वेलहियामा विष्णु एन्ड दीक्षा किराना पसलको नामबाट व्यापार गर्दै आएका विष्णु पाठकले स्थानीय जनतालाई ग्यास बिक्री नगरी भारतीय बजार सुनौलीका बासिन्दालार्ई रु १० हजारसम्ममा बिक्री गरेका थिए।
आज बिहान ग्यास किन्न गएका स्थानीयवासी देवराज न्यौपानेलाई ग्यास नदिएर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारततर्फ पठाएपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए।
आफूले पाठकसँग पटकपटक बिन्ता गर्दा पनि ग्यास नभएको र भएपनि 'नेपालीलाई रु १० हजार दिँदा पनि दिन्न' भन्ने प्रतिक्रिया दिएको न्यौपानेले जानकारी दिए। नेपाली बजारमा ग्याससहितको सिलिन्डरको खुद्रा मूल्य रु तीन हजारदेखि तीन हजार ५०० सम्म पर्ने गर्छ।
खबर पाएलगत्तै पाठकको किराना पसलमा पुगेको प्रहरीले खानतलासीका क्रममा १४ वटा ग्यासका सिलिन्डर फेला पारेको थियो। सीमा क्षेत्रमा बसेर व्यापार गर्दै आएका ती व्यापारीले महँगोमा भारतीयलाई बिक्री गरेको खुल्न आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बजारमा ग्यासको चरम अभाव भएका बेला नेपाली उपभोक्तालाई ग्यास नदिएर भारतीयलाई बिक्री गर्ने त्यस व्यापारीको काम अपराध भएको प्रतिक्रिया दिए। प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । रासस
प्रकाशित: ९ कार्तिक २०७२ ०६:०७ सोमबार





