प्रहरीको आग्रहमा इन्टरपोलबाट 'डिफ्युजन नोटिस' जारी भएपछि साउदी अरब प्रहरीले इस्मालीमगरलाई पक्राउ गरी 'डिटेन्सन सेन्टर' मा राखे पनि नेपाल पठाउन अस्वीकार गर्दै आएको थियो।
ब्युरोले अनुसन्धान रिपोर्टसहित बम हत्यामा मगरको संलग्नताका प्रमाण पठाएपछि साउदी सरकार हत्यारा नेपाललाई बुझाउन सकारात्मक रहेको सन्देश आएपछि प्रहरी साउदी अरब गएको हो।
ब्युरोकी एसपी किरण बज्राचार्यले मगरलाई लिन ब्युरो टोली साउदी अरब गएको र पाँच दिनभित्र नेपाल ल्याइसक्ने जानकारी दिइन्। 'टोली साउदी गइसकेको छ,' उनले नागरिकसँग भनिन्, 'शनिबारसम्म नेपाल ल्याउन सकिन्छ होला।'
कलंकीस्थित घरबाट पाटन, बगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत आउने क्रममा न्यायाधीश बममाथि २०६९ जेठ १८ मा शंखमूलमा गोली प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले दुई वर्षपछि हत्याको रहस्य सुल्झाउँदै इस्मालीमगरसहित बाबु थापा, भगवान थापा, शिव चौधरी, प्रेमराज खड्का र दीपक कर्णलाई हत्या अभियोग लगाएको थियो।
चुरेभावर राष्ट्रिय पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले बाबु थापालाई दिएको आधिकारिकता न्यायाधीश बमको इजलासले खारेज गरेपछि त्यसको बदला लिन २०६८ चैतमा यी दुवैको संलग्नतामा हत्या योजना बनेको अनुसन्धानमा खुलेको थियो।
ब्युरोको अनुसन्धान प्रतिवेदनमा बमलाई गोली हान्न इस्मालीमगर सुटर रहेको खुले पनि उनी वैदेशिक रोजगारीका लागि साउदी अरब गएकाले पक्राउ परेका थिएनन्। अन्य भने अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन्।
अनुसन्धानमा मगर रातोपुलमा रहेको फ्युचर लिंक म्यानपावर कम्पनीबाट ट्रक चलाउने कामका लागि साउदी अरब पुगेको खुलेपछि ब्युरोको आग्रहमा इन्टरपोलले मगरलाई नेपाल ल्याउन सहज बनाउन डिफ्युजन नोटिस जारी गरेको थियो।
डिफ्युजन नोटिससँगै अदालतबाट उनको नाममा पक्राउ आदेश आएपछि प्रहरीले सोही आधारमा उनलाई नेपाल ल्याउने प्रयास भए पनि सुपुर्दगी ऐन नहुँदा साउदी सरकारले उनलाई नियन्त्रणमा लिएर डिटेन्सन सेन्टरमा राखेको थियो।
पछिल्लो समय उनले हिन्दु धर्म छाडेर मुस्लिम धर्मसमेत अँगालेकाले अदालतले मगरलाई नेपाल नपठाउन आदेश दिए पनि अपराधको गम्भीरता र उनको संलग्नताबारे नेपालबाट थप प्रमाण गएपछि उनलाई नेपाल फर्काउन साउदी सरकार सकारात्मक बनेको ब्युरोका एक अधिकारीले जानकारी दिए।
प्रकाशित: १ भाद्र २०७२ १०:०१ मंगलबार





