११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

जय मधेस

पेट्रोल, डिजेल, ग्यास ठप्प भएको नौ दिन भयो। आजसम्म त जेनतेन चलेकै थियो तर भर्खरैबाट गुन्जमानको बाइकको ट्यांकी रित्तियो। त्यही बेला नानाभाँती कामहरू असिनाजस्तो पररर बर्सिए।

लाहुरे दाइको घरबाट छेवरको भिडियो खिच्ने बोलावट छ। हेटौंडाबाट पन्ध्र किलोमिटर उत्तर हानिनुपर्छ। घरमा आमा बिरामी छिन्। त्यसैले हरेक दिन हेटौंडा र घर आउजाउ गर्नुपर्छ। हेटौंडा र घरको दुरी ठ्याक्कै तेह्र किलोमिटर छ।

बिहेको, पूजाको, पार्टीको, भिडियो मिक्सिङ गरेको पैसा उठाउनुपर्नेछ। कतै हिँड्न पाएको छैन। भएको एउटा मोटरसाइकललाई पारालाइसिस भएको छ। गाडी पाइँदैन।

गुन्जमानले साथीभाइ, इष्टमित्र सब गुहार्यो । तर कहीँबाट केही भएन।

के गर्ने कसो गर्ने? केही सोच्न सकेन उसलेे। मनलाई जसोतसो बुझाउँदै गर्दा झयाप्प उसलाई पूर्वी चम्पारणको अदापुर ग्राम पञ्चायतको याद आयो। त्यहीँको निवासी उसको साथी सिद्धेश्वरलाई सम्भि्कयो उसले। सिद्धेश्वरले उसको बिग्रेको क्यामेरालाई छुमन्तर गर्दै ठिक पारिदिएको थियो कुनै दिन। हेटौंडा आएर हप्तौं बसेको थियो र गुन्जमानकै सिफारिसको आधारमा निकै पैसा कुम्ल्याएर अदापुर छिरेको थियो।

गुन्जमानले हतारहतार सिद्धेश्वरलाई फोन लगायो।

'हेलो को हो?' सिद्धेश्वरले ठाडो बोल्यो।

'म गुन्जमान, हेटौंडाबाट।'

'गुन्जमान, के छ तपाईंको यार?' एक सय असी डिग्रीमा बदलियो सिद्धेश्वरको आवाज।

'म ठिक छु।'

'के हो, यसपालि त बिहे पक्का भएर बोलाउन कल गर्नुभएछ कि के हो?'

'होइन... तपाईंको देशले बाटो बन्द गरेपछि चोरबाटोको लागि फोन गरेको।'

'ओहो... भन्नाले पेट्रोल, डिजेल? जति भए पनि छ यता। हामी त अहिले त्यसकै व्यापारमा पो छु।'

'व्यापारमा? कस्तो?'

'यही पेट्रोल व्यापार। तपाईं आउनुस् परमानीपुरसम्म। हामी हेर्छु। बसेर दाजुभाइ सल्लाह पनि गर्नुछ। अस्ति तपाईंको नम्बर निकै खोजेँ, मोबाइल चेन्ज भइहालेपिछि नम्बर पनि गायब भएछ।'

'कहिले आऊँ?'

'आउनुस् भोलि। पक्का।'

गुन्जमानले शान्तिको श्वास फेर्यो । तर परमानीपुरसम्म पुग्ने कसरी? गाडीहरू

सिमरासम्म पुग्लान्। त्यसपछि जितपुर, परमानीपुर अनि पो वीरगन्ज। जम्माजम्मी बाउन्न किलोमिटर। हुन त पेट्रोल पाइन्छ भनेपछि जो कोही पनि जान तयार होला। गुन्जमानको आँखामा झट्ट राधेश्यामको तस्बिर नाच्यो।

राधेश्यामले मोटरसाइकल पैंसठ्ठीको स्पीडमा हाँक्यो। योभन्दा अघि राधेश्यामको हँकाइ पचासको हुन्थ्यो जेनतेन। आज ऊ पनि पेट्रोल पाउन हतारिएको अनुमान लगाउन गाह्रो भएन गुन्जमानलाई। सिमरा हुँदै जितपुर पुगेपछि केही मान्छेहरूको चहलपहल देखियो बाटोमा। त्यसको वास्ता गरेनन्, उनीहरूले। परमानीपुर पुग्दा झयाप्प बाटोको अगाडि तीन वटा ट्र्याक्टरहरू देखिए। अघिदेखि नै बाटोमा एक हुल मान्छे जम्मा थिए। ट्र्याक्टरबाट केही आन्दोलनकारीहरू तल ओर्ले। केही ट्र्याक्टरमै उफ्रिए। कोहीकोही नांगो ढाड देखाएर आन्दोलनमा होमिएका थिए। कोहीकोहीले कालो झन्डा बोेकेका र निधारमा रातो पट्टा बाँधेका थिए। पट्टामा लेखिएको थियो— जय मधेस।

केहीको हातमा कटबाँसको लौरी थियो। बेलाबेलामा ती लौरीहरू पिचमा बजारिन्थ्यो। डराइडराई गुन्जमान र राधेश्यामले भिडलाई छिचोल्न खोजे। कुदेर बाइकअघि आइपुगेको एउटा ठूलो भुँडी हुने कड्क्यो, 'अबे कता जाँदैछस्? पेट्रोल लिनको लागि?'

'ह हैन...' राधेश्याम बोल्यो।

'साइड लगा पहाडिया साले,' भुँडीवालले कटबाँसको लौरी टेक्दै गाली गर्योइ।

गुन्जमानले राधेश्यामको भुँडीमा चिमोट्यो। राधेश्यामले बिस्तारै साइड लगायो।

दुई–चार जनाले घेरिएपछि गुन्जमान र राधेश्याम बोल्नै सकेनन्। 'साला तिमेर्काे सरकार हाम्रो मधेसमा मान्छे मरेको देख्दैन हैन? तिमीहरू एक छिन पेट्रोल, ग्यास नपाउँदा छटपटिने?'

'हामी साथी भेट्न आको,' गुन्जमान नरम भएर बोल्यो।

'अबे साले पहाडिया झुट् बोल्छस्?' रिसमा बाइक ठेलेर लडाइदियो एउटाले।

'सरी... सरी... हामी गइहाल्छौं। यहीँबाट फर्किन्छौं। प्लिज,' राधेश्यामले बाइकलाई अँगालो हालूँला झैं गरेर बिन्तीभाउ गर्योर।

एउटा जुँगेले गुन्जमानलाई पाखुरामा च्याप्प समात्यो र भन्यो, 'जय मधेस बोलो। बोलो...'

गुन्जमान र राधेश्यामले एकै स्वरमा भने, 'जय मधेस।' त्यसपछि दुवैले एक–अर्कालाई हेरे। बन्दकर्ताहरू तिनीहरूलाई हेेरेर मुस्काए। भुँडेले भन्यो, 'साइड लगा अब।' केटाकेटीहरूले पनि थपे, 'साइड कर।'

राधेश्यामले हतारहतार बाइक उठायो। गुन्जमान भ्यागुतोजस्तो उफ्रेर बाइकमा बस्यो। बाइक छिनमै गल्लीतिर छिर्योर र अडियो। केही मानिस र बच्चाहरूले गुन्जमान र राधेश्यामलाई ट्वाल्ल परेर हेरिरहे।

'अगाडि नबढ्नु है बाबुहरू, त्यति राम्रो छैन,' एउटा बूढा मधेसी बाले भने।

राधेश्यामले हतास आवाजमा भन्यो, 'यहीँसम्म हो बा।'

'ठिकै छ उसो भए त,' मधेसी बा चिया दोकानतिर छिरे।

त्यसको एक छिनमै गुन्जमानको फोन बज्यो। फोन सिद्धेश्वरको थियो।

...

फूल ट्यांक तेलसहित इन्डियन नम्बर प्लेटको पल्सर बाइक चढेर सिद्धेश्वर आइपुग्यो। बन्दकर्ताहरूले बाइकलाई केही गरेनछन्। छुँदा पनि छोएनछन््। त्यसको दम्भ सिद्धेश्वरको अनुहारमा प्रस्ट देखिन्थ्यो। ऊ फाइट जितेको बक्सरझैं गुन्जमानको छेउमा टक्क अडियो। सिद्धेश्वर र गुन्जमानबीच एक छिन अंकमाल चल्यो।

'चिया लिऊँ?' सिद्धेश्वरले प्रस्ताव गर्योब।

प्रस्ताव स्वीकृत भयो।

चियाको पहिलो चुस्कीसँगै सिद्धेश्वर बोल्यो, 'पन्ध्र लिटर पेट्रोल राखिहाल्नुस्। धेरै पर्दैन, लिटरको दुई सय दिनु मलाई।

गुन्जमानले भन्यो, 'भइहाल्छ।'

'साला जल्लाई म अहिले पेट्रोल दिइरहेछु, तिनीहरूको बेहोरा मन परेको छैन मलाई। कहिले दुई–चार सय रुपैयाँ कम दिन्छ र पछि मिलाऊँला भन्छ, कहिले पेट्रोलमा मिसावट छ भन्छ, जिना हराम गरिसक्यो यार। फटाहाहरू छ पूरा। तपाईं आउनुस् बिजनेसमा। दाजुभाइ मिलेर गरौं। दुवैलाई फाइदा हुन्छ। तपाईं राम्रो मान्छे हो, म चिनेको छु तपाईंलाई। हुँ?'

'तपाईंको क्यामेराको काम त?'

'छँदैछ... मौका आउँछ पर्खंदैन। यही बिजनेसले तपाईंको बिहे धुमधाम तरिकाले गर्न सकिन्छ। बुझनु भो?'

सिद्धेश्वर पूरै बत्तिसी देखाएर हाँस्यो।

'बन्द छ यस्तो, कसरी सम्भव होला र?'

'हुन्छ–हुन्छ, यो हाम्रो मधेसी दाजुभाइको बन्द हो। रोटी र बेटीको नाता छ हामीसँग। केही हुन्न। त्यसमाथि इन्डियाले यो आन्दोलनलाई सघाइरहेछ। हामी आउनेबित्तिकै यिनीहरू बाटो छोड्छ। देख्नुभएन अघि?' सिद्धेश्वरले फुर्ति लायो, 'मन्जुर छ भने भनिहाल्नुस्, नत्र अर्को पार्टी तयार छ। हामी तपाईंलाई चिनेर, राम्रो मान्छे हो भनेर मात्र भनेको।'

गुन्जमान राधेश्यामतिर फर्कियो। राधेश्याम केही बोलेन।

'हुन्छ नि त,' एक छिन सोचमग्न भएपछि गुन्जमानको आवाज निस्कियो।

दुवैले हात मिलाए। फेरि अंकमाल गरे। सिद्धेश्वरले फेरि बत्तिसी देखायो। मतलब ऊ हाँस्यो।

...

त्यहीँबाट गुन्जमानको नयाँ व्यापार सुरु भयो। नयाँ व्यापारको तालिका यस्तो थियो—

—बिहान सबेरै उठेर जितपुर हुँदै परमानीपुर पुग्ने, दुई वटा बाइकमा पेट्रोल भर्ने र हेटौंडा आएर खन्याउने।

—दिनको दुईपल्ट ओहोरदोहोर गर्ने।

—दिनको लगभग ४५ लिटर तेल भण्डारण गर्ने र त्यसलाई तीन सय ५० मा भटाभट बेच्ने।

पछि सिद्धेश्वरले केही साथीहरू पनि सम्मिलित गराएर दिनको सय लिटर पेट्रोल हेटौंडा पठाउन थाल्यो। गुन्जमान र राधेश्यामको व्यापार बढ्यो।

सिद्धेश्वरको त दुवै हातमा लड्डु थियो। आउँदा पेट्रोल लिएर आउँथ्यो। फर्कंदा दुई जना मान्छेहरूलाई जितपुर वा परमानीपुरतिरबाट टिपेर वीरगन्ज पुर्या।उँथ्यो र घटीमा पाँच सय उठाउँथ्यो।

गुन्जमान पहिले नै चर्चित थियो क्यामेराम्यानको रूपमा। झन् अहिले त पेट्रोल दाताको रूपमा ऊ लोकप्रिय नै बन्यो। व्यापार यति फस्टायो कि दिनमै बाह्र–तेह्र हजार फाइदा निस्किन थाल्यो। भिडियो खिच्ने काम केही दिनलाई रोकियो।

...

एक दिन साँझपख खल्तीमा पचास हजारको बिटो घुसार्दै गुन्जमान बोल्यो, 'यसपालि बिहे पक्का गरिने भो यार। गज्जब फाइदा भो।'

तर पैसा कमाउँदा पनि राधेश्याम खुसी देखिएन। धेरै दिनदेखि नबोलेको राधेश्याम एक्कासि आवेगमा बोल्यो, 'पैसा ठूलो कुरा होइन, हामीलाई मधेसमा जस्तो व्यवहार भयो त्यो ठिक थियो कि थिएन भन्ने कुरा ठूलो हो। सिद्धेश्वर र हामीमा सिद्धेश्वर कसरी नजिक भयो? हामी एउटै देशका दाजुभाइ कसरी पहाडिया र मधेसी भनेर छुट्टियौं?' राधेश्यामले मनको तितो पोख्यो।

'थुक्क... व्यापार काँ पुगिसक्यो, तँ अहिलेसम्म त्यही कुरामा अड्केको? छोड्न यार,' गुन्जमान बेफिक्री बोल्यो।

'हो कि होइन भन् त,' राधेश्याम बोलिरह्यो, 'सिद्धेश्वर कसरी छाती फुकाएर बाइकका बाइक पेट्रोल लिएर रक्सौलबाट आइपुग्छ। जब कि हामीलाई कुटूँला झैं गर्छन् आन्दोलनकारीहरू। जुन देशले हामीलाई सब कुरा ठप्प होस् भनेर नाकाबन्दी लगाइरहेछ, त्यही देशको मान्छेसँग मिलेर हामी लुट्दैछौं हामै्र मान्छेहरुलाई।'

'पुलिसलाई भन्न त जा... साला। यत्रो सहयोग गरेको देखिनस्? कसरी लुट्यौं हाम्ले? भावनामा नबग्। जति दिनसम्म कमाउन सकिन्छ कमाउने हो, यो देशका मन्त्री, सचिव, कार्यकर्ता, पत्रकार, सब... ताल परे कमाउँछन्। हामी किन छाड्ने?' गुन्जमानले सम्झायो।

राधेश्याम भुइँतिर हेरेर बसिरह्यो र गुन्जमानतिर हेर्दा नि नहेरी बोल्यो, 'हामी फस्छौं बुझिस्? कमाउने लोभमा भाको अलिअलि नि फस्छ। पुलिसले यसरी पेट्रोल बेच्नेलाई पक्रिराछ। कारबाही गरिराछ। बेइज्जत हुन्छ यार। तँ गर्ने भए गर, म गर्दिनँ।'

'साला पुलिसहरू नि के भइरा हो... चुपो लागेर नबसेर। तर हामी थोरैथोरै बेच्नेलाई केही नगर्ला। नडरा,' डराउँदै गुन्जमानले कुराको बिट मार्न खोज्यो तर त्यही बेला उसको फोन बज्यो। सिद्धेश्वरको नाम मोबाइल स्त्रि्कनमा थियो।

मोबाइल उठाउनेबित्तिकै सिद्धेश्वरको आवाज आयो, 'रे गुन्जमान जी, व्यापार बढाउनुपर्छ अब। कस्तो गइरहेछ त्यता?'

'राम्रो त राम्रै छ, के गर्ने पुलिसको डर छ। राधेश्याम पनि त्यही भन्छ। अ... अ...' गुन्जमान डराएझैं सुनियो।

'हैट... त्यस्तो काँ भन्न पाइन्छ। अब गर्ने हो नि? तपाईं पीर नगर्नुस्, जे गर्नु हामी गर्छु। तपाईं हामीले भनेको ठाउँसम्म आउनुस्। लिएर जानुस् अनि बेच्नुस्। ना भन्न पाइन्न है। न आन्दोलनकारीले केही गर्छ, न पुलिसले; तपाईं ढुक्क हुनु न,' बीचैमा सिद्धेश्वर बोल्यो।

गुन्जमान दोधारमा देखियो। राधेश्याम तनावमा देखियो। एक छिनपछि गुन्जमान बोल्यो, 'केही हुन्न, तँ अगाडि देखा नपर्। म बेहोर्छु जे हुन्छ।'

राधेश्याम थोरै भए पनि ढुक्क भयो।

...

केही आन्दोलनकारीहरू मारिए। केही पुलिसहरू जलाइए। हुलबाट ढुंगा हानिए। दसगजामा धर्ना दिइयो। केही इन्डियन पुलिसहरू हतियारसहित वीरगन्जबाट उत्तर लागे। ट्र्याक्टरका ट्र्याक्टर आन्दोलनकारीहरूले वीरगन्ज परिक्रमा गरे। लाठीसहित उनीहरूले चोकचोकमा जय मधेसको नारा लगाए। अधिकारको माग गर्दै चाइनाको झन्डा जलाए। वीरगन्जवासी धेरैले आन्दोलनलाई मौन बसेर हेरिरहे। नेपाल सरकारले सुनेन। भारत सरकारले मधेसको आन्दोलनलाई अघोषित नाकाबन्दीबाट सघायो।

मधेसी दलहरूले भने, 'हाम्रै आन्दोलनको कारण सामानहरू सीमामा रोकिएको हो। भारतले नाकाबन्दी लगाएको होइन।'

पेट्रोल, डिजेल, ग्यासको चरम अभावले जिन्दगी घिसिपिटी चल्न थाल्यो। गाडी भाडा दोब्बर भयो। साइकलको बिक्री चौब्बर भयो। यो सब भारतको देन थियो त्यसैले आन्दोलनकारीले भारतको बदख्वाइँ गरेनन्। कारण यसकै बलमा सरकारको घुँडा टेकाउनु जो थियो। तर दिनदिनै आन्दोलनकारीलाई असफल भइन्छ कि भन्ने डर थियो। त्यही डर रिसमा र त्यही रिस घृणामा बदलिएको थियो। त्यसैले घृणा चारैतिर सराबरी मिसिएर मधेशको तातो हावामा मडारिएको थियो। यहीबीच पेट्रोलको व्यापार निरन्तर चलिरह्यो। सिद्धेश्वरले लाखौं कमायो। डरलाई एकातिर पोको पारेर गुन्जमान र राधेश्याम पनि कमाउने लाइनको अगाडि नै उभिए।

...

एक दिन,

गुन्जमान र राधेश्याम पहिल्यै परमानीपुर पुगे। घाम चर्कै थियो। रक्सौलबाट हिँडिसकेको अदापुरवाला सिद्धेश्वर र उसका केही साथीलाई कुरेर बस्दै गर्दा एक्कासि चोकमा आन्दोलनकारीको भिड देखियो। सधैं त्यस्तै हो, त्यसैले गुन्जमान र राधेश्यामले वास्ता गरेनन्। एक छिनमै त्यहाँ हो हल्ला भयो।

भिडबाट एउटा बोल्यो, 'सालाहरूलाई नछोड्।'

एउटा आन्दोलनकारीले बाइक लडाएर भएभरको पेट्रोल बाटोमा पोखिदियो। पेट्रोल भरिएकोे जर्किन पनि फुटाइदियो। टाढासम्म पेट्रोलको तिखो गन्ध फैलियो।

गुन्जमानले टाढैबाट चियाएर हेर्योि अनि झसंग भयो। विश्वास नलागेर उसले आफ्नै आँखा मिच्यो र राधेश्यामलाई सोध्यो, 'म जे देख्दैछु तँ पनि त्यही हेर्दै हो?'

'त्यही त, के हो यो?' राधेश्याम अचम्म मान्दै बोल्यो।

'अरे यार कसरी भयो यो? सिद्धेश्वर आन्दोलनकारीलाई हात किन जोड्दैछ?' सिद्धेश्वरले भिडमा हात जोड्दै गरेको दृश्य पत्यार लागेन गुन्जमानलाई।

ऊ झडपका बीचमा जाऊँ कि नजाऊँको दोसाँधमा उभियो। तर गइहाल्ने आँट गरेन। राधेश्याम पनि मौन रह्यो। एउटा आन्दोलनकारीले ठूलै स्वरमा भन्यो, 'साले इन्डियन, मौकाको फाइदा उठाउँछस्? सास्ती खेप्ने हामी। ज्यान दिने हामी। अनि फाइदा लुट्ने तिमीहरू? म धेरै दिनदेखि देख्दैछु तिमेर्काे चर्तिकला।'

'रे हामी त दाजुभाइ छ नि,' सिद्धेश्वरले ठूलै आवाजमा सम्झायो।

'को दाजुभाइ? भन्नलाई मात्र हो, गर्ने बेलामा बैरीजस्तो व्यवहार गर्छ तिमीहरू। अस्ति दुई–चार जना इन्डियनले हामी नभए आन्दोलन तुहिन्छ भन्दै थियो, सुनेको हो यो कानले। तिनीहरू भन्दै थियो— इन्डियन पुलिसले चाह्यो भने दसगजाबाट चाकमा लात हानेर हामीलाई सीमा कटाउँछ रे। सालाहरू... सब आ–आफ्नो स्वार्थमा छ। हाम्रा नेता सालेहरू बर्षौं मन्त्री भयो तर मधेस हेरेन। नत्र हामी यसरी ज्यान बाजी राखेर लड्नुपर्थ्यो? नेपाल सरकार आँखा, कान बन्द गरेर बसेको छ। भारत नाकाबन्दी गरेर हामीलाई कारण देखाउँछ। सब सालाहरू रमिता हेरिरहेछ हाम्रो। जसले जे भनोस् अब यहाँबाट अधिकार नलिई हिँडिन्न। बरु मरिन्छ। तिमीहरू फर्किहाल् भनेको सुनिनस्?' एउटा नेताजस्तो देखिनेले भाषणको शैलीमा भन्यो।

सबले ताली बजाए र एकै स्वरमा भने, 'जय मधेस।' आवाज हावामा करतल ध्वनिको साथ गुन्जियो।

सिद्धेश्वर र अरू साथीहरूले डराइडराई बाइक उठाए। घिच्याएरै अलि पर पुर्यामए। गुन्जमान र राधेश्यामले आँखैअघि भएको त्यो घटना देखे पनि नदेखेझैं गरे।

सिद्धेश्वर निकै पर पुगिसकेको थियो। उसमा न उमंग थियो न उत्साह। त्यही बेला गुन्जमानको फोन आयो। उसले उठाऊँ कि नउठाऊँ गर्योग। बलजफ्ती उठायो र बोलूँ कि नबोलूँ झैं गरी बोल्यो, 'भन्नुस गुन्जमानजी। के छ हालचाल?'

'हामी आइपुग्यौं त परमानीपुर। जानकारी दिऊँ भनेर।'

'अब आजदेखि व्यापार बन्द गर्नुपर्नेछ। सुन्छु, सीमाका नेपालीहरू बौलाएछ पूरै। तोडफोडमा उत्रेको छ रे,' सिद्धेश्वरले बहाना बनायो।

'हो र? मधेसी दाजुभाइले तपाईंलाई त त्यस्तो नगर्लान्,' थाहा नभएजसरी गुन्जमान बोल्यो।

'को मधेसी दाजुभाइ? सब साला नेपाली हो, तिनीहरू त्यस्तै छ। अब केही हुने भयो भने हामी भन्छु। अहिलेलाइ बाई,' सिद्धेश्वरले हतारमा फोन राख्यो।

गुन्जमानको मस्तिष्कमा अनेक कुरा खेले। उसले एक छिन राधेश्यामको ओठको हाँसोलाई नियाल्यो त्यसपछि परमानीपुरको सडकमा जम्मा भएको भिडलाई।

त्यस बेला, ऊभित्र पेट्रोल नपाएको दुःखभन्दा पनि मधेस ब्युँझेकोमा खुसी छचल्किइरहेको थियो।

प्रकाशित: ४ मंसिर २०७२ २२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App