१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

'आख्यानको गुदी सुक्दैछ'

पोखरामा रहेर कविता लेखनमा सक्रिय सरस्वती प्रतीक्षा अहिले आफ्नो पहिलो उपन्यासको सम्पादनमा व्यस्त छिन्। झन्डै डेढ दशकदेखि कवितामा साधनारत उनका तीन कविता संग्रह 'यद्यपि प्रश्नहरू' (२०६२), 'बिम्बहरूको कठघरा' (२०६६) र 'बागी सारङ्गी' (२०६९) प्रकाशित छन्। कवितामा नारी चेतना, जीवनवादी सोच र सौन्दर्य उनका विशेषता हुन्। यसपटकको अक्षर–वार्तामा उपन्यासको तयारी, कविता सन्दर्भ र लेखन–बानीबारे फणीन्द्र संगमले गरेको कुराकानी प्रस्तुत छ।फेसबुकमार्फत आफ्नो उपन्यासको नाम 'नथिया' सार्वजनिक गर्नुभएको थियो। यो कस्तो उपन्यास हो?

उपन्यासमा 'नथिया'ले सांकेतिक अर्थ बोकेको छ। कुनै एक जातिविशेष, तिनको उदेकलाग्दो संस्कृति र परम्परासँग सम्बन्ध राख्छ, यो उपन्यासले। त्यही संस्कृति र परम्पराको पृष्ठभूमि त छँदैछ, खासगरी एउटी स्वास्नीमान्छेको आन्तरिक र बाह्य संघर्षको कथालाई पुस्तकमा समेटेको छु।

समकालीन कविता लेखनमा स्थापित नाम हो, सरस्वती प्रतीक्षा। तपाईंलाई पनि आख्यानको बजारशास्त्रले आकर्षित गरेको हो?

ठ्याक्कै त्यस्तो होइन। आजभन्दा १०/११ वर्षअगाडि म कीर्तिपुरको केन्द्रीय क्याम्पसमा अध्ययनरत थिए, त्यति बेला साथी जमुना राईको अटो भर्दा लेखेको कुरा अहिले पनि याद छ मलाई। कुन्नि कुन उद्वेगमा 'माई ड्रिम'मा 'टु बि अ गुड नोभलिस्ट' भनेर लेखेथेँ मैले त्यति बेला नै। उपन्यासको बजारले बजारको रूप नलिँदैबाटको मेरो अभीप्सा थियो उपन्यास। वर्षौंदेखि आफैंभित्र पालेर राखेको रहर, सपना र प्यासन हो उपन्यास लेखन मेरो निम्ति।

अहिले आइरहेका आख्यानलाई हेर्ने तपाईंको दृष्टिकोण कस्तो छ? यस अर्थमा नथियामा फरक स्वाद के पाउँछन् पाठकले?

बजारमा अहिले 'फास्टफुड लेखन'को बिगबिगी छ। आकर्षक प्याकेजिङ र र मार्केटिङको भरमा 'फास्टफुड आख्यान' बिकाउन त सकिन्छ, तर त्यसको दीर्घकालीन छाप अत्यन्त न्युन देखिन्छ। केही असाध्यै राम्रा आख्यान नआएका हैनन्, समग्रमा आख्यानको गुदीको गुणस्तर खस्केको सबैले स्विकार्नैपर्छ।

'नथिया' विषयवस्तुका हिसाबले एउटा फरक उपन्यास हुनेछ। घटनाको सघनता र अनुभूतिको तीव्रता— यी दुवैलाई बरोबर न्याय गर्ने मेरो प्रयास रहनेछ। मैले जुन विषयवस्तुमा कलम चलाएकी छु, त्यसमा जोखिम पनि प्रशस्तै छ। जोखिम मोल्न सक्छु भन्ने आत्मविश्वासका साथ नै म यो उपन्यासमा काम गर्दैछु।

उपन्यास लेख्नका लागि हुटहुटी लगाउने कारकचाहिँ के हो?

निश्चय पनि उपन्यासको बृहत् क्यानभास नै हो। कवितामा, कथामा धेरै कुरा एकैपटक भन्न चाहेर पनि भन्न सक्दैनांै। तर उपन्यासको बृहत् क्यानभासमा लेखकले खेल्ने प्रशस्त स्पेस पाउँछ। यही स्पेसले नजानिँदो गरेर लेखकलाई लोभ्याइरहेको हुन्छ। लोभ्यायो मलाई पनि।

कविता र आख्यानबीचको प्रभावशक्तिबारे तपाईंको बुझाइ?

कविता मन्त्र हो। मन्त्र उच्चारण गर्न र मन्त्रलाई आत्मसात् गर्न विशेष रुचि र लगाव चाहिन्छ। कविताको प्रभावले गहिराइको यात्रा गर्छ। यस अर्थमा आख्यानको क्षितिज फराकिलो त हुन्छ, तर टेक्चरका हिसाबले अलि खुकुलो अलि बढी वर्णनात्मक हुन्छ। मह'व, प्रभाव र समाजसँग संवाद गर्ने सन्दर्भमा भने दुवै विधा आफैंमा परिपूर्ण विधा हुन्। जसरी एउटी आमाले छोरीलाई माया गर्दा छोरालाई गर्ने मायामा कन्जुस्याइँ गर्न आवश्यक हुँदैन, त्यसरी नै एउटा स्रष्टाले कुनै एक विधाको वकालतमा अर्को विधालाई खुम्च्याएर प्रस्तुत गर्न जरुरी सम्झन्न म।

नथियाको पहिलो ड्राफ्ट सिध्याइसक्नुभएको रहेछ। यो अवधिबीचमा पात्रहरूसँग रहँदा कस्तो अनुभव गर्नुभयो?

उपन्यासको निम्ति कच्चा पदार्थ संकलन गर्न थालेको त २०६९ सालबाटै हो। दिमागमा उपन्यासको कथा र कथाको आरोह–अवरोहलाई मज्जाले पकाएपछि मात्र उपन्यास लेख्न बसेकी थिएँ। पहिलो ड्राफ्ट सक्न लगभग एक वर्ष लाग्यो।

आख्यान लेख्दै गर्नुको अर्थ नै एकसाथ दुई वटा जीवन बाँच्नु हुँदो रहेछ— एउटा आख्यानभित्रको र अर्को आख्यानबाहिरको। डुबेर आख्यान लेख्दा पात्रहरूको दुःख पनि आफ्नै दुःखझैं लाग्ने, पात्रहरूको खुसी पनि आफ्नै खुसीझैं लाग्ने। हरेक अनुभूतिको दोब्बर डोजले कहिलेकाहीँ अनियन्त्रितजस्तो पनि भइने। यस खालको अनुभव आफैंमा वर्णनातीत छ।

तीन वटा कविता कृतिबाट सन्तुष्ट हुन नसकेरै आख्यानतिर लाग्नुभएको हो?

त्यस्तो बिल्कुलै होइन। डेढ दशकभन्दा लामो कविताको यात्रापछि बल्ल आख्यानतर्फ लाग्दैछु। मभित्रको कवित्वले धेरै हदसम्म आफूलाई उजागर गरिसकेको छ। वर्षौंदेखि मभित्र सलबलाएर बसेको आख्यानकारलाई बाहिर निकाल्ने नयाँ यात्रामा हिँड्न चाहेकी हुँ, यति बेला। मेरो उमेर, अनुभव र परिपक्वता सबैले 'अब तँ आख्यानमा लाग्ने बेला भयो' भनेकाले सचेततापूर्वक नै म आख्यानमा प्रवेश गर्न लागेकी हुँ। यसको अर्थ कवि सरस्वती प्रतीक्षाले कविता यात्राको बिट मारेर आख्यानमा लागेको भन्नेचाहिँ नबुझिदिनुहोला।

तपाईंका कवितामा विचारको सघनताभन्दा कलापक्ष बढी हाबी हुन्छ तर गद्य आलेखहरूमा विचारको विद्रोह खुलेर देखा पर्छ नि। यस्तो अन्तरलाई कसरी बुझ्ने?

विचार र दर्शनलाई म मेरो रचनाको मेरुदण्ड मान्छु। कला जहिले पनि सेकेन्डरी कुरा हो मेरो निम्ति। तर रचनामा कला भएन भने त्यो कंकाल हुनेमा पनि म उत्तिकै सचेत छु। चाहे कविता होस् वा निबन्ध, विचार र कला दुवैका हिसाबले सन्तुलन कायम गर्नु मेरो अभीष्ट हुन्छ सधैं। यस प्रयासमा आफ्ना रचनाहरूमा कतै उन्नाइस, कतै बीस भए हुँला; तर एकदमै धेरै अन्तरको सिकार छु भन्नेचाहिँ लाग्दैन।

केही समयअघि 'प्रेमको अन्तिम कविता' भनेर लेख्नुभएको थियो। यसको अर्थ अब तपाईं प्रेम कविताहरू लेख्नुहुन्न या प्रेम कविताको 'डेट एक्पायर्ड' भइसकेको हो?

प्रेमजस्तो सार्वभौम विषयको कविता डेट एक्सपायर्ड हुन्छ भनेर भन्ने दुस्साहस म गर्नै सक्दिनँ। सत्य के हो भने जीवनको एउटा मोडमा आएपछि भने प्रेमको विराटतासँग साक्षात्कार हुन पुगेँ। एक प्रकारको मोक्षको महसुस भयो। जस्तो कि सगरमाथा चढिसकेपछि त्योभन्दा अग्लो चुचुरो चढ्न बाँकी नै रहन्न, ठिक त्यस्तै। यस्तो दुर्लभ अनुभूतिले नै मलाई प्रेमको अन्तिम कविता लेख्न प्रेरित गरेको हो। अब सायदै लेखिएला प्रेमको कुनै कविता!

नथिया बजारमा कहिलेसम्म आइपुग्छ?

यति बेला म नथियाको सम्पादन र काँटछाँटकै सिलसिलामा छु। उपन्यासको जग र ढलानको काम सकिएको छ। फिनिसिङ र फर्निसिङको काममा लागिरहेकी छु। प्रकाशकसँग यो वर्षको अन्तिमसम्ममा पाण्डुलिपि बुझाउने सहमति भएको छ। अर्को वर्षको सुरुवाततिर बजारमा आइपुग्छ।

प्रकाशित: २५ भाद्र २०७२ २३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App