१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

सुध्रिए मौका, नसुध्रिए सुटआउट: एसएसपी थापा

काठमाडौं— महानगरीय प्रहरी परिसरका नयाँ प्रमुख एसएसपी विक्रम सिंह थापाले आफू गुण्डालाई घण्टी बजाएर पूजा गर्ने प्रहरी अधिकृत नभएको बताएका छन्। अरुलाई मार्न हतियार बोकेर हिँड्ने गुण्डालाई प्रहरीले नमस्कार गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, 'मौका दिँदा नसुध्रिए प्रहरीले सुटआउट गर्न कञ्जुस्याँइ गर्नुपर्छ भन्नै छैन।''कोही सुध्रन्छ मौका, नसुध्रिए सुटआउट', काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'जनताको सुरक्षाको लागि जागिर खाएको हुँ। कर्तव्यपालनाका क्रममा जागिर र जीवन दुवै गौण हो। जागिर र जीवन दाउमा राखेर काम गर्न आएको हुँ।'

आफू भनसुन र दवाबले चल्ने प्रहरी अधिकृत नभएको बताउँदै उनले सुनाए, 'विक्रम थापा बोल्ने मात्र प्रहरी अधिकारी हैन, बोलेका कुरा गरेरै देखाउने प्रहरी हो। म कानुन र पेशागत कर्तव्यप्रति जिम्मेवार हुने व्यक्ति हुँ। भनसुनको भरमा काम गराउन नसोचे हुन्छ।'

काठमाडौंको अपराध नियन्त्रणका लागि उनले तीन 'एस'को रणनीति समेत सार्वजनिक गरे। पहिलो चरणमा 'स्वीप' अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रो 'स्क्रिनिङ' अर्थात् अपराधको पृष्ठभूमि केलाउने, अपराधिक गतिविधि त्याग्न सचेत गराउने। यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिई सर्वसाधारणलाई दुःख दिने र अशान्ति मच्चाउन नछोडे अन्तिममा तेस्रो 'एस' प्रयोग गर्ने उनले बताए। एसएसपी थापाले तेस्रो 'एस'मा 'सुटआउट'लाई राखेका छन्।

'गुण्डा शब्द समाजमा मात्र होइन शब्दकोषमा पनि रहँदैन', उनले भने, 'अहिले नाम चलेका कोही पनि गुन्डा हैनन् सबै लुटेरा हुन्।'

रात्रीकालीन व्यवसाय खुला राखिने

काठमाडौंका मुख्य व्यापारिक स्थल २४ घन्टै खुलाउने योजना उनले सुनाए। 'चाँडै सहर बन्द गराएर शान्ति सुरक्षा हुन्छ भन्नु पाखण्ड हो। काठमाडौं अन्तर्राष्ट्रिय स्तरको सहर हो। यो २४ घन्टै खुल्नु पर्छ', एसएसपी थापाले भने।

दरबारमार्ग २४ घन्टा खुलाउने प्रक्रिया अघि बढिसकेको सुनाउँदै उनले २४ घन्टै व्यवसाय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिने बताए। 'ढोका बन्द गराएर शान्ति बनाउने होइन ढोका खुलै राखेर शान्ति सुरक्षा दिन प्रहरी तयार छ। ९ बजे सटर बन्द गराएर शान्ति सुरक्षा कायम गरौं भन्दिनँ। रातभरि सटर खोल्नुहोस् प्रहरीले सुरक्षा दिन्छ।'

प्रकाशित: १ कार्तिक २०७२ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App