–'ग्यास, मट्टीतेल छैन, केले पकाउनू ?'
'कता हिँड्नु भा ?'
– 'दाउरा खोज्न, हिटर किन्न ।'
'कहिले पाइन्छ ग्यास ?'
–'थाहा छैन, कहिले–कहिले ?'
राजधानी उपत्यकाका स्थायी हुन् या अस्थायी बासिन्दा, अहिले यताउति यस्तै संवाद गरिरहेका भेटिन्छन् । कोही इन्धनको जोहो गर्न भौंतारिइरहेका देखिन्छन् त कोही भोकैप्यासै विकल्पको जोरजाम गर्न दगुर्दैछन्।
छिमेकी भारतले महिना दिनभन्दा लामो समयदेखि लगाएको नाकाबन्दीको कहर यातायात, कलकारखाना, उद्योगधन्दा, विद्यालय हुँदै उपभोक्ताका भान्सा–भान्सामा छिरिसकेको छ। अधिकांशका ग्यासका सिलिन्डर खाली छन्। मट्टीतेलका जर्किन रित्तिएका छन् । कालोबजारी चर्काे छ, ५ देखि ८ हजार रुपैयाँ प्रतिसिलिन्डर लुकिछिपी ग्यास किनबेच गरिरहेकाहरु पनि अब टकटकिन थालेका छन्– छैन, अब ग्यास छैन।
ग्यास अभावले भान्सेलाई भान्साकोठाबाट छतमा उकालेको छ, या आँगनमा निकालेको छ । आँगन र छत दाउराका धुवाँले पुत्ताउन थालेका छन्, मानौं राजधानी मल्लकालीन समयमा फर्कंदैछ। नाकाबन्दीको कहरले सर्वसाधारणका चुलो मात्र चिस्याएको छैन, आँगन, कम्पाउन्डमा दाउराका ठुटा ठोस्नेलाई हिउँदे झरीले समेत देखिसहेको छैन।
नाकाबन्दीको कहर कहिलेसम्म ?
इन्धन अभाव कहिलेसम्म ?
चुलो चिसै रहने कहिलेसम्म ?
प्रश्न बढिरहेका छन् ।
जवाफ कतै छैन ।
जनताको सरकार जनताप्रति अपेक्षित उत्तरदायी नदेखिँदा उपभोक्ता दैनिकी झन्झन् कष्टकर बनिरहेछ ।
... ... ...
भक्तपुर, बोडेकी गणेशलक्ष्मी प्रजापती पुरानोथिमीमा माटोको चुलो बनाउँदैछिन् । गिलो माटोलाई आकार दिँदै गरेकी उनलाई घरमा ग्यास सिलिन्डर रित्तिँदै गएको चिन्ताले सताएको छ।
चुलो बाल्न दाउरा जोहो गर्नुअगावै ग्यास नसकियोस् भन्ने उनको चाहना छ । दाउराको जोहो गरेर भान्सा तयार गर्नु आफ्नालागि सकसको काम भएको उनी सुनाउँछिन् ।
'ग्यास सकिएपछि के गर्ने, सोचेकै छैन,' उनले भनिन्, 'स्टोभ बाल्न मट्टीतेल छैन, चुलो बाल्न दाउरा छैन ।' सिलिन्डरमा ग्यास नसकिँदै सरकारले ध्यान दिनुपर्ने उनी सुनाउँछिन् । 'कुर्सीका लागि मात्र लड्ने कि जनताका समस्यामा पनि ध्यान दिने ?' नेतासँग उनको गुनासो छ, 'बेलैमै समाधान निकाल्नुप¥यो ।'
भारतले लगाएको अघोषित नाकाबन्दीले उनीजस्ता लाखौंले इन्धन समस्या भोग्दैछन् । नाकाबन्दीको प्रभाव सडक हँुदै सर्वसाधरणको भान्सा प्रवेश गरेको छ जसबाट अधिकांश नेपालीको चुलो निभेको छ । खाना पकाउने एलपी ग्यास सकिएर चुलो बल्नै समस्या भएको छ ।
ग्यास सकिएका कतिपयले हिटर बाल्न थालेका छन् । कोही भुसेचुलो सल्काउँदैछन् । भान्साकोठा चिसिएपछि छत र आँगन धुवाँउन थालेका छन् । धेरैले दाउरा, भुसे चुलो, सुधारिएको चुलोको प्रयोग गरी खाना बनाउन सुरु गरे पनि सबै ठाउँमा त्यो सजिलो नभएको उनीहरु बताउँछन् ।
काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–९ की एलिसा लामा लामो समय ग्यास बालेर अहिले दाउरामा फर्कंदा अफ्ठेरो परेको सुनाउँछिन् । दाउराको धुवाँमा केटाकेटीको स्वास्थ्यमा समेत असर गर्ने गरेको उनले सुनाइन् । ग्यास सकिएपछि भुसेचुलोमा खाना बनाउँदै गरेकी उनी बत्तीको ठेगान नहँुदा हिटरको भर पर्न नसकिने सुनाउँछिन् ।
'हिटरको मात्र भर परे त बत्ती निभेका बेला भोकै बस्नुपर्ला भन्ने डर,' उनले भनिन्, 'दुःखसुख भुसे चुलो बालेर काम चलाउँदैछौं ।' ग्यास चाँडै आइदिए आफूहरुको जीवन फेरि सहज हुने आशा व्यक्त गरिन् । उनीजस्तै धेरैले ग्यास चाँडै आओस् भन्ने कामना पालेका छन् । ग्यासको अभावमा उनीहरुको दैनिकी प्रभावित भइसकेको छ ।
बोडे, धुन्चेपाखाकी सरु प्रजापतिको घरमा ग्यास सकिएको एक साता भयो । अहिले उनी माटाको हिटर बालेर खाना पकाउँदैछिन् । 'दाउरा त मैले अहिलेसम्म बालेकी छैन,' उनले भनिन्, 'बत्तीको भरमा खानाको रुटिङ चलेको छ ।' खाना पकाउँदा–पकाउँदै बत्ती जाँदा भने निकै समस्या पर्ने सुनाउँदै उनले भनिन्, 'यस्तो समस्या कहिल्यै परेन, जतिसक्दो चाँडो यसको समाधान होस् ।'
सिन्धुपाल्चोक घर भई भक्तपुर, नयाँथिमीमा डेरा बस्दै आएका नारायण बस्नेतलाई पनि एलपी ग्यासको चिन्ताले सताएको छ । चुलोमा ग्यास सकिएको त छैन तर अब कति दिन टिक्ला र भन्ने पिरले सताउने गरेको छ ।
'डेरामा आगो बाल्न मिल्दैन,' उनले भने, 'ग्यास सकिए के गर्ने, सोचेकै छैन ।' उनले जनताका बारेमा राज्यले सोच्नुपर्ने सुनाए । 'ग्यास कहाँबाट ल्याउने हो, सरकारले ल्याउनुप¥यो,' उनले भने, 'होइन भने सरकार भको–नभको के फरक र ?'
भारत, मोतिहारीका राजु साहलाई इन्धन अभावले पिरोलेको छ । भक्तपुर, थिमीमा डेरा लिएर फलफूल बेच्दै आएका उनी बाहिर आँगनमा आगो बालेर खाना बनाउन थालेको सुनाउँछन् ।'किन नाकाबन्दी भयो, थाहा छैन,' उनले भने, 'मट्टीतेल नपाएपछि दुई सातायता बाहिर आँगनमै खाना पकाएर खाने गरेका छौं ।'
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापा सरकारले जनताको समस्या साँच्चिकै बुझ्ने हो भने उनीहरुको निभेको चुलो चाँडै बल्न सक्ने सुनाउँछन् । 'राज्यले कसरी आपूर्ति गर्न सकिन्छ, तत्काल पहल गर्नुपर्छ,' उनले भने, 'आन्दोलनकारी दलले पनि भूकम्पले तहसनहस पारेको जीवनसैलीमा थप अफ्ठेरो पार्ने काम गर्न हुँदैन ।'
उपत्यकाको कुल खपतमध्ये ९० प्रतिशतभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट आउने भएकाले उक्त नाका अवरुद्ध भएकाले समस्या बढी परेको उनले सुनाए ।
समस्या सर्वसाधारणको घरमा मात्र होइन, होटल तथा रेस्टुरेन्टमा पनि उस्तै छ । ग्यास अभावले व्यापार प्रभावित हुन थालेको छ । 'पसल बन्द गरां,ै भाडा तिर्न सकिन्न, खोलौं, पकाउने ग्यास छैन,' ललितपुर, कुपन्डोलका खाजापसले महेन्द्र गुप्ताले भने, 'दाउरामा समोसा पकाएर जेनतेन चलाउँदैछाैं ।' केही दिन बन्द गरेर ग्यासको अत्तोपत्तो नभएपछि दाउरा खोजेर पसल चलाउन थालेको उनले सुनाए ।
भक्तपुर, थिमीकी चियापसल्नी सानीमाया गोले भुसे चुलोमा खाना बनाउँछिन् तर त्यो उनका लागि सजिलो भने थिएन । आँगनमा खाना पकाउँदै आएकी उनी पानी परेपछि चुलो बोकेर कोठामा पस्नुपर्ने सुनाउँछिन् । । 'पसलभित्रै आगो बालेर चिया पकाउनुपरेको छ,' उनले भनिन्, 'धुवाँले ग्राहक आउनै मान्दैनन् ।' उनको ग्यास सकिएको दुई साता भइसक्यो तर कहिले आउने अत्तोपत्तो छैन। 'ग्यास अब कहिले आउँछ ?' उनले पक्तिकारसँग सोधिन्, 'अहिले हामीलाई साँच्चिैकै ठूलो समस्या छ ।'
प्रकाशित: १३ कार्तिक २०७२ १९:१२ शुक्रबार





