'भयो भयो हुँदैन क्या।' आमा नसकी नसकी चिच्याउन थाल्नुभयो।
'के भो त म हजुरकै छोरी त हो नि, नसक्दा त हो सहयोग गर्ने।'
आमाको जिद्दी, 'होइन, छोराछोरीले गोप्य अंग देखे भने त अगति पर्छन् के।'
गति र अगति यसमा मलाई चासो थिएन तर आमाले नै पूरा शरीर नुहाउन भने दिनुभएन।
नियात्राकार प्रभा बरालद्वारा लिखित 'आत्महत्याको जङ्गल' नियात्रा संग्रह पढ्दै जाँदा आफ्नै घरको धारामा भएको यो सानो घटनामा दिमागले चक्कर मार्न पुग्यो।
ओफुरो जाँदा उनी कसरी सर्वांग हुन सकिहोलिन्? के छोरीसँग लाज लागेन होला? मेरो वातावरण र मैले पाएको संस्कारले बारम्बार प्रश्न गरिरह्यो। उनले छोरीसँगै निर्धक्क ओफुरोमा आनन्द लिएको कुरा पत्याउन किन मन मानेको छैन कुन्नि। पृथ्वीको विचरण गरेर अन्तरिक्षको फन्को मार्ने जमानाकी म त्यत्तिमै कत्ति अल्झूँ। प्रभाले ढुक्कसँग ओफुरोमा आनन्द लिइछन्। व्यक्तिगत स्वतन्त्रताको एउटा उत्कृष्ट नमुना नै मान्नुपर्छ— जापानी संस्कारको ओफुरोलाई।
दुईदुई पटकसम्म जापानको यात्रा गरेकी प्रभाले यस संग्रहमा विभिन्न शीर्षकका एक्काइस वटा लेख प्रस्तुत गरेकी छन्। आफूले जसरी यात्रा गरिन्, पाठकलाई पनि त्यसरी नै हात समातेर एकएक दृश्यमा संलग्न गराएकी छन्। उनको लेखन शैली ज्यादै आकर्षक र यथार्थमा आधारित छ। सूर्योदयको देशलाई सूर्याेदयको कलमले छर्लंग पार्न सक्नु लेखनीमा आएको परिपक्वता नै हो।
विश्वकै विकसित राष्ट्र मानिने जापानले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएर शिक्षा प्रदान गर्नु हाम्रा लागि सौभाग्यको कुरा हो। त्योभन्दा ठूलो कुरा अध्ययन कार्य पूरा गरी पाएको शिक्षालाई आफ्नो मुलुकमा प्रयोग गर्नु। पढेर पनि नेपाल फर्केको भन्दै अपमान सहेर आफ्नै देशका लागि केही गरौं भनी फर्केका उनका श्रीमान्लाई स्वागतम्।
जापानमा फुलेका साकुराको सौन्दर्यजस्तै त्यस देशका कर्मठ र परिश्रमी नागरिकबाट हामीले पनि मेहनती बन्ने शिक्षा लिनुपर्ने उनका लेखमा पाइन्छ। आफ्ना खट्टाको जुत्ता अर्कालाई पालिस गर्न लगाउने सामन्ती संस्कारमा हुर्किएका हामीलाई जापानमा आया र पियन छैनन् भन्दा अचम्म मान्नु स्वाभाविकै हो।
प्रभाको मसी जापानका विभिन्न संस्कार, संस्कृति, विकास र प्रविधिका आश्चर्यलाग्दा सिर्जनामा थोपाथोपा भएर घुलेको पाइन्छ। उनले घरदेश र परदेशको तुलना गर्दै घरदेशलाई पनि परदेशजस्तै समुन्नत पार्ने आशाको दियो बालेकी छन्।
कवि र रविले नदेख्ने ठाउँ नै हुँदैन रे। जापानको भूमिमा बस्दा उनको भावुक हृदयलाई त्यहाँँका स–साना विषयवस्तुले पनि झकझक्याएका छन्। जुन कुरा ओकाइदोको मेला, समुद्रको मोह, रोलर कोष्टरमा फनफनी, किमोनो, सुन्तला र रोबोट, क्यासल आदि शीर्षकका संस्मरणात्मक लेखबाट बुझ्न सकिन्छ।
आमाले भन्नुहुन्थ्यो, 'नानीदेखि लागेको बानी कहीँ जान्न रे।'
विश्वविद्यालयमा पढ्दा मोतीलाल सरको भनाइ पनि उत्तिकै जायज लाग्यो, 'मानिसले पाएको संस्कार र संस्कृति जतिसुकै विकसित राष्ट्रका नागरिकमा पनि धारणाको रूपमा रहिरहेको हुन्छ।' मलाई जिज्ञासा लाग्यो— जापानिज बोक्सी कस्ती होलिन्। आमाले भनेजस्तै रातको बाह्र बजे कपाल फिजाएर बत्ती बाल्ने कि अरू नै। केटा मान्छे बोक्सा होलान् कि नहोलान्? किन खालि बोक्सीकै चर्चा हुन्छ? प्रभाले पनि देखेको त कहाँ हो र? झारफूक पो हेरिन्। म आफूले आफैंलाई सान्त्वना दिएर थन्क्याउँछु।
अमेरिकाले ध्वस्त बनाएका जापानमा नागासाकी र हिरोसिमाले पुनर्जन्म पाएछन्। प्रभाको कलमले त्यहाँको सुन्दरताको सुवास बोकेर नेपाल भित्रिएको छ। ऐतिहासिक तस्बिर हेरेर रोएका उनका आँखाले जापानको परिवर्तन र सुन्दर दृश्यहरू कैद गरेर फर्केका छन्। त्यसैले त उनले 'जापानिज वाइफ, अमेरिकन लाइफ' भन्ने शीर्षक नै रोजिन्। म हर्षले विभोर भएँ। जापान आमाहरूले बनाएको देश हो रे। जापानिजहरूको मेहनत र परिश्रम विश्वमै प्रशंसा गर्न लायक छ। त्यहाँ स्वावलम्बी नागरिकहरू ज्यादै जिम्मेवारीपूर्वक आफ्नो कार्य गर्दा रहेछन्। मान्छे मारेर पनि झुक्किएछ भन्ने हामी जस्तो गैरजिम्मेवारी भएका नागरिकका लागि यो मननीय कुरा हो। श्रीमान्ले साउदीमा साटेको पसिना बन्धक राखेर कुमकुम र कसौटीमा उफ्रने ठूली दिदीलाई आत्महत्याको जङ्गल नियात्रा जसरी भए पनि पढ्न लगाउने निधो गरेँ।
जापानको भ्रमणमा रहेका नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको डकुमेन्ट्र्रीले लेखकको कलमलाई रुवायो। सगरमाथाको सान, कोसीको कलकल, तराईका सुनौला बाला, लालीगुराँसको पटुकी कसेकी फुलबुट्टे पहाड स्त्रि्कनमा हेर्ने उनको धोको स्त्रि्कनको अन्तिम पर्दासँगै चकनाचुर पर्योस। उनी जसरी रोलर कोष्टरमा फनफनी घुमेर कहालिएकी थिइन्। प्रस्तुत डकुमेन्ट्रीको कहानी पढ्दा सपनामा लेउमा चिप्लिएको जस्तै झसंग भएँ। हामी केको निम्ति आमाको कुहिनो फाटेको चोलीको प्रचारप्रसार गर्छौ कुन्नि? दया, सहानुभूति वा सहयोगको आशमा। नेपाली हुँ भनेर गर्व गर्ने मेरो मुटु नै तरल बन्यो। हामीले आफैंलाई नचिनेको लेखकको विचारसँग म पूर्ण सहमत छु।
रातारात खोरिया बेचेर कोरिया हानिने दाजुभाइलाई सम्झन्छु। के उनीहरूले पहाडी हाँसो हाँसे होलान् ? उनीहरूको मुस्कानमा सुनाखरी फुल्ला कि नफुल्ला? आमाको प्यारो बाबु बन्द बाकसमा नेपाल फर्कन्छ। तैपनि अर्थमन्त्रीको बिफ्रकेसमा आमाको आँसु होइन रेमिट्यान्सका कोलमहरू भेटिन्छन्।
विकास मेहनतले हुने हो। जापानिजहरू कमिलाजस्तै परिश्रमी भएकाले नै त्यहाँ विकास सम्भव भएको हो। खोइ त हामीले आफ्नै भूमिमा पसिना बगाउन सकेको? खेतका गरा र बारीका सुर्काहरू थारै बस्दा पनि योजना बनाउन सक्दैनन्, हाम्रा योजनामय दिमागहरु। सहरीकरण भएपछि विकास सम्भव छ। संसार बनाउने मानिस हो। मानिस धैरे व्यस्त भएपछि छरछिमेकी, इष्टमित्र, नातागोतालाई समय दिन नपाउने रहेछन्। यसो हुँदा मानिसमा एक किसिमको एक्लोपनको महसुस हुनु स्वभाविकै हो। आत्महत्याको जङ्गलमा पसेका धेरै मान्छेलाई ढोकामै वर्षौंवर्ष कुरिरहेका कारको कहानी सुन्दा दुःख लाग्यो। जापानमा मानवीय स्वतन्त्रता उच्च रहेको कुरा ओफुरो र आत्माहत्याको जङ्गलबाट प्रस्ट भयो।
जापान बसाइका क्रममा होटल सफा गर्नदेखि सुन्तला टिप्ने कामसम्म गरेको नढाँट्ने प्रभाको लेखकीय इमानदारिता र फुजी मार्टकी वृद्धाको कथा उस्तैउस्तै लाग्यो।
कृति : यात्रानिबन्ध
लेखिका : प्रभा बराल
प्रकाशकः शब्दहार क्रियशन्स
पृष्ठ : २१६, मूल्य २७५/–
प्रकाशित: ११ मंसिर २०७२ २१:४१ शुक्रबार





