२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

उदयपुर–२: राई र रायमाझीको पुनः भिडन्त, रुख र घण्टी इतिहास रच्ने दाउमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उदयपुर–२ को चुनावी माहोल तातिँदै गएको छ। ठूला–साना सबै दल घरदैलो, भेला–बैठक र प्रचारसभामा व्यस्त छन्। चुनावी मैदानमा कुल १८ जना उम्मेदवार उत्रिएका छन्।

यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीका उम्मेदवार सक्रिय छन्। त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, विप्लव नेतृत्वको नेकपा (माओवादी) र स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा छन्। यद्यपि राजनीतिक वृत्तमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र नेकपाबीच हुने आँकलन गरिएको छ। पछिल्ला दिनमा रास्वपाले पनि आक्रामक अभियान चलाउँदै चौथो शक्ति बन्ने संकेत दिएको छ। त्यस अर्थमा उदयपुर–२ को चुनाव चौपक्षीय भिडन्तमा रूपान्तरण हुने अनुमान गरिएको छ।

मतगणितको केन्द्र: कटारी

उदयपुर जिल्लामा कुल २ लाख ३८ हजार ९ सय २६ मतदाता छन्। तीमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ९६ हजार १ सय २२ मतदाता रहेका छन्। यो क्षेत्रमा कटारी नगरपालिका र अन्य चार गाउँपालिका समेटिएका छन्।

कटारी नगरपालिकामा मात्रै ४१ हजार ४ सय ६ मतदाता छन्। त्यसैले निर्णायक मत कटारीमै केन्द्रित मानिन्छ। बजार क्षेत्रका वडा नं. ३, ४, ५, ६ र ७ मतदाताबाहुल्य छन्। त्यसपछि वडा नं. १ र २ मा उल्लेख्य मतदाता छन्। पहाडी भेगका वडा नं. ८, ९, १०, ११, १२, १३ र १४ मा तुलनात्मक रूपमा कम मतदाता छन्।

कटारी बाहेकका चार गाउँपालिकामा गरी ५४ हजार ७ सय १६ मतदाता छन्। लिमचुङबुङ गाउँपालिकामा सबैभन्दा कम ८ हजार ६ सय ८९ मतदाता छन्। ताप्लीमा १० हजार १ सय ५५, रौतामाईमा १४ हजार ९ सय ९३ र उदयपुरगढीमा २० हजार ८ सय ७९ मतदाता रहेका छन्।

कटारी एक्लैमा ४१ हजार ४ सय ६ मतदाता हुनु र बजार क्षेत्रका केही वडाको मतसंख्या नै पहाडी गाउँपालिकासँग दाँजिने भएकाले सबै दलले आफ्नो शक्ति र समय कटारीमै केन्द्रित गरेका छन्।

दाबी र आधार आ–आफ्नै

कांग्रेस उम्मेदवार रामकुमार राई आफू कटारीकै स्थायी बासिन्दा भएकाले जनताको साथ पाउने विश्वासमा छन्। उनका चुनावी कमाण्डर तथा प्रदेशसभा सदस्य रामकुमार खत्रीले राई स्थानीय र लोकप्रिय नेता भएकाले कांग्रेसको पल्ला भारी हुने दाबी गर्छन्।

एमाले उम्मेदवार अम्मर रायमाझीले पनि आफ्नो कार्यकाल पूरा नहुँदै मध्यावधि निर्वाचनको सामना गर्नुपरेको भन्दै जनताको सहानुभूति मत प्राप्त हुने अपेक्षा राखेका छन्। उनका चुनावी कमाण्डर जीवनाथ दाहालका अनुसार २०७९ को चुनाव जिते पनि तीन वर्ष नपुग्दै ‘जेनजेड आन्दोलन’का कारण संसद् विघटन हुँदा अधुरा काम बीचमै रोकिएको पीडा जनताले बुझ्नेछन्।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेशकुमार राई (हिमाल) २०७४ मा जितेर थालेका विकास निर्माणका काम अधुरा रहेको उल्लेख गर्दै यसपटक जित अपरिहार्य भएको दाबी गर्छन्। उनका चुनावी कमाण्डर मोहन खत्री (दीपक) भदौ २३–२४ को ‘जेनजेड आन्दोलन’ले उठाएका मुद्दा सम्बोधन गर्ने शक्ति पनि नेकपा नै भएको बताउँछन्।

पूर्वसांसद तथा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राई तत्कालीन एमाले–माओवादी एकतापछि बनेको प्रदेश कमिटीका पूर्वअध्यक्ष पनि हुन्। अघिल्लो कार्यकालमा मन्त्री बन्ने तयारीमा रहे पनि पार्टीभित्रको अन्तरसंघर्षका कारण अवसर गुमाएका थिए। भोजपुरका सुदन किराती र मोरङका अमनलाल मोदी मन्त्री बन्दा उनी छुटेका थिए।

उम्मेदवारको पृष्ठभूमि

रामकुमार राई २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन कटारी गाविसका अध्यक्ष निर्वाचित भएका थिए। २०७४ मा मेयरका आकांक्षी बने पनि टिकट नपाएपछि माओवादीमा प्रवेश गरेका थिए। त्यसपछि पार्टी कारबाही, फुकुवा, पुनः स्वतन्त्र उम्मेदवारी र फेरि कारबाही हुँदै उनी अहिले कांग्रेसबाट उम्मेदवार बनेका हुन्।

एमालेका अम्मर रायमाझी जिल्ला कमिटी सदस्य हुँदै अघिल्लो चुनाव जितेपछि प्रदेश सचिवालय सदस्यको हैसियतमा पुगेका छन्। एमालेभित्र विकल्पको अभावका कारण दोस्रो पटक उम्मेदवार बन्ने अवसर जुरेको चर्चा पार्टी वृत्तमै छ।

रास्वपाका सूर्यबहादुर तामाङ र श्रम संस्कृति पार्टीका बलराज राई पहिलो पटक संसदीय चुनावी मैदानमा देखिएका अनुहार हुन्। सामाजिक सञ्जाल र प्रविधिको उच्च प्रयोगमार्फत उनीहरूले प्रचारलाई गति दिएका छन्। तर संसदीय चुनावी अनुभवको अभावका कारण अपेक्षित परिणाम हात पार्न कठिन हुने विश्लेषकहरूको अनुमान छ।

परिणामको प्रतीक्षा

सबै उम्मेदवार आ–आफ्नो जितको दाबी गर्दै चुनावी मैदानमा होमिएका छन्। तर अन्ततः जित्ने एक जना मात्र हुनेछन्। मतदान मिति फागुन २१ आउन अझै केही दिन बाँकी रहेकाले उदयपुर–२ को अन्तिम परिणाम थाहा पाउन भने अझै एक साता कुर्नुपर्नेछ।

प्रकाशित: १५ फाल्गुन २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App