जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टिआइए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य गरी ११ पदक जितेका छन्।
पुम्सेमा रोजेन प्रजापति र मुविक्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुख समेत रहेका टोली प्रमुख राजेश प्रजापतिले जनाएका छन्।
गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापामगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कांस्य हात पारे।
उक्त प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका रूपमा सहभागी थिए। प्रतियोगिता भारतको कोलकातास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ तारिखसम्म भएको थियो।
प्रकाशित: १० पुस २०८२ ०८:३५ बिहीबार





