२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

टाइमलाइनमा संविधान

नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको छ। यो संख्यासँगै विभिन्न क्षेत्र, तह र तप्काका विचारहरू सामाजिक सञ्जालहरूमा केही वर्षदेखि नै छरिन थालेका हुन् । देश विशेष अवस्थामा रहेका बेला वा कुनै अभियान वा आन्दोलनका बेला पनि यही सञ्जालले नेपालीहरूलाई एकजुट बनाउने गरेको छ। करिब पाँच महिनाअघि गएको भूकम्पको बेला सामाजिक सञ्जालको प्रयोग गरी सहयोग जुटाएका नेपालीहरूले यो साता टाइमलाइनलाई संविधानमय बनाए। उनीहरूले संविधानको स्वागत र विरोधमा टाइमलाइन भरे।

संविधानको स्वागत


संविधान निर्माण प्रक्रिया पूरा हुनै लाग्दा ट्वीटरमा संविधानको स्वागतको बहार चल्यो। ह्यासट्याग वेलकम कन्स्टिच्युसन, नेपाल कन्स्टिच्युसन, माई कन्स्टिच्युसन प्रयोग गरी संविधानको बारेमा सकारात्मक चर्चा चल्न थाल्यो। देशका विभिन्न ठाउँमा भइरहेका आन्दोलन र हिंसाका घटनाका बाबजुद आएको यो बहारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि ऊर्जा दियो। सरकार काठमाडौंमा मात्र केन्द्रित भएको र तराईको समस्या समाधान गर्न तत्पर नदेखिएको भन्दै आलोचना गरेका ट्वीटेहरूले नयाँ संविधानलाई भने भव्य स्वागत गरे।

दोस्रो जनआन्दोलनपछि भएको पहिलो संविधानसभाको निर्वाचन र त्यसपछि गठित संविधानसभाले चार वर्षसम्म पनि संविधान ल्याउन सकेन। त्यति बेला विघटन भएको संविधानसभाले ९० प्रतिशत काम पूरा गरेको भनिए पनि संघीयता, शासकीय स्वरूप लगायतका केही प्रमुख मुद्दाको टुंगो लाग्न सकेको थिएन। २०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनले २०७१ माघ ८ गते संविधान जारी गर्ने भने पनि त्यति बेलासम्म संविधान जारी हुने कुनै छाँटकाँट नदेखेपछि सर्वसाधारण निराश भएका थिए। त्यसको करिब आठ महिनापछि संविधान जारी हुने भएपछि रमाएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो उत्साह प्रतिविम्बित गरे।

संविधान आउने चर्चा चल्न थालेपछि गत भदौ २७ गते विराटनगर बस्ने सुजित झाले पहिलोपल्ट वेलकम कन्स्टिच्युसन राखेर ट्वीट गरे। उनका साथीहरू सरोज कार्की र निर्मल तामाङलाई गरेको एउटा ट्वीटमा उनले यो ह्यासट्याग प्रयोग गरेका थिए। त्यसपछि बिस्तारै नयाँ संविधानलाई स्वागत छ भन्ने आसयले वेलकम कन्स्टिच्युसन ह्यासट्याग प्रयोग गरेर ट्वीट गर्न थालियो। टप्सी डटकमका अनुसार विगत छ दिनमा अहिलेसम्म आठ हजार ९७६ 'वेलकम कन्सटिच्युसन' ह्यासट्याग प्रयोग गरेर ट्वीट गरिएको छ।

समय समयमा विभिन्न विषयमा बहस भइरहने सामाजिक सञ्जालमा पनि संविधान, यसमा समेटिएका विषयवस्तु र देशका विभिन्न ठाउँमा भइरहेका आन्दोलनका बाबजुद जारी गर्न लागिएको संविधानका बारेमा चर्चा चल्यो। पछिल्लो समयमा भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बाह्य हस्तक्षेपले संविधान रोक्न नहुने भन्दै जोडदार माग उठाए। भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि ट्वीटरमा संविधान ल्याउनका लागि खबरदारी सुरु भयो। संविधान गतिशील दस्तावेज भएकाले पछि संशोधन गर्न सकिने भन्दै उनीहरूलेे भारतको दबाब नमानी निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिए।

संविधान जारी हुने दिन असोज ३ गते वेलकम कन्स्टिच्युसन, नेपाल कन्स्टिच्युसन र माई कन्स्टिच्युसन ह्यासट्यागको प्रयोग गरी संविधानलाई स्वागतमात्र गरिएन, देश र विदेशका विभिन्न ठाउँमा संविधानको स्वागतमा गरिएका दीपावली र अन्य गतिविधिको खबर पनि पोस्ट गरियो।

ट्वीटरमा प्रकाश तिमल्सिनाले रौतहटको चन्द्रनिगाहपुरमा संविधानको स्वागतमा भइरहेको दीपावलीको तयारीको तस्बिर ट्वीट गर्दै लेखे, 'संविधान आएको खुसीयालीमा जन्मभूमि (रौतहट, चन्द्रनिगाहपुर) मा दीपावलीको तयारी भइरहेको फोटो सेयर गरँे।'

ट्वीटरमै सुरेश ढकालले आफ्नो छिमेकको फोटो पोस्ट गरे। वेलकम कन्स्टिच्युसन ह्यासट्यागसहित उनको त्यो फोटो ट्वीटमा '१९७४ एडीको गीतसँगै संविधानको स्वागतको तयारी' भनी लेखिएको थियो। यस्ता तस्बिरहरूले गत आइतबार फेसबुक र ट्वीटरको टाइमलाइन रंगीन बन्यो।

चेतना भया नामको ट्वीटर ह्यान्डलबाट नयाँ संविधानको विशेषताको बारेमा ट्वीट आयो। 'संसारमा ४२ वटा देशमा संविधानसभाबाट संविधान जारी भएको छ। तर कुनै पनि देशमा ९० प्रतिशतभन्दा बढीको सहभागिता छैन तर नेपालमा ९२ प्रतिशतको समर्थन छ।'

तराई आन्दोलनबाट प्रभावित महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ संविधानको स्वागतको तयारीको फोटो पोस्ट गर्दै छवि काफ्लेले ट्वीट गरे, 'बर्दिबासबाट संविधान विरोधी बन्दकर्तालाई लखेटी निकै हर्षोल्लासका साथ दीपावली मनाउँदै स्थानीयवासी।'

सिंगो देश नामको ट्वीटर ह्यान्डलबाट इलामको इलाम बजारमा नयाँ संविधानको स्वागत गर्दै दीपावली गरिएको तस्बिर पोस्ट भयो। त्यस्तै, रुपन्देहीको देवदहबाट त्यहाकाँ एक ट्वीटर प्रयोगकर्ताले संविधानको स्वागतमा विभिन्न राजनीतिक दलले गरेको स्वागत कार्यक्रमको फोटो पोस्ट गरे। ट्वीटर मात्र होइन, फेसबुक र इन्स्टाग्राममा पनि वेलकम कन्स्टिच्युसन ट्याग गरिएका फोटो, पोस्ट र स्टाटसले ठाउँ पाए। विदेशबाट पनि नेपालीहरूले आफू बस्ने ठाउँमा दीपावली गरेको फोटो पोस्ट गरेर सामाजिक सञ्जाललाई झिलिमिली बनाए। पूर्व सभासद् शान्ता चौधरीले पनि नयाँ संविधानको स्वागत गर्दै लेखिन्, 'संविधान बनाएकोमा सबै सभासद् मित्रलाई धन्यवाद जनतालाई बधाई, अब संविधानमा सुधार गर्दै प्रभावकारी ढंगले लागू गर्नुपर्छ। सबैलाई समेट्नुपर्छ।'

त्यसो त सामाजिक सञ्जालमा संविधानलाई स्वागत गरेका पोस्टहरू मात्र देखिएनन्, नट माई कन्स्टिच्युसन ह्यासट्यागमार्फत संविधानको विरोध पनि गरियो। विशेष गरी तराई र विदेशमा बस्ने नेपालीहरूले मधेस केन्द्रित राजनीतिक दलहरूको माग सम्बोधन नगरिएको, नागरिकताको प्रावधान विभेदकारी भएको लगायतका कुराहरू राख्दै असन्तुष्टि जनाए। नयाँ संविधानको समर्थन गर्ने र विरोध गर्नेहरूको बीचमा सामाजिक सञ्जालमा चर्काचर्कीसम्म चल्यो।

आरके शाहले नट माई कन्स्टिच्युसन ह्यासट्याग प्रयोग गरी ट्वीट गरे, 'लोकतान्त्रिक हक अधिकार, थारू, जनजाति, दलित, मुस्लिमको आधारभूत अधिकार हो। त्यसको सम्मान गर्नु राज्यको कर्तव्य हो।' यसरी संविधानको विरोध गरी नट माई कन्स्टिच्युसन ह्यासट्याग प्रयोग गर्नेहरूले थ्यांक यु इन्डिया र ब्याक अफ नेपाल ह्यासट्याग समेत प्रयोग गरेका थिए। उनीहरूले तराईमा ४० जनाभन्दा धेरैको ज्यान गइसकेको अवस्थामा पनि सरकारले जबर्जस्ती संविधान ल्याएको भन्दै व्यापक विरोध गरेका छन्।

'ब्याक अफ इन्डिया' विश्वव्यापी ट्रेन्ड


नेपाल भ्रमणका बेला गरेको नेपाली भाषामा गरेको भाषणले नेपालीको वाहवाही कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ९० प्रतिशतभन्दा धेरै सभासदले हस्ताक्षर गरेको संविधान जारी हुँदासमेत कुनै प्रतिक्रिया देखाएनन्। न उनले कुनै ट्वीट गरे न फेसबुकमा स्टाटस पोस्ट गरे। नेपालमा गएको भूकम्पमात्र होइन, प्रधानमन्त्री सुशील कोइरालाको जन्मदिनमा समेत ट्वीट गर्न भ्याएका मोदीले नेपालको संविधानको बेला चुइँक्क पनि बोलेनन्। यसलाई सामाजिक सञ्जाल प्रयोगतकर्ताले अर्थपूर्ण रूपमा हेरेका छन्।

भूकम्पका बेला पीडितलाई अनेकथरी प्रश्न सोधे भनेर भारतीय सञ्चारमाध्यमविरुद्ध खनिँदै 'गो होम इन्डियन मिडिया' ट्रेन्ड गराएका नेपालीहरूले 'ब्याक अफ इन्डिया' समेत ट्रेन्ड गराएका छन्। नेपालमा जारी भएको नयाँ संविधानसँगै ब्याक अफ इन्डिया ह्यासट्याग त झन् विश्वव्यापी रूपमा नै ट्रेन्ड भयो। सन्देश खरेलले पहिलोपटक सुरु गरेको यो ट्रेन्ड मंगलबार विश्वभर ट्वीटर दुनियाँमा तहल्का नै मच्चायो । हिन्दुस्तान टाइम्स, दी हिन्दु लगायतका भारतीय मिडियामात्र होइन अन्य देशका सञ्चारमाध्यमलेे समेत यो ट्रेन्डका बारे समाचार पोस्ट गरे। मौसमविद् समीरमणि दीक्षितले ब्याक अफ इन्डियालाई समर्थन गर्दै ट्वीट गरे 'अन्तर्राािष्ट्रय प्रेस जगत्ले बिस्तारै नेपालका कुरा सुन्न थालेछ। ब्याक अफ इन्डिया ट्रेन्ड भइरहेको छ। यसको प्रयोग गरौं। हामी कति झुक्ने?' उनले थपे, 'भारतलाई आधिकारिक जवाफ दिइयोस्, भद्र भाषामा। साथै, ढिलै सही, मुख्य दलका नेताहरू तराई जाऊन्, त्यहाँका असन्तुष्टिबारे छलफल गरून्।'

आइतबार संविधानसभाले जारी गरेको नेपालको संविधानका बारेमा सकारात्मक नरहेको भारतले मंगलबारमात्र नेपालमा नाकाबन्दी गर्ने आसयले विज्ञप्ति निकालेपछि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोश झनै चुलियो। नेपालले जसरी संविधान जारी गरे पनि यो नेपालको आन्तरिक मामिला भएको र भारतले हस्तक्षेप गर्न नहुने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले 'ब्याक अफ इन्डिया' ह्यासट्याग राखेर ट्वीट तथा स्टाटस लेखे। अहिलेसम्म यो ह्यासट्यागको प्रयोग गरी दुई लाख ४० हजारभन्दा धेरै ट्वीट भइसकेको छ।

पत्रकार लेनिन बन्जाडेले ब्याकअफ इन्डिया ह्यासट्याग प्रयोग गरेर ट्वीट गरे, 'हाम्रा नेताले वर्षौं भारतको गुलामी गरे, हामी चिसो बरफझैं जमिरह्यौं। अब बिस्तारै आगो बल्दैछ, हामी पग्लिएर उम्लिदैछौं।'

सभासद चौधरीले पनि सोही ह्यासट्याग प्रयोग गर्दै लेखिन्, 'सयौं जाति भाषा संस्कृतिको धनी हामी आपसमा बाझ्छौं अनि मिल्छौं पनि। हामीलाई कसैले जुटाउन पर्दैन। फुटाउन प्रयास नगरिदिए पुग्छ।'

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सीमावर्ती नेपाली भूमिमा मानिसको ज्यान जाने गरी भएका हिंसाका घटनाले गर्दा भारतीय यातायातसमेत नेपालमा प्रभावित भएको भन्दै अप्रत्यक्ष रूपमा यातायात बन्द गर्ने जनाएको थियो। नेपाली राजनीतिक नेतृत्वसँग बारम्बार ती क्षेत्रमा उत्पन्न तनावको समाधान गरेरमात्र संविधान जारी गर्न भनिएको भन्दै भारतले आफ्नो असन्तुष्टिसमेत देखाएको थियो।

भारतीय सञ्चारमाध्यमको गैरजिम्मेवार हर्कत सुरु भएको 'गो होम इन्डियन मिडिया'लाई समर्थन गरेका भारतीय सामाजिक सञ्जाल केही प्रयोगकर्ताले पनि भारतीय राज्य पक्षले नेपालको आन्तरिक मामलामा दिएको अनावश्यक चासोको विरोध गरेका छन्। पाकिस्तानका नागरिकहरूले पनि 'ब्याक अफ इन्डिया'लाई समर्थन गर्दै ट्वीट गरेका छन्।

नेपालमा संविधान जारी भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा नछाए पनि भारतले देखाएको प्रवृत्तिपछि ट्रेन्ड भएको ब्याक अफ इन्डियाले भने राम्रै कभरेज पायो।

'प्रिय नेताज्यू, अब तराई जाऊ'


सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतलाई गालीमात्र गरेनन्। नेताहरूलाई तराई गएर तराईका जनतासँग साक्षात्कार गर्न पनि सुझाइरहेका छन्। संविधान जारी भएपछि संविधानलाई तराईमा बोलिने स्थानीय भाषामा अनुवाद गरी गाउँगाउँ पुर्याहउन सुझाव दिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई तराई पुग्न र जनतासँग अन्तरक्रिया गर्न आग्रह गरेका छन्। उनीहरूले आफ्नो डिस्प्ले पिक्चरमा समेत 'प्रिय नेताज्यू अब तराई जाऊ है' भनेर राखेका छन्।

'लिडर्स गो टु मधेस' ह्यासट्याग प्रयोग गरी उनीहरूले तराई र पहाडको दुरी घटाउन प्रयास गरेका छन्। वैज्ञानिकसमेत रहेका दीक्षितले ट्वीट गरे, 'म पहाडिया बाहुन, मेरा तराईका साथीहरूको दुःखमा साथमा छु। आउनुस्, सँगै समस्याको समाधान गरौं। अलिअलि पीडा दुवैतिर झेलेर भए पनि।'

क्यानभास ट्वीटर ह्यान्डल भएका सामाजिक सञ्जाल प्रयोगकर्ताले यही ह्यासट्याग प्रयोग गरेर ट्वीट गरेका छन्, 'नेताहरू मधेस जानैपर्छ। मधेसलाई बिहारजस्तो व्यवहार मूलधारका राजनीतिक दलले नगरून्। जायज माग सम्बोधन गरियोस्।'

आत्मीय नेपाली नामको ट्वीटर एकाउन्टबाट एक प्रयोगकर्ताले ट्वीट गरेका छन्, 'नेपालीको समस्या नेपालले समाधान गर्न सक्षम छ। कसैले हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गर्न सक्दैन। ठूला नेता मधेस जाऊ।'

प्रकाशित: ८ आश्विन २०७२ २२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App