२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

उत्पादन घट्दा पनि सुन्तलाबाट साढे चार लाखको आम्दानी

खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन। असामान्य मौसम, उत्पादनमा आएको कमी र बढ्दो लागतका बिच पनि म्याग्दीका किसान भूपेन्द्र शर्मा करिब साढे चार लाख रुपैयाँबराबरको सुन्तला बेच्न सफल भएका छन्।

घामपानीको परवाह नगरी उनको मेहनत अन्ततः बजार पुगेको छ। उत्पादनमा केही कमी आए पनि बजारसम्म पुर्‍याउन सफल हुनु किसानका लागि ठुलो उपलब्धि भएको उनी बताउँछन्। यसपालिको उत्पादनमा उनको जिन्दगीका यथार्थ, संघर्ष र आत्मसन्तोष मिसिएको छ।

यस वर्ष करिब ६२ क्विन्टल उत्पादन भएकोमा अघिल्लो वर्षको तुलनामा उत्पादनमा कमी आएको उनले बताए। ‘यो वर्ष मौसमको कारणले होला पोहोरजस्तो राम्रो सुन्तला फलेको छैन’, उनले नागरिकसँग भने। पोहोरको तुलनामा केही कमी भए पनि यो समस्या मेरो मात्रै होइन, समग्र रूपमा यसपालि सबैको उत्पादनमा कमी आएको छ।’

उनका अनुसार सुन्तला उत्पादनमध्ये तीन गाडी चितवन पठाइयो। त्यो सुन्तला टिप्न करिब चार दिन लाग्यो। त्यसका लागि ५० जना खेताला परिचालन गर्नुपर्‍यो। प्रतिक्विन्टल सात हजार रुपैयाँको दरले बिक्री भएको सुन्तलाबाट साढे चार लाख रुपैयाँभन्दा बढीको कारोबार भएको उनले नागरिकसँग बताए। ‘उत्पादन घटे पनि मेरो हौसला घटेको छैन’, उनले नागरिकसँग भने, ‘खेतमा बगाएको पसिना, राम्रैसँग बजारसम्म पु¥याउनु ठुलो कुरा हो। मौसमले सधैं साथ त कहाँ दिन्छ र? मौसम र चुनौतीका बाबजुद पनि काम गर्न सक्नुप¥यो तर आफूले मेहनत गर्न छाड्नु हुन्न।’

आज उनी माटोसँग जोडिएर गर्वका साथ उभिएका छन् तर यही अवस्थासम्म आइपुग्न उनको लामो संघर्ष छ। उनको वैदेशिक यात्रा युएईमा एक दशकभन्दा बढी समय पसिना बगाएरै बितेको थियो।

मुलुकभित्रको अस्थिरता, बुढेसकालका बाबुआमा र परिवारप्रतिको जिम्मेवारीले २०६२ सालतिर देश ‘जनयुद्ध’ को चपेटामा परेका बेला पढाइ अधुरै छाडेर उनी बिदेसिएका थिए।

वैदेशिक रोजगारीमा गएका उनले आफ्नी पत्नीलाई इच्छाएको शिक्षा दिलाए। युएईमा पसिना बगाएका भूपेन्द्रले आफ्नी पत्नीलाई स्टाफ नर्स पढाएको बताउँछन्। अहिले घरमा आम्दानी भित्र्याउनेमा आफू मात्रै नभएर पत्नीसमेत रहेको उनले बताए।

१० वर्ष विदेश बसेपछि परिवारकै आग्रहमा उनी स्थायी रूपमा स्वदेश फर्किएका थिए। विदेशबाट फर्किएपछि पैत्रिक सम्पत्तिको पहिचान गर्दै फलफूल खेती सुरु गरेका हुन्। अग्रजहरूले २०५५ सालमा रोपेका एक सय ५० वटा सुन्तलाका बोट उनको आधार बनेको छ।

वैदेशिक रोजगारबाट २०७३ मा फर्कंदा ती बोट फाँड्नुपर्ने अवस्थामा थिए। उनले पुराना बोटलाई गोडमेल गरेसँगै तीन सय नयाँ बिरुवासमेत थपेको उनी बताउँछन्। आज ती जम्मा चार सय ५० बोट नै उनको आत्मनिर्भर यात्राको मेरुदण्ड बनेका छन्।

सुरुवाती दिन उनका लागि त्यति सजिलो थिएन। युएईबाट फर्केकै वर्ष उनको वार्षिक आम्दानी १३ हजार रुपैयाँ मात्र थियो तर उनी निराश भएनन्। क्रमशः आम्दानी बढ्दै गयो। २५ हजार, ५२ हजार, ८० हजार हुँदै अहिले साढे चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएकोमा उनी गर्व गर्छन्।

उनले लगाएको सुन्तलाको बगैंचामा पसिनाको सुगन्ध मिसिएको छ तर भूपेन्द्रको पहिचान सुन्तला उत्पादनमा मात्र सीमित छैन। उनी बहुआयामिक किसान हुन्, जसका हात खाली बस्दैनन् र खेतबारी कहिल्यै बाँझो हुँदैन।

सुन्तलासँगै उनले विभिन्न प्रजातिका कागती, तरकारी र फलफूल खेती गर्दै आएका छन्। बोटबिरुवासँग उनको सम्बन्ध प्रेमगत रूपले चलेको छ।

आज उनीसँग सुन्तलासँगै कागतीका सयौं बोट, बुद्धचित्त (बुद्धमाला) का सयभन्दा बढी बोट छन्। उनको १५ रोपनी जग्गा कतै खाली छैन। उनले जग्गाको कान्लामा पनि कागतीका बोटबिरुवा लगाएका छन् । एउटै कागतीको बोटबाट वर्षमा झन्डै सात हजार रुपैयाँ आम्दानी हुने उनी बताउँछन्। घरआँगनमा ड्रागन फल फलेपछि उनी झनै उत्साहित छन्।

लगनशीलताले भरिएका उनी खेतीसँगै पशुपालनमा पनि सक्रिय छन्। २५ भन्दा बढी पशुचौपायालाई उनी दिनहुँ मायाले सिँगार्छन्। गाई–गोठदेखि बारीसम्म दिनको यात्रा चलिरहेको उनले बताए। ‘मेरो दिन बिहानैबाट सुरु हुन्छ’, भूपेन्द्रले भने, ‘घाम नउदाउँदै गाईगोठ पुगेर दूध दुहिन्छ, दिउँसो खेतबारीमा धान, गहुँ, तरकारीको चासो लिइन्छ। वर्षभरि के उत्पादन गर्ने, कसरी उत्पादन बढाउने। यिनै योजनामा धेरै व्यस्त भइन्छ। खेती भनेको केवल बाली उब्जाउनु मात्र होइन, निरन्तर मेहनत र धैर्यको अभ्यास हो।’

यस यात्रामा उनी एक्लै छैनन्। उनका पत्नी र छोराछोरीले समेत साथ दिएका छन्। घरपरिवारको साथ, सहयोग र समझदारीले नै आफूलाई यहाँसम्म ल्याएको भूपेन्द्र बताउँछन्। परिवारको सहभागिताले खेतीलाई सजिलो मात्रै होइन, अर्थपूर्ण बनाएको उनको अनुभव छ। ‘वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने भनेर भौंतारिनुभन्दा आफ्नै माटोमा पसिना बगाएर वार्षिक रूपमा राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘सुरुका केही वर्ष सफल नहोलान् तर मेहनत लगातार छ भने अवश्य दुःख गरेको परिणाम छिटै पाइन्छ।’

उत्पादनमा पसिना बगाएसँगै यसको केही पक्ष भने नमिठो भएको उनी आफ्नो अनुभव सुनाउँछन्। खेतीलाई धेरैले दुःखी पेसा ठान्छन्। यही सोचका कारण किसान हेपिने गरेका छन्।

छिमेकमा जागिर खानेको इज्जत बढी हुन्छ। कृषि कर्मको मूल्य कम रहेको छ तर पनि यो सबै कुरालाई पछाडि पार्दै  निरन्तर मेहनतले आफ्नो परिचय बदलिएको उनले बताए। राष्ट्रिय पुरस्कारसमेत पाएका उनी अहिले गाउँकै नमुना उद्यमी बनेका छन्।

यद्यपि सफलतासँगै उनका पीडा पनि छन्। कृषि क्षेत्रमा बिचौलिया प्रणाली किसानका लागि ठुलो समस्या बनेको उनी बताउँछन्। राज्यले कृषकका उत्पादन सीधै किन्ने व्यवस्था गर्नुपर्ने उनको माग छ। यसो भए किसान निराश होइन, हौसलाले भरिने थिए।

भूपेन्द्रका ठुला सपना छैनन्। छोराछोरीलाई राम्रो शिक्षा दिएर स्वदेशमै सक्षम नागरिक बनाउने उनको चाहना हो। सबै युवा बिदेसिएपछि देशमा श्रमिक अभाव हुने उनले खतरा देखेको बताउँछन्। ‘परिवारसँगै आफ्नै माटोमा दुःख गर्नु नै साँचो सुख हो’, उनले नागरिकसँग भने।

उनका लागि यी उत्पादन केवल आम्दानीको हिसाब मात्रै होइन, स्वदेशमै बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वासको बलियो प्रमाण हो। यही विश्वासका साथ उनले २०८६ सालसम्म १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने स्पष्ट लक्ष्य तय गरेका छन्।

प्रकाशित: १० पुस २०८२ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App