१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

कहरमा बाँचेका सपनाहरू

जीवनमा यतिविघ्न सपनाहरू नहुँदा हुन् त रहरको कुनै औचित्य नहुँदो हो। सपना र रहर भनेका मान्छेलाई जीवित तुल्याउने दानापानी सरह हुन्। त्यो मान्छे जसका कुनै सपनाहरू छैनन् र अर्को जसका कुनै रहर छैनन्, ती मान्छे के मान्छे? तिनीहरूको जीवन के जीवन?

यहाँ सपना र रहरको कुरा गर्दा सँगसँगै 'जीवन' पनि जोडिएर आउँछ। सपनालाई एकातिर 'ड्रिम इज अ पावर' भनिरहँदा अर्कोतिर भारतका पूर्व राष्ट्रपतिसमेत रहेका स्व. एपीजे अब्दुल कलामले चाहिँ 'सपना ती होइनन् जो निदाउँदा देखिन्छ। बरु सपना त ती हुन् जसले निदाउन दिँदैनन्' भनेर गए।

जीवनमा सपना र सपनाभित्रका अदुरदर्शी रहरहरू निश्चित रूपमा भोक, भोजन र तृप्तताजस्तै हुन्। सपना देख्नका लागि जीवन थियो जहाँ जीवित थियौं हामी। रहर गर्न भनेर सपनाहरू बनिए वा बनाइयो। सपनाहरू कसरी रहरमा परिवर्तित होलान् भन्ने लाग्छ भने एउटै उदाहरण काफी छ—

जसरी परिवर्तित हुन्छ, एउटा झुसिलकीरा सुन्दर पुतलीमा।

गरिब हुनु संसारकै अमंगल वरदान रहेछ। हो, गरिबसँग जीवन हुन्छ आम मानिसको जस्तै। तर कहाँ जीवनको सार्थकता? गरिबसँग पनि सपना हुन्छन् तर ब्युँझदा सपनाको राग गुञ्जायमान हुँदैन। गरिबसँग रहर हुने कुरै भएन जब सपना नै छैनन् भने। यदि वैकल्पिक र अपवादका रूपमा छन् भने तापनि ती रहरको कुनै प्रयोजन रहँदैन। ती रहर मूल डोरी चुँडिएर गाँठो पारिएको त्यही डोरी हुन जान्छ, जुन कमजोर भईकन चुँडिने सम्भावना र डर उत्तिकै रहन्छ।

सग्लो जीवन भएर पनि मेरो जीवन यसैगरी विनाकुनै सपना, विनाकुनै रहर चरम गरिबीको भीरमा चिन्डोझैं फलिरह्यो। झुन्डिइरह्यो। घरिघरि त बाँचिन्छ भन्ने समेत लागेको थिएन मलाई। आमा पनि यस्तै भन्नुहुन्थ्यो। यस्तो लाग्नुको पर्दापछाडि थुप्रै थिए, कारण।

किन्तु सन् २००८ मा हरियो राहदानी च्यापेर ऋणधन गरी केही हदसम्म भए पनि अभाव र गरिबीका खाल्डाखुल्डी पुर्ने उद्देश्यका साथ खाडी उछिट्टिएको थिएँ म।

कतारको पहिलो बसाइ २००८—२०१० सम्म रह्यो। जुन बसाइका छिटफुटबाहेक केही अनुभव छैनन् मसँग। जुँगाको कलिलो रेखी बस्दै गरेको भर्खरको युवक कुनै पीडाबोध नभईकन यसै परदेशिएन होला। भन्न त देशले आजका बालबालिका भोलिका कर्णधार हुन् भन्यो। युवावर्ग देशको शक्ति हो भन्यो। मेरो पनि शरीरमा रातो रगतको सञ्चार हुन्थ्यो। देशका लागि केही गर्नेबारे मैले पनि सोच बनाएको हुँदो हुँ। आँखामा देश, मुटुमा देशको माया मसँग पनि थियो। तर कथनी र करणीमा भिन्नता देखाउने हाम्रो सरकारको मौलिक परम्परा नै यस्तै रहिआएको हुँदा एक सामान्य गरिबका इच्छा सदीक्षाले मूर्त रूप धारण गर्न पाउनु कुनै सामान्य कुरा थिएन।

दोस्रोपटक सन् २०१३ मा म पुनः उही देश गएँ। यसपालि नगई नहुने बाध्यता त थिएन तर केही थान ऐँजेरु आकारका सपनाले उत्तेजित बनाएर धकेलिपठाए। सपनाका टुसा अंकुरण भइसकेका थिए, र त रहरले स्थान पाउँदै थिए। जति बेला उमेर परिपक्वतातर्फ उन्मुख हुँदै थियो। ओठमाथि झुसुले दाह्री आईकन 'सेभिङ' गर्नुपर्ने भइसकेको थियो। मस्तिष्कमा विभिन्न रूपरेखा बन्दै थिए। जेहोस्, धेरै बुझने भइसकेको थिएँ पहिलेको तुलनामा।

...

मध्यपूर्वमा पोखरीको मौलोझैं ठिंग उभिइरहेको एउटा देश छ— कतार। विकासको सधैं हतार रहन्छ उसलाई। मात्र एउटा सानो टापु। निरंकुश शासन प्रणालीमा सञ्चालित देश। कानुनको पूर्ण पालना गरिने कट्टर इस्लामिक (मुस्लिम) देश। त्यसमाथि 'लेडिज ल'। यही देश एसियाली अर्थतन्त्रमा उदीयमान नक्षत्र बन्दै छ, यति बेला। भन्नेहरूले यसलाई 'सागरको मोती' पनि भन्छन्।

अहिलेको समयमा लगभग पाँच लाखभन्दा ज्यादा नेपाली मजदुर यस खाडीमा श्रम खर्चिन्छन्। रगत पिनेर निस्किएका अमूल्य पसिना बगाउँछन्। पसिनासँग पैसा साट्छन्। तर कतिका जीवन साटिन्छन् मृत्युसँग! बैंस साटिन्छन् बूढापासँग! येन–केन–प्रकारेण केही अर्थोपार्जन गरेर साँझ बिहानको गर्जो टार्ने अविनयमा आफूलाई लगाइराखेका छन्। हाम्रो राज्यको अर्थतन्त्र पनि यसैको आडभरोसमा त सञ्चालित छ नि! तिनै लाखौं श्रमिकमध्ये, तिनै अनेकौं निर्दोष मुहारमध्ये अनि बन्जर भूमिको दुःख–सुखसँग सामना गरिरहनेमध्ये म पनि एउटा मन स्वदेशी र तन परदेशी भएको जीवित परदेशी पात्र हुँ।

विश्वमानचित्रमा हेर्ने हो भने 'कतार' नभेटिन सक्ला। भेटिँदैन पनि। तर यही नभेटिएको कतारभित्र अनन्त पीडाका पुञ्ज एवं नेपाल बोकेका धमिला मुहारहरू भेटिन्छन्। यहाँको स्थानीयबाहेक अझै कति भेटिन्छन्— इन्डियन, फिलिपिनी, इन्डोनेसियन, बंगाली, इजिप्सियन, सुडानी, श्रीलंकन र कैयौं देशका 'देशी'हरू। आखिर कुनचाहिँ यस्तो देश होला जहाँ नेपालीहरूको पदार्पण नभएको होस्। जहाँ नेपाली नभेटियोस्। जहाँ नेपाली माटाको सुगन्धले 'नेपालीपन' बोलिरहेको नहोस्। जहाँजहाँ नेपाली त्यहाँत्यहाँ नेपालीपन, नेपाली मन र सिंगो नेपाल।

कतारको राजधानी दोहा नववधू भईकन पनि कुनै 'अतिथि सत्कार गृह'जस्तै लाग्छ मलाई। र त धेरै मुलुकलाई गन्तव्य बनाएर पारगमन हुनेहरूको लागि 'अधमार्ग' भइबस्छ यो। उसो त युएइ, सिंगापुर अनि थाइल्यान्ड पनि यसका लागि भरपर्दा बाटा भइदिन्छन्। तर यहाँको माटोलाई स्पर्श गर्दै जानेहरू कतिका पसिनाहरू यहीँ तप्किन्छन्। कतिका कागजपत्र यहीँ फेरिन्छन्, स्टाम्प मारिन्छन्। अनि जोजो प्रवासी बन्छन् कतारका लागि, उनीहरूका बैंस फुत्किन्छन्। बिरालोको पञ्जामा दुःखका मुसाहरू समातिन्छन्। र, अन्तमा चुँडिन्छन् कतिका जीवन पनि यही 'दोहा–कतारमा'।

गर्मीमा अचाक्ली गर्मी र जाडोमा अचाक्लीको डब्बल जाडो खेप्नु नियति हो यहाँ बाँचिरहने जीवहरूको। निर्जीव मानिएका घरका भित्ताहरू, सडकपेटी पनि यहाँको गर्मीसँग पराजय भोग्न राजी हुन्छन् प्रतिकारको सट्टा। तब न मेरै आमाका कुर्कुच्चा फुटेझैं गरी बीचबाटै यिनका 'ढुंगे मुटुहरू' पटपटी फुट्छन्। तिनै फुटेका मुटुको कुलेसीबाट मजस्तै श्रमिकका पसिनाले बग्ने दरिया भेट्छन्। अनि त कसले भेट्न सक्छ पसिनाहरूको हुँकारमय वेगलाई!

यति बेला जाडो सुरू भइसक्यो कतारमा। विशेषगरी डिसेम्बर, जनवरी र फरवरी यहाँको उग्र जाडोका प्रसाद हुन्। यस्तै जुन, जुलाई र अगस्ट गर्मीका पूर्ण परिचय पनि। गर्मीमा बाहिरको तापक्रम सामान्यता ५० डिग्रीको सन्निकट रहन्छ। यही समयमा कतारको राष्ट्रिय खाना मानिने 'खजुर' जसलाई छोकडा भन्छौं हामी, पाक्छ। कतिका जीवन पाक्छन्, त्यो भनिसाध्य छैन।

हुन त आगो र सूर्यको प्रकाश एकै लाग्छन् यहाँ। बाह्रै सूर्य उदाएझैं लाग्छ गर्मी। हरियालीविहीन रेगिस्तानमा शीतल छर्ने कुनै त्यस्ता तिलस्मी रूखहरू छैनन्। जता हेर्यो् सुक्खा मरुभूमि। बालुवा नै बालुवा। गर्मीमा यही बालुवा तात्दछ। र, तातै हावाका झोक्काहरू तैरिन्छन् समुद्रबाट। त्यसमाथि सूर्यको कडा प्रकाश छँदै छ। कसरी पो बाँचिन्छ यहाँ?

तातो तेलको कराहीमा पाक्नु र खाडीको गर्मीमा काँचै रहनुबीच श्रुतिभिन्न त होला परन्तु भोगाइ र अनुभूतिमा एकै भएर आउँछन्, उस्तैउस्तै लाग्छ। ठ्याक्कै टाउकोमाथि–माथिबाटै छेल पारी हिँड्छ सूर्यको गति, जसरी गिद्दहरू हिँड्ने गर्छन्। यस्तो लाग्छ— गाउँमा हुँदा काँडाले जेलिएको अखन्तरमा ऐँसेलुको झयाङबाट हात छिराएर ऐँसेलु टिपेझैं हातले रापिलो घाम टिप्न सकिन्छ यहाँ। यति नजिक भएर गुजि्रन्छ बेइमानी सूर्य। जसको मायाले भुतुक्कै भइजान्छन् धेरै कोमल मन भएकाहरू। अनि रातो काठको बाक्सामा उपहारस्वरूप परिवेष्टित बनेर स्वदेशी आँगनमा भित्रिन्छन्।

यति बेला कतार विश्वकप २०२२ का लागि छनोटमा परेको छ। विशेषतः 'बिल्डिङ कन्ट्रक्सन' कम्पनीमा नेपाली मजदुरहरू अहोरात्र खटिइरहेका छन्। फरक यत्ति हो, कोही बाहिरको चर्को कहरमा सिँगौरी खेलिरहेका छन् भने कोही भित्रको अप्राकृतिक एसीको विषालु हावामा। तर नेपालीहरूका हाड घोटेर चन्दन कतारले मात्रै होइन विश्वका कैयन् देशहरूले लगाइराखेका छन्।

प्रकाशित: ४ मंसिर २०७२ २२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App