको शव फेला परेको छ। गौरीशंकर–८ श्रीनगरमा आइतबार भारत, सीतामढीका मुकेश कुमार र कपिलकुमार राय कुर्मीको शव भेटिएको हो।

उनीहरू दुवै जना भारतीय प्रहरीको खोजी सूचीमा रहेका अपराधी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार साँझ हत्या गरिएका उनीहरूको शव आइतबार बिहान स्थानीयले दखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिए। 'भारतीय प्रहरीले उनीहरू फरार अपराधी रहेको जनाएको छ, धारिलो हतियार र गोली प्रहार गरिएको छ, कसले गर्यो खुल्न सकेको छैन।'

प्रहरीका अनुसार मुकेशको टाउकोमा दाहिनेतर्फ पछाडिबाट एक राउन्ड गोली लाग्नुका साथै दुवै हात र गालामा धारिलो हतियारले काटिएको चोट छ। त्यसै गरी कपिललाई टाउको पछाडि र पाखुरामा गोली हान्नुका साथै हात काटिएको अवस्थामा शव भेटिएको छ।

उनीहरूलाई भारतीय प्रहरीले प्रयोग गर्ने फोरनट गोली हानिएको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट तीन थान खोका र दुई गोली बरामद गरेको छ। 'दुवै शव पोस्टमार्टमपछि भारतीय पक्षलाई बुझाइनेछ,' प्रहरी उपरीक्षक खड्काले भने।

प्रहरीले उनीहरू चढेर आएको बिआर ०६भि६१९८ नम्बरको भारतीय मोटरसाइकल स्थानीय कुलदीप महतोको घरबाट बरामद गरेको छ। प्रहरीका अनुसार उक्त मोटरसाइकल सीतामढीका सञ्जय कुमारको नाममा छ। घटनाको रात उनीहरू दुवै जना राति अबेरसम्म कुलदीपकै घरमा मदिरा सेवन गरेर बसेका थिए। घटनापछि कुलदीप पत्नीसहित फरार रहेकाले हत्यामा उनैको संलग्नता हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झाले बताए।

काठ व्यापार गर्दागर्दै राजनीतिमा छिरेका महतो केही वर्षपहिला मधेसमा भूमिगत ज्वाला समूहमा आबद्ध भई आपराधिक गतिविधिमा सामेल हुँदै आएका थिए।

प्रकाशित: २७ मंसिर २०७२ २१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App