युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध रोक्न अमेरिका पुगेका छन्। ट्रम्पले उनलाई फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा स्वागत गरे। दुई नेताबिच युद्ध अन्त्यको विषयमा लामो छलफल भएको छ।
ट्रम्पले पत्रकारसँग भने, ‘मैले आठवटा युद्ध समाप्त गरिसकेको छु। तर रूस-युक्रेन युद्ध सबैभन्दा कठिन छ। हामी वार्ताको अन्तिम चरणमा छौं। हेरौं के हुन्छ। या त युद्ध समाप्त हुनेछ, या यो धेरै लामो समयसम्म जारी रहनेछ, लाखौंको मृत्यु हुनेछ।’
उनले लडाई कहिले रोकिनेछ भन्ने कुनै निश्चित समयसीमा नभएको बताए। उनका अनुसार धेरै मानिसहरू मारिएका छन्। दुवै राष्ट्रपतिहरू अब सम्झौतामा पुग्न चाहन्छन्।
ट्रम्पले भेटअघि पुटिनसँग डेढ घण्टाभन्दा बढी फोनमा कुरा गरेका थिए। त्यसलाई ‘उत्कृष्ट र उत्पादक’ बताए। उनले पुटिन शान्ति चाहन्छन् भन्ने विश्वास पनि व्यक्त गरे।
यता कीभमा रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेको बेला यो वार्ता भएको हो। ट्रम्पले प्रस्तुत गरेको शान्ति योजनामा सुरुमा २८ सर्त थिए, अब युक्रेनले घटाएर २० बनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार धेरैजसो मुद्दामा सहमति भइसकेको छ। २०-बुँदे मस्यौदा योजना ‘९० प्रतिशत तयार’ भएको ट्रम्पले बताए।
जेलेन्स्कीले भने, ‘युक्रेन शान्तिको लागि तयार छ।’ तर उनले शान्ति सजिलो नभएको र प्रत्येक बैठकले नजिक ल्याइरहेको बताए। सबैभन्दा ठूलो विवाद डोनबास क्षेत्र र जापोरिजिया आणविक प्लान्टको हो। जेलेन्स्कीले रुसले युद्ध रोकेमा जनमतसङ्ग्रह गर्ने प्रस्ताव राखेका छन्।
ट्रम्पले भने, ‘यो धेरै गाह्रो मुद्दा हो तर मलाई लाग्छ कि यो समाधान हुनेछ।’ उनले थपे, ‘मलाई लाग्छ केही हप्तामा, हामीलाई कुनै न कुनै तरिकाले थाहा हुनेछ।’
यसैबिच रुसले युक्रेनमाथि सयौं ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ। जेलेन्स्कीले रुसले एकातिर वार्ता गर्ने र अर्कोतिर आक्रमण गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। पुटिनले भने युक्रेन सहमत नभएसम्म बल प्रयोग गरेरै लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन्। एजेन्सी
प्रकाशित: १४ पुस २०८२ ०७:२३ सोमबार





