यस्तै, सन् २००३ मा नेपालमै पहिलोपटक बायोटेक्नोलोजीमा ब्याचलर तहको पढाइ सुरु गर्नेमा केयु नै अग्र रह्यो। बायोटेक्नोलोजीमा उच्च अध्ययनको अवसर पाएका केयु ग्र्याजुएटहरू यतिखेर मुलुक र बाहिर पनि अनुसन्धान र विकासमा सक्रिय रहँदै आएका छन्।
उता, सरकारीस्तरबाटै मात्रै सर्भे विषयमा तालिम हुने गरेको विषयलाई ब्याचलर इन जियोम्याटिक्स इन्जिनियरिङको पढाइ हुन थालेपछि मुलुकमै सर्भे इन्जिनियरहरू उत्पादन हुन थालेका छन्। नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र केयु मिलेर पहिलोपटक यसरी कक्षा सञ्चालनमा आएको हो। पछिल्लो समय जलविद्युत क्षेत्रमा लगानी बढ्दै जाने क्रममा सन् २००९ मा केयुले सिभिल इन्जिनियरिङ (हाइड्रोपावर) पढाइ सुरु गर्योत।
यसै शैक्षिक वर्ष २०१५ बाट नेपालमै पहिलोपटक केयुले ब्याचलर अफ केमिकल इन्जिनियरिङको पढाइ सुरु गर्दैछ। मुलुकमा सिमेन्ट उद्योगहरू स्थापना हुँदै गएको सन्दर्भमा केमिकल इन्जिनियरको मागसमेत बढ्दो रहेकोले पढाइ सञ्चालन गर्न लागिएको स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिन (शैक्षिक तथा प्रशासनिक) प्राडा. रमेशकुमार मास्के बताउँछन्।
केयुले पहिलो वर्ष केमिकल इन्जिनियरिङमा ३० जना विद्यार्थी भर्ना लिँदैछ। केमिकल इन्जिनियरिङको प्रवर्द्धन, शोध तथा प्रशिक्षणका लागि केयु एवं उदयपुर र हेटौंडा सिमेन्ट उद्योगबीच हालै सम्झौता सम्पन्न भइसकेको छ।
केमिकल इन्जिनियरिङका साथै यसै वर्षबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स, एमएस्सी इन नर्सिङ, ब्याचलर इन नर्सिङ साइन्समा पढाइ थप्ने निर्णय भएको छ। यस्तै, जियोमेटिक इन्जिनियरिङमा मास्टर्स र पिएचडी गराउने तथा यसै वर्ष केयु स्थापनाको रजत वर्ष मनाउने पनि केयु सभाको ६९औं बैठकले निर्णय गरिसकेको छ।
केयुले स्कुल अफ आर्टस्, इन्जिनियरिङ, साइन्स, एजुकेसन, म्यानेजमेन्ट र मेडिकल साइन्सेजमातहत उच्च शिक्षा अध्यापन गराउँदै आएको छ। अघिल्लो वर्षबाट नयाँ विभागका रूपमा स्कुल अफ लको समेत सुरुवात भएको छ।
यस विश्वविद्यालयबाट स्कुल अफ मेडिकल साइन्सेजले बर्सेनि एक हजारभन्दा बढी संख्यामा मेडिकल डाक्टर उत्पादन गर्दै आएको छ। आफ्नै र सम्बन्धप्रदत्त कलेजमा एमबिबिएस र एमडी तहको अध्यापन पनि यहाँ हुने गरेको छ।
केयुले सन् १९९४ देखि मेडिकल कार्यक्रम सुरु गरेको हो। हालसम्म यहाँबाट ८ हजार ३ सय ४३ जनाले मेडिकलका विभिन्न विधामा उपाधि पाइसकेका छन्। मेडिकल विधामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको बाहुल्य रहँदै आएको छ। केयुअर्न्तगत ७ वटा मेडिकल कलेजले एमबिबिएस, ७ वटाले बिएस्सी नर्सिङ र ५ वटाले बिडिएस पढाउँदै आएका छन्।
केयु, जलीय पर्यावरण केन्द्रका अनुसन्धानकर्ताहरूले उच्च भूभागका तालतलैयाहरूको संरक्षण प्रक्रिया र वर्तमान अवस्थाको अध्ययन गर्न थालेका छन्। उच्च भेगका तालतलैयाको आयु, विगतका वर्षका तापक्रमहरूको जाँच र अध्ययनका आधारमा जलवायु परिवर्तनबाट पर्ने असरको न्युनीकरणको उपाय खोज्न सहज हुने केन्द्रले जनाएको छ।
पछिल्लो समय केयुले स्थानीय तथा उन्नत जातका बाँस प्रजातिहरू र उच्च महŒवका वनस्पतिहरूको अनुसन्धान एवं प्रविधि विकास गर्न राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र केयुबीच सम्झौता भएको छ। उता, केयु बिजनेस इन्कुबेसन सेन्टर (केयु बिआइसी) मा विद्यार्थीहरूले तयार पारेका परियोजना परिस्कृत गर्दै समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
उच्च शिक्षामा मात्रै नभई काभ्रे र मध्यपहाडी जिल्लाका युवा स्कुल तह पार गरेलगत्तै रोजगारीमा बिदेसिने र अधिकांश नेपाली युवा मजदुर तथा घरेलु कामदारका रूपमा जाने पाइएकाले त्यस्ता युवालाई प्राविधिक तालिम दिएर पठाउने लक्ष्यले प्राविधिक प्रशिक्षण केन्द्र (केयु टिटिसी) बनाइएको छ।
दक्षिण कोरिया सरकारको सहयोगमा सञ्चालनमा आएको टिटिसीमा वार्षिक ४ सय मध्यमस्तरका जनशक्ति उत्पादन हुन थालेको छ। अटोमोबाइल, मेसिनिङ, कार्पेन्ट्री र वेल्डिङमा ३ महिनाको छोटो अवधिको, ६ महिनाको र १ वर्ष अवधिको सिपमूलक तालिम सञ्चालन हुन थालेको हो।
'हामीले मुलुकलाई आवश्यक पर्ने मध्यम तथा उच्चस्तरका जनशक्तिलाई ध्यानमा राख्दै स्थापनाकालदेखि नै विभिन्न विषयमा उच्च शिक्षा प्रदान गर्दै आएका हौं,' संस्थापक उपकुलपति प्राडा. सुरेशराज शर्मा भन्छन्, 'यसबाट रोजगारीमात्रै नभई केयुबाट उत्तीर्ण विद्यार्थी संसारको जुनसुकै विश्वविद्यालयमा थप अध्ययनमा समेत योग्य साबित हुँदै आएका छन्।'
नयाँनयाँ र समय सुहाउँदो विषयमा उच्च शिक्षा प्रदान गर्नेमात्रै नभई शैक्षिक क्यालेन्डरको समेत निरन्तरताका लागि केयु अग्रणी रहेको धुलिखेलका समाजसेवी पृथ्वी थापाको भनाइ छ। उनकै सक्रियतामा विश्वविद्यालयले स्थापनाकालमा बखुन्डोल क्षेत्रमा जग्गा प्राप्त गरेको थियो।
'तोकिएकै समयमा भर्ना लिएर समयमै पढाइ पूरा गर्दै आएको छ। यतिमात्रै नभई हरेक वर्ष दीक्षान्तसमेत आयोजना गर्दै स्नातक र माथिका विद्यार्थीलाई प्रोत्साहन दिइरहेको छ,' थापाले भने। शैक्षिक क्यालेन्डर नियमित हुनुमा केयुभित्रका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले राजनीतिक स्वार्थभन्दा पनि शैक्षिक गुणस्तरमा ध्यान केन्द्रित गर्नु नै मुख्य रहेको थापा बताउँछन्।
प्रकाशित: २९ श्रावण २०७२ २१:५० शुक्रबार





