७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

चिया पसलमा प्रहरीको छापा : आमाछोरासहित तीन जना पक्राउ

विराटनगर महानगरपालिका–१५ मा रहेको एक चिया पसलमा लागुऔषध गाँजा भेटिएपछि सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल-भारत सीमा नजिकै रहेको चिया नास्ता पसलमा गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले बिहीबार साँझ छापा मारेर गाँजा बरामद गरेको हो।

मनोज साहको घरमा सटर भाडामा लिएर भारत बिहारकी ४५ वर्षीया कविता यादवले चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएकी थिइन्।

पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका सात वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको मोरङ प्रहरीले जनाएको छ। 

त्यहाँ ससाना खाली प्लाष्टिकका प्याकेटहरू पनि भेटिएपछि उक्त पसलबाट गाँजाको खुद्रा बिक्रीसमेत हुँदै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। बरामद गरिएको गाँजा डिजिटल तराजुमा तौल गर्दा सात किलो १८० ग्राम भएको प्रहरीले जनाएको छ।  

पसलमा गाँजा फेला परेको पसल सञ्चालक यादव, उनका छोरा २८ वर्षीय मुन्नाकुमार यादव र मोरङको जहदा गाउँपालिका–१ का १९ वर्षीय मञ्जितकुमार यादवलाई पक्राउ गरेको हो। 

साथै, सो ठाउँमा रहेको बिआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ पुस २०८२ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App