२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

'संस्मरणमा लेखक हिरो हुनु स्वभाविक'

पोखरा- आत्मकथा र संस्मरण लेख्ने चलन जति बढेको छ, यो विधामा लेखिएको पुस्तकको आलोचना पनि उत्तिकै हुन थालेको छ। शनिबार पोखरामा पाठकहरुमाझ आएका रमेशनाथ पाण्डेलाई पनि पाठकले उही शैलीको आलोचना गरिहाले, 'किताबमा आफ्नोमात्रै बढाइचढाइ धेरै भयो। अरुलाई खलनायक र आफूलाई नायकको रुपमा चित्रण गरियो।'कूटनीति र राजनीति किताबका लेखक पाण्डेले त्यसको जवाफ पनि कूटनीतिक तरिकाले नै दिए। भने, 'संस्मरण भन्ने विधा नै त्यस्तै हो, जहाँ लेखक केन्द्रमै हुन्छ।' ग्रिकबाट सुरु भएको यो विधामा आफैं सहभागी भएका वा साक्षी बसेका घटना आउने हुँदा लेखक केन्द्रमै हुने उनको उत्तर थियो। 'यो इतिहासको किताब होइन, जहाँ लेखकको नाम किताबको पहिलो पेजमा मात्रै होस्,' उनले अझै थपे।

र्याबन्डम रिडर्स सोसाइटी अफ नेपालले महिनाको अन्तिम शनिबार गर्दै आएको लेखक र किताबमाथिको छलफलका क्रममा यसपालि पाण्डे निम्त्याइएका थिए। छलफलका क्रममा कृष्ण केसीले पाण्डेको किताबमाथि टिप्पणीपत्र प्रस्तुत गर्दै किताब लामो भएको बताए। 'तर रमेशनाथले यो पुस्तक छोट्याएको भए धेरै महत्वपूर्ण घटनाहरु छुट्न सक्थे,' उनले भने, 'पुस्तक पढ्दा पट्यारिलो कतै छैन, कैयौं घटनाहरु त पाठकलाई उत्तेजित पार्ने खालका छन्।' तर, पाठक मदन भण्डारीले भने किताब पढ्दा झर्काे र मूल्य चर्काे भएको टिप्पणी गरे।

अर्का पाठक लक्ष्मीशरण अधिकारीले बितिसकेका घटनामा यस्तो हुनुपर्थ्याे, उस्तो हुनुपर्थ्याे भन्ने पाण्डेले ताजा समस्यामा यस्तो हुनुपर्छ भन्न नसकेको आरोप लगाए। धेरैजसो पाठकले भने भारतले अहिले लगाइरहेको नाकाबन्दीका बारेमा पाण्डेको धारणाबारे कौतुहलता पोखेका थिए।

पाण्डेले भारतीय नाकाबन्दीबाट मुलुक ४०/५० वर्ष पछाडि धकेलिएको बताए। नेपालीले आफ्नो राष्ट्रियताको स्वामित्व आफैंले लिनखोज्दा भारतले नाकाबन्दी लगाएको उनको भनाइ थियो। तर भारतले आफ्नो हैसियत बिर्सेर नेपालको स्वतन्त्रतामाथि अपमान गरेको उनले बताए। 'भारत देश बनेपछि स्वतन्त्र राष्ट्रको मान्यता नेपालले दिएको थियो,' उनले इतिहास खोतले, '१९४७ पछि हामीले मान्यता दिएका थियौं भारतलाई, अहिले उसले त्यो तथ्य भूलेको छ।'

नाकाबन्दीको समाधान कहिले होला भनेर कुर्नभन्दा यसबाट फाइदा उठाउनुपर्ने विचार उनले व्यक्त गरे। क्युबाले ६० वर्षसम्म अमेरिकी नाकाबन्दी सहन सकेको उदाहरण उनले दिए। '६० वर्षपछि आखिर अमेरिका झुक्यो,' पाण्डेले भने, 'क्युबासँग त हाम्रो उत्तरी छिमेकी चीनजस्तो देश पनि छैन। हामीले त चीनको सहयोग पनि त लिन सक्छौं।' पेट्रोल चीनबाट ल्याउने निर्णय मन्त्रिपरिषदबाट भइसकेपछि पनि भन्सार तिरेको छैन भनेर अर्थ मन्त्रालयले रोक्नुलाई उनले प्रशासनिक कमजोरीको संज्ञा दिए। 'नेपाल सरकारसँग २ वटा खल्ती छन्, एउटा आयल निगम अर्काे भन्सार,' उनले भने, 'आखिर जुन खल्तीमा हाले पनि एउटै कुरा थियो, तर त्यत्ति कुरामा पनि अल्झेर बसियो।'

प्रकाशित: २६ मंसिर २०७२ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App