२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

वेदबहादुरको अल्ट्रा यात्रा

काठमाडौं- नेपाली धावक वेदबहादुर सुनुवार एसियन माउन्टेन रनिङ च्यालेन्जको ५० किलोमिटर अल्ट्रा रेसमा च्याम्पियन बनेर फर्केका छन्।
विदेशी भूमिमा भएको अल्ट्रा रेसमा एकपछि अर्को सफलतालाई निरन्तरता दिनेक्रममा नेपाली सेनाका धावक वेदबहादुरले चीनमा उक्त सफलता पाएका हुन्। संस्थागत र व्यक्तिगत पहलमा अन्तर्राष्ट्रिय स्तरमा अल्ट्रा रेसमा भाग लिइरहेका सेनाका खेलाडीहरू पछिल्लो समय बिरलै मात्र पदकविहीन हुनुपरेको छ।गत बर्ष फ्रान्सको टिडिएस १ सय १९ किलोमिटर दौडमा दोस्रो स्थान सेनाका समिर तामाङले हङकङमा स्काई रनिङ एसियन च्याम्पियनसिप ५० किलोमिटरको उपाधि जितेका थिए। २०७० मा सेनाका पूर्ण तामाङ र हाल फ्रान्समा बस्दै आएकी मनिकला राईले द नर्थ फेस १०० हङकङ अल्ट्रा रेस जितेका थिए। अल्ट्राको पछिल्लो सनसनीका रुपमा मिरा राई लिन सकिन्छ। असारमा फ्रान्समा ८० किलोमिटरको डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जितेकी मिरा स्पेनमा अल्ट्रा पिरिन्युमा दोस्रो स्थान हासिल गर्दै यसै साता स्वदेश फर्केकी छिन्। उनले गत बर्ष समिरसँगै हङकङमा स्काई रनिङको महिला ५० किलोमिटर अल्ट्राको उपाधि जितेकी थिइन्।

चिनिया माउन्टेनेरिङ एसोसिएसनले जिन्सा गान्जाउमा असोज २ मा आयोजना गरेको अल्ट्रा रेस ४ घन्टा ४४ मिनेटमा पूरा गर्दै वेद विजेता बनेका थिए। उनका अनुसार १२ देशका हजार बढी खेलाडी सहभागी अल्ट्रामा १ सय ५० खेलाडीलाई पदकका सम्भावित दाबेदारमा हेरिएको थियो। 'जित्ने लक्ष्य त हरेक खेलाडी हुन्छ। मेरो पनि थियो,' उनी सम्झन्छन्, 'त्यहाँ पुगेर अन्य खेलाडीलाई देखेपछि सकिन्न कि भन्ने पनि लाग्यो।' फलफुल, पानी र अन्य इनर्जी ड्रिङ्कसहित झन्डै ६ केजी भार बोकेर दौडेका वेदबहादुर ३४/३५ किलोमिटरसम्म आफू पछाडि रहेको बताउँछन्। 'हाम्रो कोर्स उकालो, ओरालो, समतल सबैखाले थियो। झन्डै ३५ किलोमिटरसम्म म पछि थिएँ ,' उनले दौड अनुभव सुनाए, 'अरुको पछाडि रहँदा उनीहरूको कमजोरी पनि थाहा हुन्छ। उकालो, उरालोमा उनीहरूलाई गाह्रो भइरहेको थियो। रेसको अन्तिम १५ किलोमिटर अन्तको तुलनामा उकालो थियो। मलाई त्यसमा फाइदा भयो। मैले त्यसमै अरुलाई पछि पार्न सफल भएँ।'

दोस्रो र तेस्रो स्थान दुवै चीनका खेलाडीले हत्याए। दोस्रोले ४ घन्टा ५३ मिनेट र तेस्रोले ४ घन्टा ५९ मिनेट लगाएका थिए। रेस जितेबापत वेदबहादुरले झन्डै १ लाख ५० हजार रुपैयाँ हात पारेका छन्।

रामेछाप गुप्तेश्वर गाविस–१ का वेदबहादुर सेनामा छिरेको ११ वर्ष बितिसकेको छ। गाउँमा छँदा उनी फुटबल खेल्थे। दौडको महŒव थाहा थिएन। अहिले उनी दौडेरै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको आफूलाई भाग्यमानी सम्झन्छन्। उनका लागि यो सफलता सपना पूरा भएभन्दा कम छैन। 'मैले झन्डै सात वर्ष (२०६६) भयो अल्ट्रा रेसमा भाग लिन थालेको,' उनले भने, 'जति पनि रेसमा भाग लिएको छु, शीर्ष तीनमा पर्न सफल भएको छु। यसरी नतिजा ल्याउँदा देशका लागि केही गरेछु भन्ने अनुभव हुन्छ।'

उनले अल्ट्रा रेसमा लामो यात्रा तय गरिसकेका छन्। तर, सेनाको त्रिभुवन क्लबबिना उनी खेलजीवनको कल्पना पनि गर्न सक्दैनन्। 'हामीजस्तो सामान्य परिवारका मान्छेले विदेशी भूमिमा गएर अल्ट्रा रेसमा भाग लिने कल्पनाभन्दा परको कुरा हो,' एक छोराका बाबु रहेका २८ वर्षे वेद भन्छन्, 'सेनामा भएकै कारण हामीले दौड, त्यसमा पनि अल्ट्राको महŒव बुझ्यो। सेनामा खेल र खेलाडीलाई महत्वका साथ हेरिन्छ। त्यसकारण पनि हौसला मिल्छ र हामी मिहिनेत गर्छौं।'

एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझाको निगरानीमा उनले अल्ट्राको अभ्यास गर्दै आएका छन्। 'पुष्प गुरु हामीसँग हरेक दिन रहने होइन। तर, हाम्रो प्रशिक्षण योजना उहाँले बनाउनुहुन्छ। हामी त्यहीअनुसार प्रशिक्षण गर्छौं।'

सिनियर तथा सेनाकै अल्ट्रा धावक समिर तामाङ, आइते तामाङ, पूर्ण तामाङ र समकालीन तीर्थ तामाङको सफलताले आफूलाई अल्ट्रामा केही गर्ने उत्साह मिल्ने गरेको उनी सुनाउँछन्। 'हामी अल्ट्रा दौड्ने धेरै छैनौं। जति छौं एकले अर्कालाई सहयोग र साथ रहन्छ,' उनले भने। समिर र आइते भने अहिले शान्तिसेनाका लागि देश बाहिर छन्।

सेनाको आन्तरिक प्रतियोगितामा भाग लिएपछि वेदको खेलजीवनले नयाँ गति लियोे। 'आन्तरिक प्रतियोगिताबाट मेरो दौडमा निखार आउँदै गयो। त्यसले हौसला पनि बढायो,' उनले सम्झे, '२०६५ मा काभ्रेको भकुण्डेमा भएको म्याराथन ३ घन्टामा पूरा गरेर छैटौं भएँ। त्यसले दौड्न सक्छु भन्ने विश्वास बढायो।'

त्यसपछि उनले देशभित्रका अल्ट्रा र म्याराथनमा भाग लिँदै गए। सफलता पनि पाउँदै गए। २०६७ सालमै उनले अन्तर्राष्ट्रिय स्तरको दौडमा भाग लिने मौका पाएका थिए।

हङकङमा मात्र चारपटक सय किलोमिटरमा दौडेका उनले एकपटक तेस्रो हुनुपर्यो भने बाँकीमा दोस्रो भए। गत वर्ष चीनमा डालसिटी ५० किलोमिटरबाट उनी च्याम्पियन बनेर फर्के। अहिले चीनमा जितेको उनको खेलजीवनको छैटौं अन्तर्राष्ट्रिय पदक हो। चीनमा गत वर्ष उनले ५० किलोमिटर जित्दा तीर्थ तामाङले सय किलोमिटरको उपाधि जितेका छन्।

शुभचिन्तक, केही सहयोगी संस्था र व्यक्तिगत पहलमै अल्ट्रामा भाग लिएको अनुभव संगालेका वेदबहादुर अल्ट्रामा नेपालीलाई सफलता पाउन सहज हुने मान्दछन्। 'हामी सबै गाउँठाउँमा उकालो–ओरालो गर्दै हुर्केका हौं। प्राकृतिक रूपमा नै हामीलाई अल्ट्रामा प्रतिस्पर्धा गर्न सहज हुन्छ,' उनले भने, 'सेनामा भएका हामीले मात्र होइन। महिलामा मनिकला राई, मीरा राईले पनि सफलता प्राप्त गरिरहेका छन्। यसले पनि नेपाली खेलाडीको अल्ट्रा रेसको सम्भावना प्रमाणित गरेको छ।'

अल्ट्रा रेसका लागि संस्थागत पहल थालेमा अल्ट्रा धावकको संख्या बढ्नुका साथै नेपालको खेलकुद पयर्टन विकासमा टेवा मिल्नेमा वेद आशावादी छन्।


प्रकाशित: ८ आश्विन २०७२ २३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App