२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

दाइसँगको रिस फेर्न नाबालक भतिजको हत्या

काठमाडौं-ओखरपौवाको तारकेश्वरमा मारिएका १० वर्षिय बालक मन्दीप घिमिरेको हत्या आरोपमा प्रहरीले उनका काका २२ वर्षका शिवहरि घिमिरेलाई पक्राउ गरेको छ । मृतक बालकका बुबा डोलप्रसादसँग अंश विवादको झोंकमा उनले भतिज मन्दीपको हत्या गरेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाले दाबी गरेको छ ।


कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर र भ्यु टावर हेर्न भन्दै मामाघरबाट हिँडेका मन्दीपको शव भदौ २० मा ओखरपौवा तारकेश्वर नगरपालिका गढीभञ्ज्याङको मकैबारीमा उनकै टिसर्टले हातखुट्टा बाँधेको अवस्थामा फेला परेको थियो ।

लामो समयदेखि मामाघर बस्दै आएका मन्दीपको हत्यामा परिचित संलग्न रहेको र हत्याको कारण पारिवारिक दुस्मनी ठम्याए पनि हत्यामा संलग्नसम्म प्रहरी पुग्न सकेको थिएन । प्रहरीले अंश बाँडफाँडमा राम्रो जग्गा दाजुलाई परेकोमा मुर्मुरिएका शिवहरीले बदला लिन भतिजको हत्या गरेको महाशाखाको प्रारम्भिक अनुसन्धान विवरणमा आइतबार उल्लेख गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घिमिरे परिवारका तीन दाजुभाइबीच ओखरपौवाको पुस्तैनी जग्गा अंशबन्डा हुँदा विवाद थियो । त्यही विवाद बढ्दा मन्दीपको हत्या भएको अनुसन्धानमा देखिएको खनालले जानकारी दिए ।

खनालका अनुसार डोलप्रसादको अंशको जग्गा सडकतर्फ परेको र शिवहरिको जग्गा पछाडि परेपछि दाजुसँग शिवहरिको विवाद बढेको थियो । उनी वैदेशिक रोजगारमा खाडी मुलुक गए । जग्गा श्रीमती भगवतीको नाममा रहेकाले शिवहरि जग्गा विषयमा भाउजुसँग विवाद गर्दैै आएका थिए ।

प्रारम्भिक अनुसन्धान विवरण अनुसार वैशाख १२ को भूकम्पमा भगवती बस्ने डेरासमेत चर्किएपछि उनी आफ्नो जग्गामा अस्थायी टहरा बनाउन जाँदा शिवहरि र उनीबीच फेरि विवाद बढेको थियो ।

भगवतीलाई उनले टहरा बनाउन नदिएपछि सँगै रहेका मन्दीपले 'आफू ठूलो भएपछि बदला लिएर छाड्ने' भनेपछि शिवहरी १० वर्षिय बालकसँग रिसाएका थिए ।

'जग्गाको विवाद नमिल्ने र भतिजले पनि धम्क्याएपछि उनले भतिजलाई मार्ने योजना बनाएको अहिलेसम्मको अनुसन्धानमा खुलेको छ' एसएसपी खनालले नागरिकसँग भने ।

१५ दिन अगाडिको योजना

घटनाको १५ दिनअघि शिवहरिको भेट मन्दीपसँग भयो । ओखरपौवास्थित मामाघरमा बस्दै आएका बालकलाई उनले कृष्ण जन्माष्टमीको दिन भ्यु टावरनजिकै मन्दिरमा लाग्ने मेलामा आउन बोलाएका थिए । काकासँगको झगडा बिर्सिसकेका मन्दीप राजी भए ।

'भदौ १९ मा शिवहरी २ बजेतिर गाउँलेले नदेख्ने गरी पुरानो बाटो हुँदै भ्युटावर पुगे । भ्यु टावरनजिकै पुगेर उनले मन्दीपलाई खोजे,' एसएसपी खनालले भने, 'नजिकै खेलिरहेका मन्दीपलाई बोलाएर आफूसँगै लिएर हिँडे ।'

प्रहरीका अनुसार उनी त्यो दिन बालकको हत्या गर्ने योजनासहित गएका थिए । उनले मन्दीपलाई आफूसँगै लगे र तित्रि किनिदिए । वरिपरि भिडभाड देखेपछि एकान्त स्थान खोज्न उनले बालकलाई आफ्नो घर जाउँ भने, मन्दीपले पनि माने ।

हत्या गर्न सुरक्षित ठाउँ खोज्न उनले मन्दीपलाई भन्ज्याङको मकैबारी हुँदै ओखरपौवातिर लगेका थिए । केही समय हिँडेपछि रामहरि गजुरेलको मकैबारीमा पुगेर उनले मन्दीपको घाँटी थिचे, उनी बेहोस भए ।

'मन्दीप बेहोस भएपछि शिवहरिले बालकले लगाएको हरियो टिसर्ट च्यातेर हातखुट्टा बाँधिदिए अनि घाँटी मुख समेत त्यसैले बाँधे,' महाशाखाको प्रारम्भिक प्रतिवेदनमा छ, 'बेहोस उनलाई ५ मिटर पर लगेर मकैबारीको कुनामा फाली उनी घर गए ।'

प्रहरीका अनुसार शिवहरिका काकाको मृत्यु भएकाले किरियाको काम चलिरहेको थियो । उनी काकाको घरमा दैनिक जान्थे, तर त्यस दिन गएनन् । उनले घरको अवस्था के छ भनेर जान्न भाउजुलाई फोन गरेर सामान्य हालचाल सोधे र साथी धर्मराज घिमिरेलाई फोन गरे । घटनाको दोस्रो दिन मलेसियामा रहेका दाई डोलप्रसादले फोन गरेर छोरो हराएको बताउँदा उनले केही थाहा नभएको बहाना गरेर भाउजुलाई फोन गरे तर उठेन । उनले मन्दीपकी ठूली आमालाई फोन गरेर मन्दीपबारे सोधखोज गर्दा मकैबारीमा मृत फेला परेको भनेपछि गाउँलेको मोटरसाइकलमा घटनास्थल पुगेका थिए ।

घटनास्थलको प्रकृतिका आधारमा परिचितबाट हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले बालककी आमा, मामाघरसँगै परिवारका सदस्यसँग बयान लिए पनि घटनाबारे खुलेको थिएन । शिवहरी र मृतक बालककी आमाबीच जग्गाको विषयमा झगडा भएको सूचनाको आधारमा प्रहरीले शिवहरिलाई केन्द्रमा राखी अनुसन्धान शुरु गरेको एक महिनामा हत्या रहस्य सुल्झेको थियो ।

प्रकाशित: २४ आश्विन २०७२ २२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App