१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

दाईसँगको रिस फेर्न नाबालक भतिजको हत्या

काठमाडौं–ओखरपौवाको तारकेश्वरमा मारिएका १० वर्षीय बालक मन्दिप घिमिरेको हत्या आरोपमा उनका काका २२ वर्षका शिवहरि घिमिरे पक्राउ परेका छन्।मृतक बालकका बुबा डोलप्रसादसँगको अंश विवादको झोंकमा उनले भतिज मन्दिपको हत्या गरेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाले दावी गरेको छ। कृष्ण जन्मअस्ष्टमीको दिन कृष्ण मन्दिर र भ्यु टावर हेर्न भन्दै मामाघरबाट हिँडेका मन्दिपको शव भदौ २० मा ओखरपौवा तारकेश्वर नगरपालिका गढिभञ्ज्याङको मकैबारीमा उनकै टिसर्ट च्यातेर डोरी बनाई हातखुट्टा बाँधेको अवस्थामा फेला परेको थियो।

लामो समयदेखि मामाघरमा बस्दै आएका उनको हत्यामा परिचित संलग्न रहेको र हत्याको कारण पारिवारिक दुश्मनी रहेको ठम्याए पनि प्रहरी हत्यामा संलग्नसम्म पुग्न सकेको थिएन। प्रहरीले आइतबार अंश बाँडफाँडमा राम्रो जग्गा दाईलाई परेकोमा र्मुमुरिएका शिवहरिले बदला लिन भतिजको हत्या गरेको महाशाखाले प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घिमिरे परिवारका तीन दाजुभाईबीच ओखरपौवामा रहेको पुस्तौनी जग्गा अंशबन्डा हुँदा विवाद थियो। त्यही विवाद बढ्दा मन्दिपको हत्या भएको अनुसन्धानमा देखिएको खनालले जानकारी दिए।

खनालका अनुसार डोलप्रसादको अंशको जग्गा सडकतर्फ परेको र शिवहरिको जग्गा पछाडि परेपछी दुबै दाजुभाई विवाद बढेको थियो। उनी बैदेशिक रोजगारीका लागिीखाडी मुलुक गए। जग्गा श्रीमती भगवतीको नाममा रहेकाले शिवहरि जग्गा विषयमा भाउजुसँग विवाद गर्दैै आएका थिए।

प्रारम्भिक अनुसन्धान विवरण अनुसार वैशाख १२ को भूकम्पमा भगवती बस्ने डेरा समेत चर्किएपछि उनी आफ्नो जग्गामा अस्थायी टहरा बनाउन जाँदा यी दुबैबीच पुनः विवाद बढेको थियो।

भगवतीलाई उनले टहरा बनाउन नदिएपछिसँगै रहेका 'आफु ठुलो भएपछि बदला लिएर छाड्ने' भनेपछी शिवहरि १० वर्षीय बालकसँग रिसाएका थिए। 'जग्गाको विवाद नमिल्ने र भतिजले पनि धम्क्याएपछि उनले भतिजलाई मार्ने योजना बनाएको अहिलेसम्मको अनुसन्धानमा खुलेको छ,' एसएसपी खनालले भने ।

१५ दिन अगाडिको योजना

घटना हुनुभन्दा १५ दिन अगाडि शिवहरिको भेट मन्दिपसँग भयो। ओखरपौवामा मामाघरमा बस्दै आएका बालकलाई उनले कृष्ण जन्माष्टमीको दिन भ्यु टावर नजिकै मन्दिरमा लाग्ने मेलामा आउन बोलाएका थिए। काकासँगको झगडा बिर्सिसकेका मन्दिप राजी भए।

'भदौ १९ मा शिवहरि २ वजेतिर गाउँलेले नदेख्नेगरी पुरानो बाटोहुँदै भ्युटावर पुगे। 'भ्यु टावर नजिकै पुगेपछि उनले मन्दिपलाई खोजे,' एसएसपी खनालले भने, 'नजिकै खेलिरहेका मन्दिपलाई बोलाएर आफुसँगै लिएर हिडे।'

प्रहरीका अनुसार उनी त्यो दिन बालकको हत्या गर्ने योजनासहित गएका थिए। उनले मन्दिपलाई आफूसँगै लिएर गए अनि इमिली किनिदिए। वरीपरी भिडभाड देखेपछि एकान्त स्थान खोज्न उनले बालकलाई आफ्नो घर जाउँ भने, मन्दिपले पनि माने ।

हत्याका लागि सुरक्षित ठाउँ खोज्न उनले मन्पिलाई भन्ज्याङको मकैबारीहुँदै ओखरपौवातिर लगेका थिए। केही समय हिडेपछि रामहरि गजुरेलको मकैबारीमा पुगेपछि उनले मन्दिपको घाँटी थिचे, उनी बेहोस भए ।

'मन्दिप बेहोस भएपछि शिवहरिले बालकले लगाएको हरियो रंगको टिसर्ट च्यातेर हात– खुट्टा बाँधिदिए अनी घांटी तर मुख समेत त्यसैले बाँधे,' महाशाखाको प्रारम्भिक प्रतिवेदनमा छ' 'बेहोस भएका उनलाई ५ मिटर पर लगेर मकैबारीको कुनामा फाली उनी घर गए।'

प्रहरीका अनुसार शिवहरिका काकाको मृत्यु भएकाले किरियाको काम चलिरहेको थियो। उनी काकाको घरमा दैनिक जान्थे तर त्यो दिन गएनन्। उनले घरको अवस्था के छ भनेर जान्न भाउजुलाई फोन गरेर सामान्य हालचाल सोधे अनी साथी धर्मराज घिमिरेलाई फोन गरे । घटनाको दोस्रो दिन मलेसियामा रहेका दाई डोलप्रसादले फोन गरेर छोरो हराएको बताउँदा उनले केही थाहा नभएको बहाना गरे अनी भाउजुलाई फोन गरे तर उठेन । उनले मन्दिपको ठुली आमालाई फोन गरेर मन्दिपबारे सोधखोज गर्दा मकैबारीमा मृत फेला परेको भनेपछि गाउलेको मोटरसाइकलमा घटनास्थलमा पुगेका थिए।

घटनास्थलको प्रकृतिका आधारमा परिचितबाट हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले बालककी आमा, मामाघरसँगै परिवारका सदस्यसँग बयान लिए पनि घटनाबारे खुलेको थिएन। शिवहरि र मृतक बालककी आमाबीच जग्गाको विषयमा झगडा भएको सूचनाको आधारमा प्रहरीले शिवहरिलाई केन्द्रमा राखी अनुसन्धान सुरु गरेको एक महिनामा हत्या रहस्य सुल्झेको थियो।

प्रकाशित: २४ आश्विन २०७२ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App