तालीको गडगडाहट गुञ्जियो सभास्थलमा, जहाँ समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको भरमार उपस्थिति थियो। को थिएनन् त्यहाँ?
– राजनीतिज्ञहरू थिए,
– वकिलहरू थिए,
– शिक्षकहरू थिए,
– चिकित्सकहरू थिए,
– लेखक–साहित्यकारहरू पनि उत्तिकै थिए,
– व्यापारीहरू, प्रशासकहरू, सञ्चारकर्मीहरू थिए,
– र, थिए आइएनजिओ चलाएर बसेका समाजसेवीहरू।
यीमध्ये विषय प्रवेश गराउने व्यक्ति थिए, एक प्रसिद्ध डाक्टर। मात्रै डाक्टर होइन सुपरिचित राजनीतिज्ञ पनि र बौद्धिक लेखक पनि। त्यसका अलावा मानवअधिकारकर्मी पनि थिए उनी।
उनको बोलीको असर— सामान्यतया उनको अभिव्यक्तिमा अलिक बढी ताली बज्नु स्वाभाविक थियो। किनकि आकर्षक उखान–तुक्का जोडेर र आकाश–पाताल जोडेर तार्किक भाषण गर्नमा माहिर थिए उनी।
त्यसैले बजिरह्यो ताली केही क्षण र बिस्तारै बन्द भयो।
अन्ततः 'अबको आन्दोलन : नारीको उन्मुक्ति' निष्कर्षका साथ समारोह समापन भयो। समारोह समापनसँगसँगै त्यहाँ एउटा महŒवपूर्ण बुँदाको प्रस्ताव पारित भएको थियो। जहाँ भनिएको थियो, 'नारी वर्ग सदैव गर्भाधान भएर पुरुष जातिलाई चाहिँ स्वतन्त्रता दिइने विभेदको अन्त गरिनुपर्छ।'
०००
'म आफ्नो पाठेघर फ्याँक्न चाहन्छु।'
आफ्नो क्लिनिकभित्र कसैको यो नौलो चाहना सुनेर उनै चिरपरिचित भाषणकर्ता डाक्टर छक्क परे। उनले त्यो चाहना बोलिएको दिशातर्फ आफूलाई मोडे।
त्यहाँ उभिएकी थिइन्, एक सुन्दर युवती। उमेर, करिब पच्चीस–तीसको देखिने।
'तपाईंका बच्चाबच्ची छन्?' डाक्टरको प्रश्न।
युवतीले जवाफ दिइन्, 'म सिंगल।'
बिहे भएकै छैन... छोराछोरी जन्मेकै छैनन्... यस्तो अविवाहिता नारीको मुखबाट आफ्नो पाठेघर फ्याँक्ने अभिव्यक्ति!! आश्चर्य!!! मनमनै मुस्कुराए डाक्टर। तर बाहिरी रूपमा उनले जिज्ञासा पोखे, 'आफ्नो जीवनमाथि यस्तो ठूलो निर्णय कसरी गर्न सक्नुभो? त्यसमाथि तपाईं अविवाहिता।'
युवती खुलिन्, 'तपाईंका जिज्ञासा तपाईंसँगै रहोस्। यति बेला म नारी शोषणको उन्मुक्तिमा तपाईंले सुरु गर्न लाग्नुभएको आन्दोलनको पक्षमा छु।'
'ओ...द्याट्स राइट!' नारी उन्मुक्तिको आफ्नो आन्दोलनले यति चाँडै रङ देखाऊला भन्ने सोचेकै थिएनन् डाक्टरले।
उनले युवतीको अनुहार नियाले, युवतीका आँखासँग उनका आँखा जुधे। सफलताको एउटा तरंग दौडियो डाक्टरको रगतमा। सरासर गएर गम्लङ्ग अँगाले युवतीलाई। युवतीले थोरै पनि विरोध जनाइनन्। एक हिसाबले, किञ्चित कुनै किसिमको सरमले उपस्थिति पाएन त्यहाँ। स्वतन्त्र! एक नारी र एक पुरुष।
०००
डाक्टरी विद्या पढ्दा कहीँ कुनै किताबका पृष्ठमा नपढेको, कुनै विद्वान् प्रोफेसरबाट नसिकेको यो नितान्त भिन्न... आफैंले आविष्कार गरेको सन्देशबाट उत्पे्ररित पहिलो अनुसरणकर्ता आफ्नो पोल्टोमा पाएर डाक्टर निक्कै प्रफुल्लित थिए।
आन्दोलनमुताबिक तयार भएर आइसकेकी छिन् युवती, आफ्नो पाठेघर फ्याँक्न।
आश्चर्य! जसै युवतीको शरीरबाट शल्यक्रिया गरेर पाठेघर झिकिँदै थियो उनको अनुहारमा दुखाइको कुनै पीडा देखिन्नथ्यो, बरु एउटा अनौठो किसिमको रौनक देखिन्थ्यो।
जसको शरीरमा चोट लगाइँदै छ, जसबाट उनैको अभिन्न अंग झिकिँदै छ, ऊ नै खुसी? ऊ नै प्रसन्न? के रहस्य छ यसमा?
पाठकवृन्द, आधिकारिक रूपमा प्राप्त जानकारीअनुसार त्यो रहस्यसँग जोडिएको वास्तविकता यहाँ बताउन अपरिहार्य छ।
युवती! उमेरको हिसाबले खासमा उनी युवती होइनन्, उनको अनुहारको शृंगार, उनको प्रभावशाली बोल्ने कला र लच्किँदो हिँडाइका कारणले मात्रै उनी पच्चीस–तीसकी देखिने गरेकी हुन्। वास्तवमा उनको उमेर चालीस पनि नाघिसकेको छ। अर्थात् उनी एक अधबैंसे नारी हुन्।
बुँदागत रूपमा, छोटकरीमा उनको जीवनयात्रा यस्तो छ :
– उनी मध्यम परिवार घरानामा जन्मेकी हुन्,
– चञ्चले स्वभाव उनको चरित्रमा नै थियो,
– विशेष गरेर स्कुले केटासाथीसँग उठबस हुनु उनको दैनिकी थियो,
– किशोरावस्थामसम्म आइपुग्दा मायाप्रेमको विषयमा उनी निकै अगाडि बढिन्,
– एक दिन, घरपरिवारसँग विद्रोह गरेर आफ्नो प्रेमीका साथ उनी राजधानी पसिन्।
– राजधानीको संगतमा बिस्तारै उनी आधुनिक—अत्याधुनिक—साहित्यिक भाषामा भन्नुपर्दा उत्तरआधुनिक बन्दै गइन्। त्यसो त, आफ्नो प्रेम–समयमा उनले प्रेमपत्र लेख्दालेख्दै कविता लेख्न जानिसकेकी थिइन् र तिनै कविता परिस्कार गर्दै राजधानीका सभ्य साहित्यिक समारोहहरूमा सुनाउँदै जाँदा उनले 'उत्तरआधुनिक कवयित्री'को उपमा पाइसकेकी थिइन्।
समय यस्तो आयो, साहित्यिक कार्यक्रमको व्यस्ततामा उनको प्रेमीको प्रेम उनलाई अपुग हुन लाग्यो। अतः कविता–यात्रासँसँगै धेरै यात्रीहरूसँग एकसाथ उनको जीवन–यात्रा तय हुन लाग्यो। कति यात्रा सुरु हुन खोज्दाखोज्दै त्यत्तिकै टुंगियो, कति केही दिन चले, कति केही महिना चले, कति त एक–दुई वर्ष चले। एउटा त अपवाद नै, पूरा पाँच वर्ष चल्यो। दुर्भाग्य, त्यो यात्राको पनि दुःखद् अन्त भयो। तर त्यसप्रति किञ्चित पीडा थिएन उनलाई। उनको भाषामा, यी सबै प्रेम थिए। उनी मन्त्र नै जप्थिन्, 'जीवन भनेको प्रेमको यात्रा हो।' र, यही मन्त्रलाई 'गीताज्ञान' मानी उनी यस्तो प्रेम–यात्रामा दशकौं डटिरहिन्।
शंका गर्नैपरेन, उनको प्रेम–यात्रा उत्सवमय थियो। र, यो उत्सवमा भ्रुणहरूसँग खेल्नु उनको सच्चा प्रेमको अर्को पाटो थियो। उनको पाठेघरमा खेल्दाखेल्दै, त्यो खेलमा कति भ्रुणले उनीसँग हारे, त्यसको कुनै हिसाब राखिनन् उनले। निःसंकोच भन्थिन् उनी, 'प्रेम–उत्सवमा प्रेमबाहेक अर्थोक सबै गौण!' यसकारण पनि, उनले कहिल्यै प्रसव वेदनाको पीडा भोगिनन्। एक अर्थमा, त्यो पीडा भोग्नुपर्ने विवशताबाट उनले आफूलाई मुक्त पारेकी थिइन्। सिधा यही दृष्टिकोणले हेर्दा, उनको पाठेघर उनैलाई भारी भइसकेको थियो। उनले लुकाएर राखेको मेडिकल रिपोर्टमा समेत स्पष्ट लेखिएको थियो— इट (पाठेघर) इज सो डेन्जरस टु योर हेल्थ। त्यही रिपोर्टमा शंकासमेत व्यक्त गरिएको थियो— यही स्थितिमा शरीरमा पाठेघर रहिरहने हो भने क्यान्सरको जोखिम उच्च छ।
यस्तो किसिमको जीवनयापन गर्दै आएकी उनी!
यस बेला, डाक्टरसाबको आन्दोलन उनका लागि 'सेफ ल्यान्डिङ' भएको थियो। जसलाई उनले 'गहिरो प्रेम'को संज्ञा दिएकी थिइन्। एक हिसाबमा, प्रेमको डेरा सरेकी थिइन् उनी। शरीरबाट पाठेघर झिकिसकिएपछिको डेरा। हुन त, एक–आपसको प्रेमालापमा यो प्रेमको डेरालाई स्थायी घर नै भने पनि हुने। तर उनको परिभाषाअनुसार 'प्रेम कहिल्यै स्थायी हुँदैन, सधैं गतिशील हुन्छ।'
सदैव उनी जोड दिएर भन्ने गर्थिन्, 'संसारका सबै वस्तु परिवर्तन भइरहन्छन् भने प्रेम भन्ने विषयचाहिँ किन अछुत? प्रेम झन् परिवर्तनकारी छ, हुनुपर्छ।' वाह! मार्क्स र फ्रायडको फ्युजन! अर्थात्, परिवर्तनशीलता र यौनिकता, एउटै आधारशीलामा। सर्वथा नौलो प्रयोग!
०००
नयाँ, बडो मिल्दो जोडी बन्यो डाक्टरसाब र युवतीको। प्रेमी र प्रेमिकाको जोडी। दुवैले एकसाथ बाँच्ने शब्दका कसम त खाएनन्, तर व्यवहारमा एकसाथ बाँच्ने मनस्थिति बनाएका देखिए।
त्यसरी बाँच्ने सिलसिलामा, एक दिन त्यो युगल जोडी हान्निए सुदूरको कुनै एक निश्चित गाउँतर्फ।
गाउँ सुन्दर थियो तर विकट। घरहरू भन्नु त्यहाँ झुपडीहरू मात्रै थिए, बाह्र–पन्ध्र धुरीका। भौतिक विकासको सपनाभन्दा धेरै पर, परिश्रम र स्वावलम्बनको सहज जीवनयापन त्यहाँका बासिन्दाको दैनिकी थियो। अवश्य, त्यहाँ दुःख थियो। निर्धन थिए सबै जना। तथापि, खुसी नभए पनि दुःखी भने थिएनन् जस्ता लाग्थे।
त्यहाँ, पछिल्लो पुस्ताका बालबालिका या युवा पुस्ताबाहेक अन्य सबैलाई शिक्षा कुन चरीको नाम हो, कसैलाई थाहा थिएन। अज्ञानताको पराकाष्ठामा आफ्नै पारम्परिक समाज थियो त्यहाँ। खास गरेर, नारी र पुरुषबीच सामाजिक असमानताको एउटा ठूलो खाडल थियो।
पुरुषहरू दिनभर बाहिरै, खेतीबारीका काम गर्थे, नारीहरू घरधन्दाकै काम गरिरहन्थे। नारी जातिले घरआँगनभन्दा बाहिरफेर हिँड्नु/जानु सामाजिक मर्यादाको उल्लंघन गरेको ठानिन्थ्यो त्यहाँ। कहीँ–कतै सामुन्ने कुनै पुरुष आइपरे आफ्नो अनुहारलाई पछ्यौराले ढाक्नुपर्थ्यो। यस्तो संस्कारलाई पूर्ण स्वीकारोक्तिका साथ उनीहरूले अवलम्बन गरिरहेका थिए।
०००
'होइन, के अचम्म देख्नुपर्यो ?'
साँझको गोधूलिको समयमा एक–आपसका हात समाएर आइरहेका नौला मान्छे त्यसमा पनि विपरीत लिंगी, डाक्टरसाब र युवतीलाई एकसाथ एकाएक देख्ने त्यो गाउँका महिलाहरूले आफ्ना जिब्रो टोके।
खोजखबरी भयो।
– को हुन् यी नौला मान्छेहरू, गाउँमा?
– किन आएका हुन् यहाँ?
तर, जिज्ञासाको निरूपण भएन। दुई दिन यत्तिकै बिते।
तेस्रो दिन, गाउँको बीचमा रहेको शिवजीको मन्दिर परिसरमा देखियो त्यो युगल जोडी। र, त्यस बेला त्यहाँ त्यो जोडीमात्रै थिएन तिनीहरूले मन्दिरको पर्खालसँगै एउटा सानो मञ्चजस्तो बनाएका थिए। पर्खालमा, एउटा सानो ब्यानर टाँसेका थिए, जसमा ठूल्ठुला अक्षरले लेखिएको थियो— अबको आन्दोलन : नारीको उन्मुक्ति।
के हो? कसो हो? जान्न आतुर भएर पनि कसैले केही सोध्न सकेनन्।
मध्याह्नहको समय, गाउँका सबै लोग्नेमान्छेहरू काममा आफ्ना घरबाट बाहिर निस्किसकेका थिए। यही अवसरको प्रतीक्षा थियो त्यो जोडीलाई।
'प्यारा दिदीबहिनीहरू...!' डाक्टरसाबको आवाजले महिलाहरू त्यसैतर्फ आकर्षित भए। अर्थात्, त्यहाँ तैयार गरिएको अस्थायी मञ्चका वरिपरि जम्मा भए ती।
'हेर्नुस्, नारी जातिमाथि कति थिचोमिचो भइराखेको छ,' डाक्टरसाबले भाषण सुरु गरे, 'तपाईंहरूलाई कसले थिचोमिचो गरिराखेको छ? तपाईंहरूलाई पनि थाहा छ। तर...' उनले जानाजानी वाक्य पूरा गरेनन्। यसको अर्थ उनी त्यहाँ उपस्थित महिलाहरूबाट आफ्नो बोलीको प्रतिक्रिया चाहन्थे। उनले सबैको अनुहार नियाले। तर सबै महिलाहरू एक–आपसमा मुखामुख गरिरहेका थिए, मानौं उनीहरू आफूहरूलाई थिचोमिचो गर्ने मान्छेको परिचय एक–अर्कासँग मागिरहेछन्।
'दिदीबहिनीहरू, हेर्नोस् यस्तो अन्यायलाई हामीले चुपचाप सहेर बसिराख्नु हुँदैन,' उनले झटपट आफूतर्फ आकर्षित गर्दै एउटा महान् वाणी बोले, 'अन्याय सहनु भनेको अन्याय गर्नुभन्दा पनि ठूलो पाप हो।'
उपस्थित महिलाहरूका आँखा केही नबुझेर ट्वालट्वाल्ती मञ्चतिरै एकोहोरिरहेका थिए।
अब बोल्ने पालो युवतीको। उनले आफ्नो चिरपरिचित मोहिनी बोलीमा शब्दजाल फ्याँकिन्, 'तपाईंहरूलाई सधैं घरधन्दामै लगाएर लोग्नेमान्छेहरू बाहिरबाहिरै हुन्छन्, उनीहरूको खोजी कहिल्यै गर्नुहुन्छ तपाईंहरू? तपाईंहरू त भात पकाउने, लुगा धोइदिने, बच्चाबच्चीको स्याहार गर्ने... तपाईंहरूलाई ती कामबाट फुर्सद कहाँ?'
युवतीले अरू शब्द जोडिन्, 'भन्ने बेलामा नारी–पुरुष बराबरीको कुरा गर्ने, अनि व्यवहारमा चाहिँ....' जानाजानी उनले वाक्य टुंग्याइनन्।
उपस्थित महिलाहरू भने त्यो वाक्य पूरा हुने प्रतीक्षामा रहेजस्ता देखिए। ठिक त्यसैबखत डाक्टरसाबले एक वयस्क महिलालाई औंल्याउँदै उनीप्रति परिलक्षित भए, 'तपाईंको बिहे भइसक्यो?'
एकाएक आफूलाई सोधिएको प्रश्नबाट तिल्मिलाइन् ती महिला। तत्काल जवाफ फर्काउन सकिनन्।
'किन लाज मान्नु भा'को? भन्नुस् न!'
यसपटक पनि महिलाको मुख खुलेन, तर शिर हल्लाएर 'भइसक्यो' भन्ने संकेत गरिन्।
'बिहे गरिसकेपछि तपाईंले कति ठूल्ठुला सपना देख्नुभा'थ्यो होला। देख्नुभा'को भन्दा पनि देखाइएको थियो होला। ...थिएन?' डाक्टरसाबले उनैमाथि प्रश्न गरे, फेरि आफैंले जवाफ दिए, 'पक्कै थियो।' केही बेर अडिएर फेरि सोधे, 'तर पूरा भयो त?'
हेरको हेर्यैस भइन् महिला।
डाक्टरले जोडप्रश्न गरे, 'सोचेर हेर्नुस् त, तपाईंहरूका आफ्ना लोग्नेले तपाईंका कुनचाहिँ सपना पूरा गरिदिए?'
सबै महिलाहरू मौन।
अझै थपे डाक्टरले, 'उल्टो आफ्ना लोग्नेहरूले त तपाईंहरूलाई शोषण गरे। तपाईंहरूमाथि अन्याय गरे, अत्याचार गरे, केके गरे केके गरे...।'
'तपाईंहरूका लोग्नेले तपाईंहरूलाई आफ्नो केवल खेलौना बनारहेका छन्,' युवतीले आगोमा घिउ थपिन्, 'लौ हो कि होइन, भन्नुस् त!'
डाक्टरसाबले मार्मिक प्रश्न गरे, 'के तपाईंहरूको आफ्नो निजी जिन्दगी छैन? उनीहरूले जेजे भने त्यहीत्यही, त्यो पनि उनीहरूको सुविधाअनुसार तपाईंहरू मेसिनजस्तो भइरहनुपर्ने?'
महिलाहरू अवाक्!
'अरू त अरू, तपाईंहरूमाथि बच्चा जन्माउनुपर्ने अभिभारा बोकाएर आफूचाहिँ स्वतन्त्र भएर हिँडिरहने,' डाक्टरसाबले औंलो ठड्याउँदै भने, 'पुरुषजातिको यो कतिसम्मको अन्याय हो नारीजातिमाथि? भन्नुस् त तपाईंहरूले!'
सन्नाटा छायो त्यहाँ र केही छिनमै महिलाहरूको गुनगुन सुनिन लाग्यो।
'अब यस्तो शोषणको परम्परा तोडिनुपर्छ,' अचानक युवतीको आवाज जोसिलो भएर थर्कियो। सम्पूर्ण महिलाहरूबीचको संवाद तोडियो, उनीहरूले युवतीको अनुहार ताक्न थाले।
डाक्टरसाब बच्चालाई ललिपप दिएर फकाउने शैलीमा बोले, 'के तपाईंहरूलाई लाग्दैन, कि आफूले स्वतन्त्रताको जिन्दगी बाँच्न पाइयोस्!'
'कस्तो स्वतन्त्रता?' महिलाहरूको आँखामा मौन प्रश्न देखियो।
'स्वतन्त्रतापूर्वक जिन्दगी बाँच्न पाउनु प्रत्येक नागरिकको अधिकार हो,' डाक्टरसाबले स्वतन्त्रताको परिभाषालाई सिधै जिन्दगीसँग जोडिदिए।
'के होला यस्तो अधिकार?' जान्न उत्सुक देखिए महिलाहरू।
त्यो उत्सुकताको निरूपण गर्ने हेतुले युवती बोलिन्, 'आफूले पाएको अधिकारको उपयोग गर्नबाट वञ्चित हुनुहुन्छ तपाईंहरू। तर तपाईंहरूले चाहने हो भने आफ्नो अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक जिउन सक्नुहुन्छ।'
'के तपाईंहरू तैयार हुन्ुहुुन्छ?' डाक्टरसाबले प्रश्न तेर्स्याए।
महिलाहरूले एक–आपसमा फेरि मुखामुख गरे।
'अन्योलमा नपर्नुस् तपाईंहरू!' रहस्य भरिएको आवाजमा डाक्टरसाबको आवाज गुञ्जियो, 'एउटा दह्रो हिम्मत गर्नुस्!'
डाक्टरसाबको आह्वानलाई युवतीले पालिस लगाइन्, 'हो, हिम्मत गर्नुस्।'
डाक्टरसाबले थपे, 'एउटा विद्रोह गर्नुस्!'
'विद्रोह??' महिलाहरूको फेरि मुखामुख भयो।
डाक्टरले अचानक बाटो देखाए, 'अब तपाईंहरू गर्भाधान नगर्नुस्... गर्भवती नबन्नुस्!'
आम्माम्मा... स्वतन्त्रताको, अधिकारको यस्तो परिभाषा हुँदो रहेछ? अञ्जान उनीहरू, उनीहरूका आँखामा एक किसिमको उत्सुकता भरिएको नौलो चमक देखियो।
केही अलमल नगरी डाक्टरसाब फेरि बोले, 'अप्ठ्यारोमा नपर्नुस् तपाईंहरू, यसका लागि एउटा सजिलो उपाय छ।'
महिलाहरूबीच फेरि गाइँगुइँ चल्यो। एक–आपसमा कानेखुसी हुन लाग्यो।
०००
त्यही गाउँको एउटा झुपडीमा, पुरुषहरू उपस्थित नभएको समय, डाक्टरको हातमा एउटा औजार थियो, आधुनिक औजार जसमा ताजा रगत लागेको छ। स्पष्ट छ, त्यो आधुनिक औजार एउटा धारिलो छुरा हो, जुन छुराले भर्खरै कुनै शल्यक्रियाको कार्य सम्पन्न गरेको छ।
डाक्टरसँगै उनै युवती अर्थात् उनको अघोषित प्रेमिका उभिएकी छिन् र उनीहरूका सामुन्ने लम्पसार छिन् त्यही गाउँका झुपडीहरूमध्ये एउटा झुपडीकी एक महिला। भन्नै परेन, तिनै लम्पसार महिलाका शल्यक्रिया भएको छ।
शल्यक्रिया, पेटको।
विडम्बना! आफ्नो पेटको ताजा घाउप्रति कुनै किसिमको पीडाबोधको अनुभूति पाइन्न महिलाका आँखामा।
'केही फरक लागेको छ त अहिले तपाईंलाई?' डाक्टरले मायालु भाकामा उनीतर्फ नियाले।
'अहँ...' शिर हल्लाइन् तिनले।
युवतीले झटपट थपिन्, 'केही थाहै हुन्न। मलाई पनि केही थाहा भा'को थे'न।'
महिला सुस्तरी उठिन्।
'तपाईंका बूढाले केही थाहै पाउँदैनन्,' डाक्टरले कुटिल मुस्कान फ्याँक्दै महिलालाई उक्साए, 'अब तपाईं स्वतन्त्र हुनुभयो, तपाईंको लोग्नेजत्तिकै स्वतन्त्र!'
युवतीले महिलाको कान भरिन्, 'हो, अब तपाईं तपाईंको लोग्नेजत्तिकै शक्तिसम्पन्न हुनुभयो।'
'तपाईंले तपाईंको लोग्नेले जत्तिकै अधिकार प्राप्त गर्नुभयो अब,' वरदान दिएको भाखामा डाक्टरसाबले महिलाको पेट सुमसुम्याए।
धेरै कुरो बुझेझैं महिलाले डाक्टरसाब र युवतीलाई पालैपालो हेरिन् र फटाफट त्यहाँबाट निस्किन्।
उनी निस्किनु के थिइन् डाक्टरसाब र युवतीको शारीरिक दुरी क्रमशः घट्दै गयो। अर्को क्षणमा ती दुई एक–आपसमा आलिंगनबद्ध देखिए। यस्तो क्रम निकै लामो समयसम्म चलिरह्यो। एकपछि अर्को महिलाको प्रवेश र उनको शल्यक्रिया...।
डाक्टर र युवतीका आँखामा भिन्नै प्रकारको आभा थियो। सम्पूर्ण अनुहारमा एउटा विजयको चमक देखिन्थ्यो।
०००
विजयको चमक लिएर आएका आफूहरूलाई क्लिनिकले समेत हार्दिक अभिनन्दनका साथ स्वागत गरेको अनुभूत गरे दुवैले।
क्लिनिक प्रवेशसँगसँगै डाक्टरसाबले आफ्नो कोटको खल्तीमा हात हाले र मोबाइल झिके। एउटा निश्चित नम्बरमा कल गरे।
दुई–तीन घन्टीमै अर्कोतर्फबाट बोलियो।
केही छिनमै वार्तालाप टुंगिएपछि मधुर मुस्कानका साथ डाक्टरसाबले मोबाइल खल्तीमा राखे र उही मुस्कानका साथ युवतीको सुन्दरतातर्फ मोडिए। थाहा छैन प्रेमरागमा कति बेर अलमलिए, उनीहरूलाई नै पत्तो भएन।
जब क्लिनिकको बन्द ढोकाको बेल बज्यो, तब मात्रै होसमा आए उनीहरू।
हतारहतार सभाँलिदै युवती ढोका खोल्न गइन्। ढोका खुल्नुसँगै एक विदेशी नवआगन्तुकले कोठाभित्र प्रवेश गरे।
'स्वागतम्, स्वागतम्,' डाक्टरसाबले हँसिलो मुद्रामा आगन्तुकलाई स्वागत गर्दै आफ्नो दाहिने हात अगाडि बढाए। आगन्तुकको हात पनि अघि बढ्यो। गर्मजोशीका साथ दुवैले 'ह्यान्डसेक' गरे र मोबाइलमा भएको वार्तालाप बमोजिमको कामको कार्यान्वयन गर्नेतर्फ दुवै तत्काल अग्रसर भइहाले।
आगन्तुकले आफ्नो खल्तीबाट एउटा बैंकको चेकबुक झिके र दस्तखत भइसकेको चेकको एकपाता च्यातेपछि त्यसमा डाक्टरसाबको नाम लेखे।
चेकको पातोमै टाँसिइरहेका थिए, डाक्टरसाब र युवतीका आँखाहरू।
०००
कथाको अन्तमा,
डाक्टरसाबको हातमा एउटा निश्चित रकम लेखिएको चेकको पातो थियो भने विदेशी आगन्तुकको हातमा एक दर्जन साना अत्याधुनिक बट्टा।
र, ती बट्टामा थिए— विदेश निर्यातका लागि तैयारी अवस्थाका 'ताजा पाठेघरहरू'।
प्रकाशित: १८ मंसिर २०७२ २३:०५ शुक्रबार





