भरिभराउ बेइजिङको बर्ड नेस्ट रंगशालामा दुईपटक डोपिङ प्रतिबन्ध झेलिसकेका ग्याट्लिनलाई चर्को आवाजसाथ दर्शकमाझ प्रस्तुत गरिएको थियो। ३३ वर्षे अमेरिकन धावक उनले हिटमा सबैभन्दा छिटो ९.८३ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले औसतमा प्रतिसेकेन्ड २.१ मिटर दौडे।
साबिक विजेता बोल्ट भने दौड सुरु गर्नुअघि बब मार्लीको गीत सुनिरहेका थिए। सातौं हिटमा दौडेका बोल्टले सहजै ९.९६ मा दुरी पूरा गरेका थिए। सन् २००८ को ओलम्पिकमा स्वर्ण पदक जितेयता बोल्ट पहिलोपल्ट बर्ड नेस्टमा दौडिएका थिए। त्यही ओलम्पिकक्रममा बोल्टले ९.६९ सेकेन्डको कीर्तिमान राखेका थिए।
विश्व जुनियरका कीर्तिमानी खेलाडी ट्रेभोन ब्रोमेलले ले ९.९१ सेकेन्डसाथ चौथो हिट जिते। ब्रोमलको नाममा ९.९७ को विश्व जुनियर कीर्तिमान छ। यसै वर्ष २० औं जन्मदिनको १६ दिनअघि उनले ९.८४ सेकेन्डमा दौड सिध्याए।
छनोट चरणको सुरुआती हिटमा असफा पावलले ९.९५ सेकेन्डको समय निकाले। उनी दोस्रो स्थानका चिनिया सु बिङ्टियानभन्दा झन्डै १ मिटर अगाडि थिए। १०.०३ सेकेन्डमा दौड पूरा गरेका सु छनोट चरणमा भाग लिएका १० चिनियाँमध्ये छनोट हुने एक्लो हुन्। समूहबाट तेस्रो हुँदै स्वतः सेमिफाइनल छनोट भएका दक्षिण अफ्रिकी खेलाडी अकानी सिम्बिनेले १०.०९ को समय निकाले। दोस्रो हिटमा अमेरिकी टाइसन गेले १०.११ सेकेन्ड अगाडि रहे। उनी २००७ का विश्व च्याम्पियन हुन्। त्यसमा जमैकाका निकेल असमेडेले १०.१९ र फ्रान्सका क्रिस्टोफे लिमेट्रीले १०.२४ सेकेन्ड खर्चे।
कतारका फेमी ओगनोडेले ९.९९ सेकेन्डसाथ तेस्रो हिट जित्दा, बार्बाडोसका रोमन गिटिन्स (१०.०२ सेकेन्ड) र आइभोरी कोस्टका बेन युसेफ मिटी (१०.०५) पनि सेमिफाइनल पुगेका छन्।
ब्रोमेलले जितेको चौथो हिटबाट बेलायती चिजिन्दु उजाह (१०.०५) र जर्मनीका जुलियन रेउस (१०.१४) पनि छनोट भएका छन्। युरोपियन कीर्तिमानी खेलाडी फ्रान्सेली जिमी भिकाउटले पाँचौं हिट ९.९२ सेकेन्डसाथ जिते। त्यहाँबाट क्यानाडाका आन्द्रे ग्रेसे (९.९९ सेकेन्ड) र टर्कीका ज्याक अली हाभ्री (१०.०४ सेेकेन्ड) छनोटमा परे। युरोपियन च्याम्पियन बेलायती खेलाडी जेम्स डासालु चौथो स्थानमा हिटको अन्त्य गरेपछि सेमिफाइनल पुग्न असफल भए।
छैटौं हिटमा ग्याट्लिनले क्यानडाका आरोन ब्राउनलाई भन्डै २ मिटर पछि छाडेका थिए। ब्राउनले १०.३ सेकेन्डको समय निकाले भने छनोट भएका दक्षिणी अफ्रिकी खेलाडी हेनरिच ब्रुन्टजेसले १०.०७ सेकेन्ड लगाए। सातौं हिटमा अमेरिकी मिकी रोजर्सले बोल्टलाई कडा चुनौती दिए। उनले ९.९७ सेकेन्डमा दौड पूरा गरे। त्यो हिटबाट नेदरल्यान्डका चुरान्डी मार्टिना (१०.०६) र बार्बाडोसका लिभी काडोगान (१०.१२) पनि सेमिफाइनल पुगेका छन्। १०० मिटरको सेमिफाइनल र फाइनल आइतबार हुनेछ।
फराह च्याम्पियन
बेलायती मो फराहले विश्व एथलेटिक्स च्याम्पियनसिपको १० हजार मिटर दौडको उपाधि रक्षा गरेका छन्। महत्वपूर्ण प्रतियोगिताको मध्यम दुरीको दबदबा कायम राख्न सफल ३२ वर्षे फराहले २७ मिनेट ०१.१३ सेकेन्डमा दौड पूरा गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी केन्याका जियोफ्री कामवोरससले २७ मिनेट ०१.१३ सेकेन्ड लगाएका थिए। २४ मिनेट ३२.३४ सेकेन्डसाथ पाउल तानुयी तेस्रा भए।
ओलम्पिकमा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदक जितेका फराहको महŒवपूर्ण प्रतियोगितामा यो छैटौं उपाधि हो। सात वर्षअघि ओलम्पिकमा बर्ड नेस्ट रंगशालामा उनी ५ हजार मिटर दौडमा छनोट हुन असफल भएका थिए।
प्रकाशित: ५ भाद्र २०७२ २३:२७ शनिबार





